भारतको चुनाव विश्वकै सबैभन्दा महँगो, नेपालको बजेटभन्दा धेरै खर्च



सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा अहिले आम चुनाव भइरहेको छ । जहाँ झण्डै एक अर्ब नागरिकहरु मतदानका लागि योग्य छन् । र शुक्रबार सुरु भएको यो निर्वाचन सम्पन्न हुन एक महिनाभन्दा बढी समय लाग्छ ।

चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी र अर्कोतर्फ कम्तीमा दुई दर्जन दलहरु सम्मिलित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आईएनडीआईए) आमनेसामने भएका छन् । यसअघि २०१९ मा भने संसद्‍को ५४३ सीटमध्ये भाजपाले ३०३ सीट जितेको थियो । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस भने ५२ सीटमा सीमित भयो ।

२०२४ मा सत्तारुढ दल भाजपाले ३७० सीट जित्ने लक्ष्यसहित चुनावमा होमिएको छ भने आफू नेतृत्वको गठबन्धन साझेदारहरूसँग मिलेर ४०० सीट कटाउने भाजपाको महत्त्वाकांक्षा छ ।

यद्यपि पछिल्लो समय बढ्दै गरेको बेरोजगारी, धार्मिक हिंसा, सत्ता दुरुपयोग, अल्पसंख्य समुदायप्रतिको विभेदसँगै प्रतिपक्षी गठबन्धन आईएनडीआईएले भाजपालाई चुनौती दिने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षहरुमा भाजपा सरकारले मिडिया स्वतन्त्रता र नागरिक स्वतन्त्रतामा गर्दै आएको दबाबका कारण भारतीय लोकतन्त्रमाथि नै प्रश्न पनि उठ्ने गरेको छ ।

कति महँगो चुनाव ?

यस चुनावमा ९६ करोड ८० लाख दर्ता भएका मतदाताहरु छन् भने तीमध्ये २६ लाख भन्दा बढीले पहिलो पटक मतदान गर्दैछन्। सातौं चरणमा सम्पन्न हुने यस निर्वाचन ४४ दिनसम्म सञ्चालन हुनेछ । र १०२ संसदीय निर्वाचन क्षेत्रमा चुनाव भएर जुन ४ मा मात्रै यसको सम्पूर्ण परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

१० लाखभन्दा बढी विभिन्न मतदान केन्द्रहरूमा ५० लाखभन्दा बढी इलेक्ट्रोनिक भोटिङ मेसिन सञ्चालन गरिएको छ । यसको निरीक्षण गर्न १ करोड ५० लाखभन्दा बढी अधिकारीहरू खटिँदै छन् । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाएको छ । द इकोनोमिस्टका अनुसार भारतको यो निर्वाचन विश्वकै सर्वाधिक महंगो निर्वाचन हुँदैछ । २०२० मा अमेरिकी राष्ट्रपति र कंग्रेसको निर्वाचनका लागि भएको १४ अर्ब अमेरिकी डलर(१८ खर्ब ६८ अर्ब नेपाली रुपैयाँ) भन्दा पनि धेरै रकम यसपटकको चुनावमा खर्च हुने अनुमान गरिएको छ ।

भारतीय चुनावमा खर्च हुने यो रकम नेपालको वार्षिक बजेटभन्दा पनि धेरै हो । आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल सरकारले १७ खर्ब ५२ को बजेट संसदमा पेस गरेको थियो ।

भारतको निर्वाचनका दौरान चुनावी चन्दा वा खर्च प्रणालीका लागि यसअघि नै २ बिलियन अमेरिकी डलर खर्च भइसकेको छ । जवकि भारतको सर्वोच्च अदालतले चुनावी खर्च प्रणालीले भ्रष्टाचारलाई बढावा दिनसक्ने भन्दै गत फेब्रुअरीमा यस्तो खर्च प्रणालीलाई खारेज गर्ने निर्णय गरेको थियो ।

भारतीय निर्वाचन आयोगका अनु्सार भाजपाले १०१८ र २०२४ को बीचमा बेचेको सम्पूर्ण खर्चभन्दा धेरै ८२ अर्ब भारु निर्वाचनका लागि प्राप्त गरेको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेसले भने यही अवधिमा १९ अर्ब प्राप्त गरिसकेको छ । विपक्षी दलका नेता राहुल गान्धीले भने चुनावी खर्च प्रणालीको आलोचना गर्दै यसलाई भाजपाले घुस र कमिसन लिनका लागि बनाइएको माध्यम बनाएको आरोप लगाउँदै आएका छन् । यस्तो चुनावी खर्च प्रणालीको खारेजीको बावजुद दलहरुले निर्वाध रुपमा चन्दा संकलन गरिरहेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । त्यसो त भारतको मौलिक तरिकको रुपमा चिनिएको ‘इलेक्टोरल बन्ड’ अर्थात् चुनावी खर्चका लागि बन्डका आधारमा प्राप्त हुने चन्दा प्रणाली अत्यधिक विवादित रहँदै आएको छ । सर्वोच्च अदालतले यसलाई प्रतिबन्ध लगाए पनि यो छानबिनकै क्रममा रहेको छ ।

चुनावी खर्च प्रणालीलाई लिएर यसमार्फत् चुनावमा अपारदर्शी रकम प्रयोग हुनुका साथै मनी लाउन्ड्रिङलाई प्रोत्साहन दिने गरेको भन्दै यसको व्यापक आलोचना हुने गरेको छ । यसबाटै भाजपाले यही चुनावमा करोडौं डलर आम्दानी गरिसकेको छ तर त्यो रहस्यमय रहेको भन्दै आलोचना हुँदै आएको छ । नरेन्द्र मोदीको सरकारले २०१८ मा सुरु गरेको इलेक्टोरल बन्ड भारतीय स्टेट बैंकमार्फत खरिद गर्नुपर्ने प्रावधान भए पनि दलहरुले गोप्य रुपमा ठूलो रकम चन्दा संकलन गर्दै आएका छन् । भारतको कानुन मन्त्रालयले सम्पूर्ण चुनावी खर्च बेहोर्ने गर्छ। जवकि यसपटकको चुनावमा अघिल्लो चुनावभन्दा दोब्बर खर्च हुने अनुमान गरिएको छ ।

भारतमा जात र धर्म आवद्धताले ऐतिहासिक रुपमा मतदानी परिणामलाई प्रभावित पार्दै आएको छ । उदाहरणका लागि राम मन्दिर निर्माणको एजेन्डालाई पार्टीको प्रमुख मुद्दा बनाएका भाजपाका नेता नरेन्द्र मोदी वहुसंख्यक हिन्दु समुदायमाझ लोकप्रिय बन्दै आएका छन् । साथै मुस्लिम र अन्य अल्पसंख्यक समुदायप्रति घृणा फैलाए पनि हिन्दुत्वलाई बढावा दिने भाजपाका अधिकांश नेताहरु लोकप्रिय मत ल्याएर चुनाव जितिरहेका छन् ।

उम्मेदवार कति धनी ?

भारतको संचारमाध्यम एनडीटीभीमा प्रकाशित समाचार अनुसार डा. पेम्मासानी चन्द्र शेखर भारतकै सर्वाधिक धनी चुनावी उम्मेदवार हुन् । जसको ५ हजार ७८५ करोड भारु (९२ खर्ब रुपैयाँ नेपाली) बराबरको सम्पत्ति रहेको खुलेको छ । यद्यपि शेखरले आफूलाई धनी उम्मेदवारको रुपमा चिनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । ‘दुर्भाग्यवश पछिल्ला दिनहरुमा राजनीति महँगो प्रक्रिया भएको छ । वास्तवमा हामीले यसबारे छलफल गर्नु्पर्छ । आम मानिसले किन चुनावमा भाग लिन सक्दैन भनेर छलफल गर्नुपर्छ,’ डा शेखरले एनडीटीभीसँगको अन्तर्वार्तामा भनेका छन् । उनी चन्द्रबाबु नैदुको तेलुगु डिस्ने पार्टीका उम्मेदवार हुन् ।


क्लिकमान्डु