केयूको आयोजनामा साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै



काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा आगामी जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित ‘साउथ एशियन युनिभर्सिटी’ का कुलपति प्राध्यापक के.के. अग्रवालको उपस्थिती हुने बताइएको छ ।

अमेरिकाको हिलोस्थित ‘हवाई युनिभर्सिटी’ का प्राध्यापक योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का हुने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता केयूका उपकुलपति प्राध्यापक भोला थापाले गर्नेछन् । यस अन्तर्राष्ट्रिय गोष्ठीमा वक्ताको रुपमा भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के.जी. सुरेश रहेका छन् ।

साथै, चीनको ‘युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी’ अन्तर्गत ‘स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एडमिनिस्ट्रेसन’ का उपाध्यक्ष हान हङ र इण्डोनेसियाको बालीस्थित ‘पोलिटेक्निक नेगेरी (विश्वविद्यालय)’ का प्राध्यापक इदा बागुस पुटु सुअम्बा लगायतले पनि वक्ताका रुपमा सहभागिता जनाउने निश्चित भइसकेको केयूले जानकारी गराएको छ ।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले २ दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौं विश्वविद्यालयहरुमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ । साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरुले थप अनुसन्धान पनि गरिरहेका छन् ।

कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी करिब १०० जना विज्ञहरुले सञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सङ्गोष्ठी ‘हाइब्रिड मोड’ मा हुने भएकाले केही प्रस्तोताले भर्चुअल माध्यमबाट र केहीले भने काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्स्, हात्तीवनमा उपस्थित भएर आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति तथा त्यसका मातहत विभिन्न १० वटा उपसमितिहरु गठन भई क्रियाशील रहेको केयूले जानकारी गराएको छ ।


क्लिकमान्डु