अनिलको संघर्ष: राति २ बजेसम्म दोहोरीमा गायक, बिहान झिसमिसेमै कोरियन भाषा



मनिष अर्याल /नेपाल फोटो लाइब्रेरी

आज मई १ अर्थात् मजदुर दिवस । मजदुर भनेको भारी बोक्ने वा कोदालो खन्ने वा इट्टा, गिटी, वालुवा बोक्ने मात्र हुँदैनन् । समाजमा अनेकथरी मजदुर भेटिन्छन् । यस्तै एउटा अलग्गै कथा बोकेका मजदुर हुन्, अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–८, नुवाकोटका अनिल परियार । उनको रुचि सानै देखि गायनमा थियो ।

आफ्नै गाउँठाउँ, मेला, विद्यालयमा गीत गाएर रमाइलो गर्ने अनिललाई ख्यातीप्राप्त गायक बन्ने ठूलो सपना थियो । १७ वर्षको उमेरमा एसएलसी दिएर बसेका अनिललाई सपनाको सहर काठमाडौं पुग्ने रहर जाग्यो । सानै उमेरमा ठूलो सपना बुन्दै अनिल काठमाडौं पसे ।

गाउँघरबाट ठूलो सपना बोकेर काठमाडौं छिरेका अनिललाइ ठूलो सहरमा हराइन्छ कि भन्ने डर पनि थियो । आएको केही महिना उनी कामको खोजीमा भौतारिए । डुल्दाडुल्दै कपडा पसलमा काम गर्ने अवसर मिल्यो । केही वर्ष त्यहाँ काम गरेका उनलाई चिनजानबाट दोहोरी साँझमा काम गर्ने अवसर मिल्यो ।

अनिलको सपना ठूलो गायक बन्ने नै हो । खुसी भएर दोहोरी साँझमा काम गर्न थाले । तर दोहोरी साँझमा काम गर्न त्यति सहज भने थिएन । सोँचेको भन्दा फरक समयमा काम गर्नु पर्यो ।

दिउँसो अन्य काम गर्ने र बेलुकी ६ बजेदेखि राती २ बजेसम्म दोहोरी साँझमा गाउनु पर्ने भयो । काठमाडौं बसेर गायन पेशा सुरु गर्दा मासिक २५०० तलब पाए । सपनाको सहर भए पनि काम पाउन निकै मुश्किल थियो । पाएको र मन भित्रको रहर मेटाउन २०६६ सालबाटै दोहोरी साँझमा गीत गाउन सुरु गरेका हुन् ।

उनले दोहोरी साँझमा गीत गाउन सुरु गरेको पनि १५ वर्ष भइसक्यो । उनको रहर ठूलो गायक बन्छु भन्ने नै छ । उनी घरको आर्थिक अवस्थाले रात्री मजदुर बनेका हुन् । १५ वर्षमा राजधानीका ५ वटा दोहोरी साँझमा काम गरिसके । अहिले पनि कोटेश्वरको एक दोहोरी साँझमा आवद्ध छन् ।

बाह्य गायनमा पनि उत्तिकै अब्बल छन् । गीत संगीतमा लागेमा उनमा पछुतो छैन । गीत गाएरै अनिलले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन् ।

अनिललाई अब पैसा कमाउने रहर जागेको छ । उनी वैदशिक रोजगारका लागि कोरियन भाषा अध्ययन गर्छन् । राती भएपछि दोहोरी साँझमा पुग्ने उनी झिसमिसेमै भाषा अध्ययन गर्ने गर्छन् । घरको पूर्ण रुपमा सहयोग हुँदाहँदै पनि आर्थिक अवस्थाले पछि परेको जस्तो उनी ठान्छन् । उनले भने, ‘म सँग क्षमता वा प्रतिभा छ तर आर्थिक अवस्थाका कारण कलाबिहिनताको अनुभूति हुन्छ ।’

दिनचर्या पनि गजबकै छ । बिहान कोरियन भाषा अध्ययन, दिउँसो खाना खाएर केही बेर आराम र बेलुकी नहुँदै दोहोरी साँझको यात्रा हुन्छ । दोहोरीमा काम गर्दा त्यति सहज भने छैन । समयमा तलब नपाउने समस्या छँदैछ । कतिपय दोहोरीले विना तलब निकाल्ने समस्या अर्को छ । गीत गाउँदागाउँदै ग्राहकले सीसाको गिलासले हानेको दुःखद अनुभव पनि अनिलसँग छ ।

‘दोहोरीमा काम गर्दा धेरै सहनुपर्छ,’ उनले भने, ‘देख्दा राम्रो होला यस भित्र धेरै कथा लुकेको छ ।’ उनी दोहोरी साँझमा मात्र होइन बाहिर कार्यक्रमका मञ्चमासमेत गीत गाउने गर्छन् । अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान समन्वय समिति ललितपुरको सहसचिव छन् ।


क्लिकमान्डु