१ सय २६ वर्षअघि खुलेको भारतीय गोदरेज ग्रुप विभाजन नजिक, कुन कम्पनीको स्वामित्व को सँग ?

नेपालका कर्पोरेट घरानाको के छ चलन ?



काठमाडौं । भारतको प्रख्यात र पुरानो कर्पोरेट घराना गोदरेज परिवार विभाजनको संघारमा पुगेको छ । एक सय वर्षभन्दा अघि स्थापना भएको ‘गोदरेज ग्रुप’ अहिले फुटको संघारमा पुगेको हो ।

यो कर्पोरेट घराना १ सय २६ वर्ष पुरानो हो । यो ग्रुपको स्थापना सन् १८९७ मा भएको थियो ।

नेपालमा पनि पछिल्ला वर्षमा कर्पोरेट घरानाहरुको अंशबन्डा भएको थियो । धेरै कर्पोरेट घरानाको अंशबन्डा भएको वर्षौंपछि मात्र सार्वजनिक भयो भने केहि घरानाको घर झगडा बजारमा पनि सुनियो ।

चौधरी समूह र गोल्छा समूहको अंशबन्डाको विषय धेरेपछि मात्र सार्वजनिक भयो भने खेतान समूहको विभाजन बिनाविवाद भएको थियो । तर, ज्योती समूहको विभाजनमा भने विवाद देखिएको छ । त्यसो त नेपालका केही घरानाको अंशबन्डा बजारमा विवादमा आएजस्तै भारतमा पनि अम्बानी परिवारको अंशबन्डा ठूलो विवाद पछिमात्र समाधान भएको थियो ।

तर, पारिवारिक स्रोतका अनुसार गोदरेज परिवारका दुई समूहले एक अर्काको कम्पनीको बोर्डबाट राजीनामा समेत दिइसकेका छन् । केही समयमै उनीहरुले एक अर्काको कम्पनीको हिस्सासमेत बिक्री गर्न लागेको जानकारी भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

यो वर्षको सुरुआतसँगै गोदरेज परिवारका दुई खम्बा आदी गोदरेज र नादिर गोदरेजले गोदरेज एन्ड वाँयसको बोर्डबाट समेत राजीनामा दिइसकेका छन् ।

यस्तै काकाको छोरा जमशेद गोदरेजले पनि जीसीपीएल (गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेड) र गोदरेज प्रोपर्टीजको बोर्डबाट राजीनामा दिएका छन् । परिवारका प्रमुख व्यक्ति आदी गोदरेज र काकाको छोरा जमशेद गोदरेज हाल ८२ र ७५ वर्षको नेटो काटिसकेका छन् ।

यो विभाजन परिवारको दुई शाखाको बीचमा भइरहेको छ । एकतर्फ आदी गोदरेज र भाई नादिर गोदरेज छन् भने अर्कोतर्फ काकाको छोरा जमशेद गोदरेज र उनकी बहिनी स्मिता गोदरेज कृष्णा छिन् । अर्थात, एकतर्फ आदी र नादिर र अर्कोतर्फ जमशेद र उनकी बहिनी स्मिता गोदरेज छन् ।

गोदरेज इण्डस्ट्रिज एन्ड एसोसिएट्सको नेतृत्व आदि गोदरेज र उनको भाई नादिर गोदरेजले गर्दै आएका छन् । अर्कोतर्फ गोदरेज एन्ड वाँयस (जीएण्डबी) को नेतृत्व जमशेद गोदरेज र उनको वहिनी स्मिताले गर्दै आएकी छन् ।

आदी गोदरेजकै अर्को काकाका छोरा रिशाद गोदरेज पनि छन् । रिशाद पनि गोदरेज कम्पनीमा हिस्सेदार छन् । तर यस्ता कम्पनीमा उनको औपचारिक भूमिका भने छैन ।

आदि र नादिरले गोदरेज एन्ड बाँयसको आफ्नो हिस्सा अर्को शाखालाई बिक्री गर्ने तयारी गरेका छन् । जमशेद गोदरेज र उनको परिबारले गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (जीसीपीएल) र गोदरेज प्राँपर्टीजमा आफ्ना काकाको छोराहरुलाई पारिवारिक कागजातको आधारमा हिस्सा हस्तान्तरण गर्ने तयारी गरेका छन् ।

गोदरेज परिवारअन्तर्गतका ५ कम्पनी भारतीय सेयरबजारमा सूचीकृत छन् । जसअनुसार गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्ज्युमर प्रोडक्ट, गोदरेज एग्रोवेट, एस्टेक लाइफ साइसेन्स र गोदरेज प्रोपर्टीज छन् । यो सबैको बजार मूल्यांकन २ करोड ७४ लाख करोड भारतीय रुपैयाँ भएको बताइन्छ ।

यसरी सुरु भएको थियो गोदरेज

गोदरेज ग्रुपको सुरुवात सन् १८९७ मा ताल्चाको बिक्री वितरणबाट सुरु भएको थियो । अहिले यो कर्पोरेट ग्रुपको लगानी विभिन्न उद्योग र व्यापारमा छ ।

इन्जिनियरिङ, इक्वीपमेन्ट, सिक्योरिटी सल्युसन, एग्रीकल्चर प्रोडक्टस्, रियल एस्टेट, कन्ज्युमर प्रोडक्टस् लगायतमा यो ग्रुपको लगानी छ । अहिले यो सबै क्षेत्रलाई दुई भागमा विभाजन गर्न लागिएको हो ।

यसरी हुँदैछ विभाजन

पारिवारिक स्रोतका अनुसार करिब ३ हजार ४ सय करोड भारतीय रुपैयाँबराबरको अचल सम्पतिमध्ये अधिकांश मुम्बई अन्तर्गत छन् । गोदरेज ग्रुप अन्तर्गत सेयरबजारमा सूचीकृत ५ कम्पनी गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्ज्युमर प्रोडक्ट लिमिटेड, गोदरेज एग्रोवेट, एस्टेक लाइफ साइसेंस र गोदरेज प्रोपर्टीज छन् ।

यी ५ कम्पनीले आर्थिक वर्ष २०२३ मा करिब ४ खर्ब २१ अर्ब ७२ करोड भारतीय रुपैयाँ राजस्व तिरेका थिए भने ४० अर्ब ६५ करोड भारतीय रुपैयाँ नाफा गरेका थिए ।

गोदरेज बाँयस (जीएन्डबी) निजी स्वामित्व भएको कम्पनी हो । यसले इन्जिनियरिङ, उपकरण, सुरक्षा समाधान, कृषि उत्पादन, रियल एस्टेट र उपभोक्ता उत्पादनसहितको विभिन्न प्रकारको व्यवसाय सञ्चालन गर्दै आएको छ ।

कसले के पाउने सम्भावना ?

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गोदरेज परिवारले ५ खर्ब ९० अर्ब भारतीय रुपैयाँको लांक टु ल्याण्ड डेभलपमेन्ट ग्रुपलाई बाँड्ने सम्झौता गरेको छ ।

सम्झौताअनुसार गोदरेज परिवारका सदस्य आदी र नादिर गोदरेजले गोदरेज ग्रुपको सेयरबजारमा सूचीकृत ५ कम्पनी गोदरेज कन्ज्यूमर प्रोडक्टस्, गोदरेज प्रोपर्टीज्, गोदरेज इन्डस्ट्रिज, गोदरेज एग्रोवेट र एस्टेक लाइफसाइन्सेजको सम्पूर्ण हिस्सा पाउने सम्भावना छ ।

अर्कोतर्फ काकाको छोरा जमशेद र उनको बहिनी स्मिताले सूचीकृत नभएको कम्पनी र रियल एस्टेटसम्बन्धी सम्पूर्ण जग्गाको स्वामित्व पाउने सम्भावना छ ।

तीन वर्षदेखि गृहकार्य

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गोदरेज परिवार दुई महत्वपूर्ण विषय सुल्झाउन लागेको छ । विभाजनपछि गोदरेज ब्राण्ड नामको उपयोग, सम्भावित रोयल्टी भुक्तानी र जीएन्डबीसँग रहेको जग्गाको मूल्यांकन यसमा समावेश छ । विभाजनका लागि पछिल्लो ३ वर्षदेखि आन्तरिक रुपमा गृहकार्य भइरहेको थियो ।


क्लिकमान्डु