१३५ मेगावाटको मनाङ मर्स्याङदीको फाइनान्सियल क्लोजर हुँदै, ३ चिनियाँ कम्पनीले ८०% लगानी गर्ने



काठमाडौं । चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहने १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) गर्ने तयारी भएको छ ।

मनाङको मर्स्याङदी नदीमा पहिचान भएको आयोजनाको ३ चिनियाँ कम्पनीको लगानीमा फाइनान्सियल क्लोजर गर्न लागिएको हो । ‘हामीले छिट्टै फाइनान्सियल क्लोजर गर्ने तयारी गरेका छौं । त्यसका लागि चिनियाँ पक्ष तयार भइसक्यो,’ बुटवल पावर कम्पनीका लिमिटेडका एक इन्जिनियरले भने, ‘चिनियाँ लगानी आउने पक्का भयो । अब आयोजना अघि बढ्छ ।’

यो आयोजनामा बुटवल पावर कम्पनीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी हुनेछ । एस सी आइ जी इन्टरनेशनल लिमिटेड,छिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यु वा ई सी इन्टरनेशनल लिमिटेडको ८० प्रतिशत सेयर हुनेछ । करिब ५० प्रतिशत सेयर स्वामित्व एस सी आइ जी इन्टरनेशनलको हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेड

यो जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । २०७९ पुस पहिलो साता पीडीए भएको हो ।ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल र बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले  पीडीएमा हस्ताक्षर गरेका छन । निर्माण,स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने गरी पीडीए गरिएको हो । यो परियोजना निर्माणका लागि करिब ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

प्रस्तावित जलविद्युत् आयोजनाको २०७७ चैत ९ गते विद्युत् खरिद बिक्री सम्झौता  (पीपीए) भएको थियो । पीपीए र पीडीए भएसंगै यो परियोजनाको अघि बढाउन फाइनान्सियल क्लोजरको तयारी भएको थियो । तर चिनियाँ कम्पनीहरुले लगानीको वातावरण नभएको भन्दै  धमाधम नेपालका जलविद्युत आयोजनाहरुबाट हात झिक्न थाले । १२०० मेगावाटको बुढीगण्डकीलगायत केहि परियोजना चिनियाँ कम्पनीसंग सरकारले खोस्यो । सरकारले चिनियाँ कम्पनीसंग खोसेर भारतीय कम्पनीहरुलाई जलविद्युत् परियोजना दिन थाल्यो ।

चीन संग नेपालको विद्युत व्यापार सम्झौता भएको छैन । दुई देशबीच व्यापार गर्नका लागि क्रस बोर्डर प्रसारणलाइन पनि निर्माण भएको छैन । जिलोङ-केरुङ-रसुवागढी-चिलिमे २२० किलोभोल्ट प्रसारणलाइन निर्माण हुने चर्चामै सीमित छ । नेपालमा चिनियाँ लगानी र प्रविधि रोक्न भारतले हरसम्भव प्रयास गरिरहेको छ । सोही कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली २ वर्षदेखि किन्न मानेको छैन । बिजुलीको आन्तरिक बजार नभएको र भारतले समेत नकिन्ने भएपछि चिनियाँ लगानी नेपालमा आउन नसकेको हो ।

तर केहि महिना पहिले सत्ता परिवर्तन भएसंगै नेपालमा चिनियाँहरुको चहलपहल बढेको छ । उनीहरुले धमाधम आफू संलग्न परियोजनाहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन । बुटवल पावर कम्पनीको मर्स्याङदीका तीनवटा परियोजनामा लगानी गर्ने यी नै ३ चिनियाँ कम्पनीले समझदारी गरेका छन ।

१३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङदी,३२७ मेगावाटको अप्पर मर्स्याङदी-२मा लगानी गर्न समझदारी गरेको हो । तीनवटा परियोजना गरी ६०१ मेगावाटको आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्न लागेका हुन ।

सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा अप्पर मर्स्याङदी-२ जलविद्युत् आयोजनाको पीडीए गर्ने योजना थियो । तर अन्तिम समयमा आएर लगानी बोर्डको कार्यालयले सम्झौता गरेन । सरकारी वार्ता टोलीले काम नसकेका कारण पीडीए हुन नसकेकको लगानी बोर्डको कार्यालयका सहसचिव प्रधुम्न प्रसाद उपाध्यायले बताए । उनका अनुसार तयारी नै नपुगेपछि सम्झौता हुन नसकेको हो ।

मनाङ मर्स्याङदी जलविद्युत आयोजना भने चिनियाँहरु निर्माण लैजान तयार भएका छन । सन् २०२५ मार्च महिना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो । तर भर्खर फाइनान्सियल क्लोजर गर्ने तयारी भएकाले केहि पछाडी धकेलिने निश्चित छ । निर्माण अवधी ४६ महिनामा सक्ने लक्ष्य छ ।

यो जलविद्युत् आयोजन मनाङको मर्स्याङदी नदीमा निर्माण हुनेछ । अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ । यो पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ७६६.५९३ गिगावाट आवर उत्पादन गर्न सक्छ । ग्रस हेड ४३०.२० मिटर छ ।  हेडरेस ६.०७५ किमी  निर्माण गर्नुपर्छ ।


क्लिकमान्डु