भारतमा आईपीएल अर्थतन्त्र: ब्राण्ड भ्याल्यू १४ खर्ब २३ अर्ब रुपैयाँ, मुम्बई इन्डियन्स सबैभन्दा महँगो

कसरी बन्यो नेपालको बजेटकै हाराहारीको आईपीएल बजार ?



एजेन्सी । भारतमा जारी इन्डियन क्रिकेट लिग (आईपीएल) खेलप्रेमी युवाहरुका लागि एक रोमान्चक दृश्य बनेको छ । हाल लगभग सिंगो भारत मात्रै नभएर विश्वभरका क्रिकेटप्रेमीहरुले आईपीएल नियालिरहेका छन् ।

प्रारम्भिक दिनहरुमा मनोरन्जनका लागि दर्शकलाई आकर्षित गरेको इन्डियन प्रिमियर लिग आईपीएल अब मनोरन्जन मात्रै रहेन । भारतका करोडौं क्रिकेट प्रेमीहरुमाझ यसले क्रिकेट हेर्ने परम्परागत तरिकामै आमूल परिवर्तन ल्याएको छ ।

यससँगै खेलाडीहरुलाई पूर्ण रुपमा व्यावसायीक बनाएको थियो । र आईपीएलले विश्वभर नै खेल अर्थतन्त्रको नयाँ बेन्चमार्क स्थापित गरेको छ ।

भारतीय खेल उद्योगको विकास

यसबीचमा भारतको खेल उद्योगमा पनि उल्लेखनीय रुपान्तरण भएको छ । आईपीएल लगायत नियमित रुपमा हुने विभिन्न लिगले देशको खेल अर्थतन्त्रलाई नै चलायमान बनाइदिएका छन् ।

निजी लगानी, स्पोन्सरसिप तथा मिडियाको व्यापक प्रचार परसारसँगै विशेषगरी भारतीय क्रिकेट र अन्य खेललाई लोकप्रियता तथा व्यवसायिक सफलताको नयाँ उचाइमा पुर्‍याएको छ । खेलाडीहरुले आफूलाई व्यस्त राख्ने मौका मात्र पाएनन् उनीहरुले खेल क्षेत्रमा नयाँ अवसर पाउँदा विश्व रंगशालामा उनीहरुले आफ्नो प्रभाव छाडिरहेका छन् ।

भारतमा क्रिकेटको बजारीकरण

खेलको रुपमा मात्रै रहेको क्रिकेट भारतमा पछिल्लो समय आफ्नो पारम्परिक स्थितिबाट माथि उठेर एक आकर्षक बजार बनिसकेको छ । र क्रिकेटको व्यावसायिकरणका लागि आईपीएललाई नै जिम्मेवार ठानिन्छ । जसले देशभर क्रिकेट खेल्ने र अवलोकन गर्ने तरिकामै रुपान्तरण ल्याइदिएको थियो । हाल दसौं करोड युवाहरुले आईपीएल नियालेका हुन्छन् ।

२०२२ मा आईपीएलको ब्रान्ड भ्यालु ९० हजार करोड भारतीय रुपैयाँ अर्थात् ११ बिलियन अमेरिकी डलर थियो । बीसीसीआईका अनुसार २०१५ मा भारतको जीडीपीमा १,१५० करोड भारतीय रुपैयाँ अर्थात् १४० मिलियन अमेरिकी डलर ओगटेको थियो ।

यससँगै २००८ देखि सुरु भएको आईपीएलले भारतमा पछिल्लो समय व्यापक रुपमा रोजगारी सिर्जना गर्नुका साथै पर्यटकहरु भित्र्याउने गरेको छ । जसले गर्दा प्रत्यक्ष रुपमा देशको अर्थतन्त्रमा लाभ हुने गरेको छ ।

यस्तै पछिल्लो समय थुप्रै व्यवसायीहरुले खेल उद्योगमा लगानीका लागि इच्छा देखाउने गरेका छन् । २००८ मा सोनी इन्टरटेनमेन्ट टेलिभिजनले १० वर्षका लागि ८२०० करोडमा आईपीएल प्रशारण अधिकार किनेको थियो ।

आईपीएलको ब्राण्ड भ्याल्यू कति पुग्यो ?

सन् २०२४ मा आईपीएलको ब्राण्ड भ्यालु २८ प्रतिशतले बढेर १०.७ अर्ब (१४ खर्ब २३ अर्ब) डलर पुगेको छ । यस्तो भ्याल्यू सन् २०२२ मा ८.४ अर्ब डलर थियो ।

ब्राण्ड फाइनान्सले जारी गरेको एक रिपोर्ट अनुसार आईपीएलको ब्राण्ड भ्यालू बढेको हो । यस वृद्धिका साथ लीगले डेकाकार्नको दर्जा पएको छ ।

डेकाकार्न यस्ती निजी कम्पनीलाई भनिन्छ जसको मूल्यांकन १० अर्ब डलर या त्यसभन्दा धेरै हुन्छ । सन् २०२२ मा आईपीएलको ब्राण्ड भ्याल्यू ८.४ अर्ब डलर थियो । सन् २००८ मा लीगको सुरुवातमा यसको ब्राण्ड भ्याल्यू २ अर्ब डलर थियो जसमा अहिलेसम्म ४३३ प्रतिशतको बढोत्तरी भएको छ ।

आईपीएलको ब्राण्ड भ्यालु नेपालको चालु आर्थिक वर्षको संशोधित बजेट अनुमान हाराहारी रहेको छ । नेपालको संशोधित बजेट अनुमान १५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।

मुम्बई इन्डियन्स सबैभन्दा मूल्यवान

आईपीएलको सबै फ्रेन्चाइजीमा मुम्बई इन्डियन्स क्लब सबैभन्दा मूल्यवान हो । कम्पनीको मूल्यांकन ८.७ करोड डलर छ र टीम सन् २०२० बाट शीर्ष स्थानमा रहेको छ ।

मुम्बई इन्डियन्सपछि चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ जसको मूल्यांकन ८.०६ करोड डलर रहेको छ । तेस्रो स्थानमा कोलकता नाइट राइडर्स रहेको छ जसको मूल्यांकन ७.८६ करोड डलर रहेको छ । त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरु रहेको छ जसको मूल्यांकन ६.९८ करोड डलर रहेको छ ।

सन् २०२३ को सिजनमा आईपीएल टेलिभिजनमा प्रभावशाली ५०५ मिलियन दर्शक र डिजिटल प्लेफर्ममा अतिरिक्त ४५० मिलियन दर्शकमा पहुँच पुगेको थियो ।

यस सिजनको आईपीएलको पहिलो १० खेलले टीभीमा लाइभ टेलिकास्टको पछिल्लो सिजनको रेकर्ड तोडिएको छ ।

आईपीएलका पहिला १० खेलमा ३५ करोड दर्शकले टीभीमा खेलको प्रत्यक्ष प्रसारण हेरेको र यो गत सिजनको भन्दा २० प्रतिशत धेरै भएको बताइएको छ ।

खेलाडीमा करोडौंको खर्च

आईपीएलमा क्लबहरुले खेलाडीका लागि करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन् । जारी आईपीएलका सबैभन्दा महँगा खेलाडी अस्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा महँगा खेलाडी हुन् ।

स्टार्कका लागि कोलकता नाइट राइडर्सले २४.७५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । त्यस्तै अस्ट्रेलियाकै पेट कमिन्स आईपीएलका अर्का महँगा खेलाडी हुन् । उनलाई २० करोड भारतीय रुपैयाँमा सनराइजर्स हैदरबादले किनेको थियो ।
तेस्तै चेन्नई सुपर किंग्सले डेरिल मिचेललाई १४ करोड, पञ्जाव किंग्सले हर्षल पटेललाई ११.७५ करोडमा किनेको थियो ।

आईपीएलको एक खेलको कमाइ कति ?

एक खेलबाट हुने कमाइको पक्षबाट हेर्दा आईपीएल विश्वभरकै सबैभन्दा धेरै कमाइ गर्ने अमेरिकी लिग एनएफएलभन्दा एक स्थानले मात्रै पछि रहेको छ । एक खेलमा प्राप्त हुने दर्शक, विज्ञापनदाता, अनुमति खरिद र टिकटको बिक्रीजस्ता आम्दानीका स्रोतबाट हेर्दा आईपीएलमा १३० करोड भारतीय रुपैयाँ आम्दानी हुन्छ । यस सिजनको आईपीएलमा ७४ खेल भए । जसअनुसार बीसीसीआईले आईपीएलबाट करिब ९ हजार ६ सय करोड (करिब १ खर्ब ५३ अर्ब नेपाली रुपैयाँ) भारतीय रुपैयाँ कमाइ गरेको छ ।

आम्दानी धेरै हुने भए पनि आईपीएलले खेलाडीमाथि गर्ने खर्च भने निकै कम छ ।

कसरी गर्छ बीसीसीआईले कमाइ ?

सन् २००७ बाट सुरु भएको आईपीएल अहिले भारतको एउटा खेलको उत्सव मात्रै नभएर व्यापारिक तवरले पनि ठूलो घटनामध्येमा पर्छ । यसको सञ्चालनको पूर्ण जिम्मा बीसीसीआईसँग रहेको छ ।

आईपीएलबाट बीसीसीआईले गर्ने कमाइ मुख्यतः तीन भागमा हुने गरेको छ ।

पहिलो भाग हो सेन्ट्रल पुल । सेन्ट्रल पुलमा तीन स्रोतहरुबाट कमाइ हुन्छ । यसरी भएको कमाइको विभाजन पनि तीन भागमा हुन्छ ।

मिडिया तथा प्रसारणको अनुमति, विज्ञापन र टाइटल स्पोन्सरसिपबाट यो भागमा आम्दानी हुने गर्छ । र यसरी भएको आम्दानी बीसीसीआई, फ्रेन्चाइजी र पुरस्कार राशीमा खर्च हुने गर्छ ।

आईपीएलको कमाइको दोस्रो भाग भनेको फ्रेन्चाइजी हो । यसमा पनि तीन क्षेत्रबाट कमाइ हुन्छ । टिकटकको बिक्री, स्पोन्सरसिप र मचेन्डाइजको बिक्रीबाट हुने आम्दानी यो भागमा पर्छ । यसरी हुने आम्दानीको ८० प्रतिशत हिस्सा फ्रेन्चाइजीका लागि जान्छ भने बाँकी रकम बीसीसीआईलाई प्राप्त हुन्छ ।

आईपीएलको आम्दानीको तेस्रो भाग हो फ्रेन्चाइजीका लागि तिरिने शुल्क । आईपीएलमा खेल्न आउने हरेक टिम ‘ओनर अक्सन’बाट तय हुन्छ । सबैभन्दा धेरै रकमको बोली लगाउने टिमलाई नै फ्रेन्चाइजी वितरण गरिन्छ । यो भागबाट हुने कमाइको पुरा रकम बीसीसीआईलाई नै प्राप्त हुन्छ ।

आईपीएलमा सबैभन्दा धेरै रकम मिडिया अनुमतिको बिक्री तथा प्रसारण अनुमतिबाट हुने गर्छ । आईपीएलका खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने अनुमतिदेखि हाइलाइट्सजस्ता कुराहरु पनि तीनै कम्पनीले देखाउन पाउँछन्, जोसँग बीसीसीआईले सम्झौता गरेको हुन्छ । लिलामी प्रक्रियाबाट गरिने प्रसारण अनुमतिको बिक्रीका लागि विभिन्न कम्पनी तथा व्यापारिक घरानाहरुले करोडौं रुपैयाँ लगानी गर्छन् ।

२००८ मा आईपीएलको पहिलो सिजनको खेल प्रसारणका लागि सोनी इन्टरटेनमेन्टसँग सम्झौता भएको थियो । सोनीले १० वर्षका लागि प्रसारण अनुमति किनेको थियो । त्यो बेला ८ हजार २ सय करोड भारतीय रुपैयाँमा यो अनुमति बिक्री भएको थियो।

२०१८ देखि २०२२ सम्म स्टार स्पोटर्सले यो अनुमति पायो । यसका लागि स्टार स्पोटर्सले १६ हजार ३४७ करोडमा प्रसारण अनुमति किनेको थियो ।

२०२३ देखि २०२७ सम्मका लागि भने स्टार स्पोटर्स र जियो सिनेमाले संयुक्त रुपमा प्रसारण अनुमति पाएको छ । यसका लागि बीसीसीआईलाई यी कम्पनीहरुले ४८ हजार ३९० करोड भारतीय रुपैयाँ तिरेका थिए ।

कुन क्लबको अवस्था कस्तो ?

जारी आईपीएलमा आरआर १६ अंकका साथ शीर्ष स्थानमा रहँदा केकेआर १२ अंकाका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एलएजीको पनि १२ अंक रहेको छ । चौथो स्थानमा रहेको सीएसके, पाँचौमा रहेको एसआरएच र छैठौं स्थानमा रहेको डीसीको समान १०/१० अंक रहेको छ ।सातौंमा ८ अंकसहित जीटी रहँदा आठौं र नवौंमा क्रमश पीबीकेएस रएमआई समान ६/६ अंकसहित रहेका छन् भने १० औं नम्बरमा रहेको आरसीबीको पनि ६ अंक रहेको छ ।


क्लिकमान्डु