बैंकहरु राजनीतिक व्यक्तिको विवरण राख्दैनन्, सीसीटीभी फुटेज ९० दिनअघि नै हराउँछ



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको स्थलगत निरीक्षणमा कयौं कमी कमजोरी भेटेको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकहरुले कर्जा, तरलता, सञ्चालन र बजार जोखिम निम्त्याउने गरी दर्जनौं गल्ती गरेको पाएको हो ।

यस्ता कमजोरीको सूचीमा राजनीतिक व्यक्तित्वको विवरण नराख्ने, कमसल सीसीटीभी राख्ने, प्रशिक्षार्थीलाई कोर बैंकिङ सिस्टमको पहुँच दिनेसम्मका काम छन् ।

२४ बुँदामा हेरौं, बैंकहरुको स्थलगत निरीक्षणमा राष्ट्र बैंकले भेटेका कमजोरीहरुः

१. महिला सञ्चालक छैनन् ।

२. सीईओसँग गरेको सम्झौताअनुसार कार्यसम्पालन मूल्यांकन गर्दैनन् ।

३. कर्जामा उचित जोखिम भार दिँदैनन् ।

४. पुँजी संरक्षण बफर कायम गर्दैनन् ।

५. पुरानो ऋण तिर्न नयाँ कर्जा दिन्छन् ।

६. चालु पुँजी कर्जा सुविधा उपयोग गर्ने ऋणीको फरकफरक चालु र कर्जा खाता खोल्दैनन् ।

७. ५ करोडभन्दा ठूलो चालु पुँजी कर्जा प्रदान गर्दा अडिटर प्रमाणपत्र लिएनन् ।

८. एकीकृत निर्देशनको व्यवस्था विपरित प्रयोजन नखुलेको ५० लाख रुपैयाँबराबरको व्यक्तिगत कर्जा दिन्छन् ।

९. लोन स्वाप गर्दा एकीकृत निर्देशन पालना गर्दैनन् ।

१०. कर्जा नवीकरण गर्दा आधारभुत कागजपत्र माग गर्दैनन् ।

११. ५० करोडभन्दा ठूला कर्जाको क्रेडिट रेटिङ गराउँदैनन् ।

१२. सिमिति संस्थागत निक्षेपकर्ताबाट निक्षेपको अधिकांश हिस्सा लिन्छन् ।

१३. व्यावसायिक निरन्तरता योजना तयार पादैनन् ।

१४. क्षमतावान सीसीटीभी जडान गर्दैनन् । ब्याकअप क्षमता ९० दिनभन्दा कमको हुन्छ । ती सीसीटीभीले धमिलो भिडियो रेकर्ड गर्नाले तथा नाइट भिजन नहुनाले अनुसन्धानको क्रममा नगदको बिटो पहिचान गर्न मुस्किल हुन्छ ।

१५. ग्राहकको खाता खोल्दा उपयुक्त ढंगले विवरण भर्न लगाउँदैनन् । जसकारण राजनीतिक व्यक्तित्व र परिवार पहिचान गर्न सम्भव हुँदैन ।

१६. प्रशिक्षार्थी कर्मचारीलाई कोर बैंकिङ सिस्टमसमेत संवेदनशील स्थलसम्मको पहुँच दिन्छन् ।

१७. हितग्राही खाताबाहकको विवरण अद्यावधिक गर्दैनन् ।

१८. राजनीतिक व्यक्ति र उनीहरुको परिवार, आफन्त र नजीकको सम्बन्धको विवरण राख्दैनन् । यस्ता व्यक्तिको पहिचान गर्न तेस्रो पक्षमा भर पर्छन् ।

१९. सञ्चालक समिति र उच्च पदस्थ व्यक्तिसँग उच्च परिमाणमा नगद कारोबार गर्छन् ।

२०. ग्राहक पहिचान फारममा सबै विवरण (इच्छाइएको व्यक्ति, नक्सा, वार्षिक कारोबार) नभरीकनै खाता खोल्न दिन्छन् ।

२१. कर्मचारी बढुवा नीति नहुँदा समयमुताविक रुपमा कर्मचारीको बढुवा गर्दैनन् ।

२२. नियमित रुपमा कर्मचारी कार्यसम्पादन मूल्यांकन गदैनन् ।

२३. एकीकृत निर्देशन विपरित प्रिमियम वृद्धिमार्फत् कर्जाको ब्याजदर बढाउँछन् ।

२४. ग्राहकको गुनासो संकलन गर्न छुट्टै पोर्टल बनाउँदैनन, बनाए पनि संकलन गर्दैनन् र संकलन गरे पनि राष्ट्र बैंकलाई बुझाउँदैनन् ।

नोटः उल्लेखित कमजोरी सबै बैंकले गरेको होइनन् । कुनै कमजोरी सबैले, कुनै अधिकांशले र कुनै केहीले मात्र गरेका कमजोरी हुन् ।


क्लिकमान्डु