२०४७ देखिको भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठनको माग अघि सारेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनु पर्ने अडानबाट पछि नहटेपछि रास्वपाले यस्तो माग अघि सारेको हो ।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो ।

२०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले बताए ।

‘कुनै पनि कालखण्डमा घटेको भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्छ,’ वाग्लेले भने, ‘ललिता निवासको सुरुवाती त विपक्षी दलका सभापति (शेरबहादुर देउवा) गृहमन्त्री हुँदा सुरुवाता भएको हो, त्योदेखि वाइडबडी काण्ड यहाँ कसकसलाई जोगाइएको छ त्यसको जाँचबुझका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गरेका छौं।’

भ्रष्टाचारका कुनै पनि कालखण्डमा घटेका काण्डलाई उत्खनन गरेर वृहत ‘ग्राण्ड पब्लिक इन्क्वारी’ गर्ने हिसाबले गर्नु पर्ने उनले बताए ।

‘एउटा व्यक्तिलाई खुइल्याउने, एक दुई वर्षको आरोपको भरमा कुनै पात्रलाई खु्इल्याउने हिसाबले होइन सिरियस हुनुका लागि त्यस्तो छानबिन आवश्यक हुन्छ, सहकारीमा पनि गर्नुपर्छ’ वाग्लेले भने ।


क्लिकमान्डु