सेयर धितो राखेर ८६ अर्ब कर्जा प्रवाह, ७ महिनामै साढे ९ अर्ब बढ्यो



काठमाडौं । सेयर धितो राखेर बैंकिङ प्रणालीबाट करिब ८६ अर्ब रुपैयाँ बराबरको मार्जिक प्रकृतिको कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा यस्तो प्रकृतिको कर्जा साढे ९ अर्बले विस्तार भएर ८५ अर्ब ७० करोड १२ लाख रूपैयाँ पुगेको हो ।

असार मसान्तको तुलनामा फागुन मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा १२.३० प्रतिशतले बढेको हो । गत असार मसान्तमा सेयर धितोमा जाने कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा सेयर धितोमा जाने सबैखाले कर्जा बढेको छ । केन्द्रीय बैंककाअनुसार १ करोडभन्दा बढी रकमको सेयर धितोमा जाने कर्जा १७.४ प्रतिशतले बढेर ५२ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

यस्तै ५० लाखदेखि १ करोडसम्म जाने सेयर धितोको कर्जा ३.१ प्रतिशतले बढेर १२ अर्ब १४ करोड ३४ लाख रुपैयाँ छ । असार मसान्तमा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८.८ प्रतिशतले बढेको छ । फागुनसम्ममा १३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तमा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ थियो ।

२५ लाखभन्दा कम धितो कर्जा १.८ प्रतिशतले बढेको छ । असार मसान्तमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन मसान्तमा ७ अर्ब १५ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकले मौद्रीक नीतिको समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । बैंकिङ प्रणालीमा कर्जाको माग घट्दा अधिक तरलता छ । राष्ट्र बैंकको लचिलो नीति र अधिक तरलताका कारण घट्दो ब्याजदरले सेयर बजारमा लगानी बढ्ने लगानीकर्ताहरुको विश्वास छ ।

अहिले बैंहरुले धमाधम ब्याजदर घटाउँदै गएका छन् । ब्याजदर घट्दा सेयर धितोमा जाने कर्जा बढ्ने गरेको छ ।


क्लिकमान्डु