निगमले ७ महिनामा १२ अर्ब कमायो, टिकट बेचेर ७०% आम्दानी गर्दा बाँकी आम्दानी कहाँबाट ?



काठमाडौं । नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा १२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । निगमले जहाजको टिकट बेचर ७० प्रतिशत र बाँकी ३० प्रतिशत गैरउडान तथा ननएरोनोटिकल आम्दानी गरेको छ।

निगमले चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा गरेको आम्दानीको विवरणसहितको एक प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनअनुसार निगमले पछिल्लो सात महिना अर्थात साउनदेखि माघसम्ममा गरेको यस्तो आम्दानीमा टिकट बेचेर ८ अर्ब ६० करोड २६ लाख रुपैयाँ कमाएको छ ।

निगमका अनुसार अतिरिक्त ब्यागेजको सेवा दिएवापत ८ करोड १४ लाख, कार्गो तथा चार्टर एवं मेलसेवा दिएवापत १८ करोड ५२ लाख, एयरक्राफ्ट ह्याण्डलिङ (ग्राउण्ड ह्याण्डलिङ)बाट ३ अर्ब ३५ करोड ६६ लाख र अन्य आम्दानीबाट १ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको पनि निगमले क्लिकमाण्डुलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

वायुसेवा निगमको टिकटपछिको सबैभन्दा राम्रो आम्दानीको स्रोत नै ग्राउण्ड ह्याण्डलिङ हो । यो सेवा दिएवापत निगमले कर्मचारी प्रशासन खर्च नै पुर्याउँछ । निगमले सात महिनामा सवा ३ अर्ब भन्दा बढी ग्राउण्ड ह्याण्डलिङबाट कमाउनुले अब बाँकी ४ महिनामा हुने आम्दानीसमेत जोड्दा यो वर्ष ५ अर्ब रुपैयाँ नाघ्ने निगमकै भनाइ छ ।

निगमले गरेको यस्तो आम्दानीमा साउनमा १ अर्ब ५० करोड ७७ लाख, भदौमा १ अर्ब ५० करोड १० लाख, असोजमा १ अर्ब ८६ करोड ३ लाख, कात्तिकमा २ अर्ब १२ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी मंसिरमा १ अर्ब ९२ करोड ८०, पुसमा १ अर्ब ५९ करोड ९५ लाख र माघमा एक अर्ब ७२ करोड ४ लाख रुपैयाँ रहेको पनि निगमले जानकारी दिएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानबाट गरेको यस्तो आम्दानी वटा वाइडबडी र एउटा न्यारोवडीबाट मात्रै भएको हो । निगमको एउटा न्यारोवडी ४ महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड छ । यो जहाज हाल इजरायलमा इन्जिन मर्मत गर्न गएको छ । उक्त जहाज मर्मत सकेर नफर्कदा निगमलाई पछिल्लो ४ महिनामा यही जहाजको कारण मात्रै १ अर्ब भन्दा बढी घाटा लागिसेको अनुमान गरिएको छ ।

यद्यपी अहिले पर्यटकीय सिजन भएको र नेपालबाट बाहिरिने भित्रनेको चाप बढेका कारण निगमका सबै जहाज अहिले पूर्ण क्षमतामा चलिरहेका छन् । जहाज अभावले निगमको आम्दानी गत वर्ष २०७९/८० को तुलनामा खुम्चने भएको छ । निगमले गत वर्ष २३ अर्ब ७२ करोड रुपैयाँ कुल आम्दानी गरेको पनि निगमले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

निगमले गरेको यस्तो आम्दानीमा १ अर्ब ६ करोड रुपैयाँ ऋणको किस्तावापत भुक्तानी गरेको छ । निगमसँग कर्माचारी संचयकोष र नागरिक लगानी कोषको करिब ४६ अर्ब रुपैयाँ ऋण छ । यस्तो ऋणबाहेक निगमले गर्ने प्रशासनिक तथा जहाज उडाउनमा हुने खर्चका कारण भने निगमले नाफा कमाउन नसकेको बताएको छ ।


क्लिकमान्डु