यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय



काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्वीन्टल २७ सय ७ रुपैयाँ २८ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ । साथै १८ प्रतिशत भन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्वीन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलको आधारमा न्युनतम सामर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको बताइन् ।

उनकाअनुसार सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ । त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरुलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गरेको पनि प्रवक्ता शर्माले बताइन् ।

उनले विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृत दिने निर्णय भएको पनि बताइन् ।

सरकारले नेपालको संविधानको धारा ५३ एवं सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


क्लिकमान्डु