गृहमन्त्रीलाई कांग्रेस सांसद बडुको प्रश्न: चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई किन पत्र लेख्या ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले उद्योगीसमेत रहेका सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारणबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद बडुले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको भए पनि चौधरीलाई छानबिन गर्दैछौं भनेर पत्र पठाइएको बताए । बडुले ह्यारेस गर्ने उदेश्य राखेर पत्रकाटिएको हो भन्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रश्न गरे ।

‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि ? आफ्नो ठाउँ लिइहाल भनेर हो कि ? पूर्वाग्रह राखेको हो ?’ बडुले बैठकमा प्रश्न गरे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिनअघि प्रतिनिध सभाका सभामुखलाई पत्र लेखेर बाँसबारीको १० रोपनी जग्गाको विषयमा चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै पत्र पठाएको थियो ।

त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौंका अधिकारीहरुको रोहबरमा सीआईबीलाई बयान दिएका थिए ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी गराएका छन् । देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि उनले बताए ।


क्लिकमान्डु