एनसेलले ४० प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ?



काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ४० प्रतिशत कर्मचारी कटौती गर्न लागेको चर्चा सामाजिक सञ्जालमा चलेको छ ।

नेपालमा दुई दशकदेखि मोबाइल सेवा प्रदान गरिरहेको यो कम्पनीलाई आर्थिक मन्दी, इजजाजत पत्रको अवधि सकिन लागेको र एनसेलको स्वामित्व खरिद बिक्री विवादसँग जोडेर कर्मचारी कटौती गर्न लागिएको भन्ने आरोप लागेको छ । एनसेलका नेपालमा ५ सयभन्दा बढी कर्मचारी छन् ।

सिमकार्ड वितरणका आधारमा एनसेलका १ करोड ३२ लाख मोबाइल फोनमा कुरा गर्ने (भ्वाइस) प्रयोगकर्ता छन् । डेटा प्रयोगकर्ताका हिसावले यसका प्रयोगकर्ता ८७ लाख छन् ।

बजारमा भने एनसेले कर्मचारी कटौती गर्न लागेको चर्चा चलेको छ । एनसेलले कर्मचारी कटौती गर्ने चर्चासँगै व्यवसाय विस्तारका लागि एनसेलमा निर्भर दुई चिनियाँ कम्पनी हुवावे र जेटटीईले पनि एनसेलकै प्रवृत्तिलाई पछ्याउन लागेको चर्चा छ ।

यसैबीच एनसेल नेपालले भने सामाजिक सञ्जालमा केही व्यक्तिले यस कम्पनीले जनशक्ति कटौती गर्ने भन्दै अफवाह फैलाएर भ्रम सिर्जना गरेकोप्रति गम्भिर ध्यानकर्षण भएको बताएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी कम्पनीको ब्रान्ड र शाखमा असर पर्ने काम भएको एनसेलले जनाएको छ । बजारमा भ्रम फैलाउनप्रति कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने पनि एनसेलले दिएको छ ।

कर्मचारी कटौती गर्ने हल्ला कसैले व्यक्तिग स्वार्थको लागि फैलाएको हुन सक्ने एनसेलको भनाइ छ । ‘एक त कर्मचारी कटौती गर्ने कुनै योजना छैन भने यति ठूलो जनशक्ति कटौती गर्दा कर्मचारीको विरोध हुँदैन र ?’ एनसेलले प्रश्न गरेको छ ।

यस्तै इकमर्स वेबसाइट दराजले पनि कर्मचारी कटौती गरेको छ ।

नेपालसँगै दक्षिण एसियाका विभिन्न देशहरुमा सञ्चालनमा रहेको इकमर्स वेबसाईट दराजले कर्मचारीहरुलाई निकालेको घोषणा गरेको छ ।

चिनियाँ कम्पनी अलिबाबाको स्वामित्वमा रहेको दराजले आन्तरिक प्रतिवेदनमा थप व्यवस्थित र गतिशिल संरचना अपनाउनका लागि कर्मचारीहरु निकालिएको घोषणा गरेको छ । गत मंगलबार कम्पनीका सीईओ जेम्स डंगले कम्पनीको मेमोमा कर्मचारीहरुलाई निकालिएको विषयलाई समेटेका छन् ।

उक्त प्रतिवेदनमा कति कर्मचारीलाई निकालिएको भन्ने खुलाइएको छैन । तर, स्रोतहरुकाअनुसार भने सैयौंको संख्यामा कर्मचारीहरु निकालिएको छ । यसरी कर्मचारी निकालिनुले नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा दराजको सञ्चालनमा कस्तो असर गरिरहेको छ भन्ने विषयमा पनि दराजले कुनै प्रतिक्रिया दिएको छैन ।

रोयटर्सकाअनुसार दराजले गत वर्ष ११ प्रतिशत कर्मचारीहरुलाई बजारको अवस्थाका कारण निकाल्ने घोषणा गरेको थियो । त्यो बेला दराजमा सबै देशमा गरेर ३ हजार हाराहारीमा कर्मचारीहरु काम गरिरहेका थिए ।

कम्पनीले बजारको असहज अवस्था, बढ्दो महंगी, वितरण प्रणालीमा बाधा, उच्च कर तथा न्युन सरकारको सहुलियतजस्ता कारणहरु देखाउँदै गत वर्ष नै कर्मचारी निकाल्ने घोषणा गरेको थियो । तर, दराजले कति कर्मचारी निकालिएको हो भन्ने खुलाएको छैन ।


क्लिकमान्डु