भैरहवा र पोखरामा आन्तरिक उडान हुन सकेन, विमानस्थलमा यात्रुको चाप



काठमाडौं । देशका विभिन्न स्थानमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हवाइ उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा र पोखराको आन्तरिक उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

हालसम्म लुक्लाको एउटा उडान भए पनि पोखरा र भैरहवा जाने जहाज उड्न सकेको छैन । आन्तरिकतर्फको उडान नहुँदा डोमेस्टिक टर्मिनलमा यात्रुको चाप बढेको छ ।

यतिबेला पोखरामा बाक्लो हुस्सु लागको छ । काठमाडौंबाट पोखरा दैनिक २० देखि २५ उडान हुने गरेको छ । आन्तरिक उडान प्रभावित बन्दा अन्तर्राष्ट्रिय तर्फको उडानलाई भने मौसमले प्रभाव पारेको छैन ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातसमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपराह्नमा कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ अनुमान छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


क्लिकमान्डु