विद्युत प्राधिकरणका कारण रिलायन्सको सेयर निष्कासन धितोपत्र बोर्डले रोक्यो



काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ ।

तर, रोजगारीका लागि विदेशमा गएका नेपाली र सर्वसाधारणलाई भने सेयर निष्कासन गर्न सकेको छैन ।

त्यसको कारण भने नेपाल विद्युत प्राधिकरण बनेको छ ।

प्राधिकरणले पुस २५ गते धितोपत्र बोर्डलाई एउटा पत्र पठायो । पत्रमा ‘यस प्राधिकरणबाट विद्युत सेवा उपभोग गरी विद्युत महसुलबापत २०८० मंसिर मसान्तसम्म बाँकी बक्यौता भएका देहायका उद्योग प्रतिष्ठानहरुमध्ये धेरै उद्योग प्रतिष्ठानले आईपीओ निकाल्न लागेको बुझिएको हुँदा निजहरुले प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको विद्युत महसुलको विवरण तहाँको जानकारीका लागि तपसीलमा खुलाई पठाइएको व्यहोरा अनुरोध गर्दछु,’ भनेको छ ।

प्राधिकरणका अनुसार रिलायन्सले प्राधिकरणलाई विद्युत महसुल बापत १ अर्ब ९४ करोड २६ लाख ९२ हजार ९३३ रुपैयाँ बक्यौता तिर्नु रहेको छ ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थापक लगानीकर्तालाई ४० प्रतिशत सेयर बिक्री गरिसकेको छ । दोस्रो चरणमा निष्कासन गर्ने सेयर भने प्राधिकरणको पत्रका कारण नेपाल धितोपत्र बोर्डमा रोकिएको छ ।

कम्पनीले यसअघि निष्कासन गरेको विवरण पत्रमा उक्त रकम तिर्नुपर्ने उल्लेख गरेको छैन । तर, रिलायन्सको बक्यौता रहेको प्राधिकरणले जनाएपछि अहिले बोर्डले उक्त बक्यौतासहितको अद्यावधिक विवरण पत्र नबनाएसम्म आईपीओ निष्कासन गर्न अनुमति नदिने भएको छ ।

यसअघि बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त बक्यौता नराखेको विवरण पत्रका आधारमा नै सेयर निष्कासन गर्न अनुमति दिएका थिए । त्यसैले कम्पनी भने पुरानै विवरण पत्रका आधारमा सेयर निष्कासन गर्न पाउनु पर्ने बताउँदै आएको छ ।

बोर्डका केही कार्यकारी निर्देशकले पुरानै विवरण पत्रका आधारमा सेयर निष्कासन दिन सकिने बताउँदै आएको भएपनि हाल बोर्ड सञ्चालनको जिम्मेवारी पाएका कार्यकारी निर्देशक डा नवराज अधिकारीले उक्त फाइल अघि बढाउन नमानेको स्रोतले बनायो ।

‘रिलायन्सले यसअघि योग्य संस्थापक सेयरधनीलाई सेयर निष्कासन गरिसकेको छ,’ बोर्डका एक कर्मचारीले भने, ‘अहिले अधिकारी सरले कम्पनीले बाँकी बक्यौता राखेर अध्यावधिक विवरण माग्नु भएको छ । अध्यावधिक विवरण राख्दा कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ सबै प्राभावित हुने भएर कम्पनीले नयाँ ल्याउन मानेको छैन । पुरानै विवरण पत्रका आधारमा सेयर निष्कासन गर्न पाउनु पर्नै भन्दै बोर्डका कर्मचारीले अध्यक्ष बनाउनेदेखि आर्थिक प्रलोभन समेत दिँदै आएका छन् ।’

कम्पनीले निष्कासन गरेको विवरण पत्र अनुसार असोज मसान्तसम्म प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ४८ पैसा रहेको छ भने आव २०८०/०८१ मा २५० रुपैयाँ ५१ पैसा पुग्ने जनाएको छ । यस्तै, २०८१/०८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ३८ पैसा र आव २०८२/०८३ मा ३०१ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण रिलायन्सको रहेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पुस मसान्तसम्म ९६ पैसा रहेकोमा २०८०/०८१ मा ३२ रुपैयाँ ९० पैसा, २०८१/०८२ मा ३२ रुपैयाँ ८९ पैसा र आव २०८२/०८३ मा ५३ रुपैयाँ ९३ पैसा पुग्ने प्रक्षेपण पनि कम्पनीको विवरण पत्रमा रहेको छ ।

कम्पनीको नाफा पुस मसान्तसम्म ५६ लाख ४० हजार ९४७ रुपैयाँ रहेकोमा आव २०८०/०८१ मा ७१ लाख ७२ हजार ७२९ रुपैयाँ, आव २०८१/०८२ मा ७४ लाख १७ हजार ५७५ रुपैयाँ र आव २०८२/०८३ मा ८० लाख ६२ हजार १५३ रुपैयाँ नाफा गर्ने रिलायन्सले प्रक्षेपण गरेको छ ।

यसअघि रिलायन्सले योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि ६० प्रतिशत सेयर निष्कासन गर्न बोर्डमा अनुमतिका लागि आवेदन दिएको हो ।

अधिकांश लगानीकर्ताले बिक्री मूल्य सीमाको अधिकतम विन्दु अर्थात प्रतिकित्ता ९१२ रुपैयाँका दरले बोलकबोल गरेका कारण सोही मूल्य नै ‘कट अफ मूल्य’ कायम भएको छ । बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम गरिएको थियो ।

योग्य संस्थागत लगानीकर्ताले बोल कबोल गर्दा कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ आएको थियो । यसरी ९१२ रुपैयाँबाट १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ । अर्थात सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ ।

बुक विल्डिङ विधिबाट निष्कासन हुने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने भएकाले लगानीकर्तासँग सेयर भर्नका लागि न्यूनतम ४१ हजार ४० रुपैयाँ हुनुपर्ने छ ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा पुगेको छ ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । रिलायन्सको बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए ।

त्यसमध्ये १८ वटा कम्पनीले प्रतिकित्ता ९१२ रुपैयाँमा माग गरेका थिए । ९१२ रुपैयाँमा माग गर्ने योग्य सेयर पाउन सफल भएका छन् ।

जसमा गौरभ नेपाल इन्भेष्टमेन्ट प्रालि, कुमारी क्यापिटल, कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, कुमारी सुनौलो योजना, नबिल स्टक डिलर, नेशनल फण्ड म्यानेजमेन्ट, नेपाल लाइफ क्यापिटल, प्रभु क्यापिटल, प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड, एसआर हाईड्रो एण्ड इन्भेष्टमेन्ट प्रालि, सिद्धार्थ क्यापिटल, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम टू, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम थ्री, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम र भेन्चर क्यापिटल प्रालि योग्य ठहरिएका छन् ।
उक्त बोलकबोलमा ९१२ रुपैयाँ भन्दा कम मूल्य हाल्नेले भने सेयर पाएनन् ।


क्लिकमान्डु