मन्त्रीका कार्ययोजना बनाउनमा व्यस्त सिंहदरबार, समीक्षाबिनै नयाँ योजनामा जोड दिँदै दोहोरिएका मन्त्री



एमाले लगायतका दलहरुसँग गठबन्धन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि माओवादीका ३ जना बाहेक सबै मन्त्री नयाँ आए । माओवादीले दोहोर्याएकामध्ये सञ्चार तथा सूचना प्रविधि र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा यस अघिकै मन्त्रीलाई निरन्तरता दिएको छ ।

सिंहदबारका नयाँ मन्त्री प्रवेश गरेपछि आफ्नो एजेण्ड समावेश गर्ने, पार्टीको कार्यक्रम घुसाउने र राजनीतिक अवस्था अनुसार काम गर्नु सामान्य नै हो । सिंहदरबार प्रवेश गरेका मन्त्रीहरू सबैले आआफ्नो मन्त्रालयका कार्ययोजना बनाइरहेका छन् । नयाँ नियुक्त भएर गएकाबाहेक दोहोरिएका मन्त्रीलेसमेत यस अघिको कार्यक्रमाथि आफ्नो कार्यकालयमा भएको कामको प्रगतिको समीक्षा बिना नै नयाँ कार्ययोजना बनाउनमा जोड दिइरहेका छन् ।

एमालेसँगको गठबन्धनमा दोहोरिएका सञ्चारमन्त्री रेखा शर्मा २०७९ माघ ३ मा कांग्रेससँगको गठबन्धन हुँदा सञ्चार मन्त्री नियुक्त भएकी थिइन् । उनी २२ माघ २०८० मा सञ्चार मन्त्रालयबाट बिदा भएकी थिइन् तर पुनर्गठित मन्त्रिमण्डमा परेपछि उनले पुनः सञ्चार मन्त्रालयकै जिम्मेवारी पाइन् । उनीसँग माओवादीकै नेता शक्तिबहादुर बस्नेतसमेत १३ महिना मन्त्री भएकै ऊर्जा मन्त्रालयमा दोहोरिए ।

सिंहदरबार प्रवेश गरेका र विभिन्न मन्त्रालयको नेतृत्व गर्ने जिम्मा पाएका मन्त्रीहरु अहिले धमाधम कार्ययोजना बनाउनमा व्यस्त छन् । मन्त्रीको नयाँ कार्ययोजनाका लागि सम्बन्धित मन्त्रालयले कार्ययोजना बनाइरहेको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुको कार्ययोजना बन्नु स्वाभाविक भए पनि भएकै र निरन्तरता पाएका मन्त्रीलेसमेत यस अघिको कार्यक्रमको समीक्षा नै नगरी नयाँ कार्यक्रममा जोड दिइरहेको सम्बन्धित मन्त्रालयको भनाइ छ ।

सञ्चार मन्त्रालयका अनुसार मन्त्रीले कार्ययोजना मागेकोले आवश्यक तयारी भइरहेको छ । मन्त्रायका प्रवक्ता नेत्र सुवेदी मन्त्रीले नयाँ कार्ययोजना मागेकोले थप जोश र जाँगरमा काम गर्न खोजिएको बताउँछन् । उनका अनुसार मन्त्रीले के के कार्यक्रम छन्, कहिले कुन काम गर्ने र त्यसमा नयाँ के के थप गर्न सकिन्छ मिलाएर ल्याउनु भनिसकेकी छन् । मन्त्रीकै आदेश अनुसार कार्यक्रम बनिरहेको छ ।

सञ्चारमन्त्रीमा नियुक्त भएकी शर्माले पहिलो कार्यकालको कुनै समीक्षा नगरेको, विगतका कार्यक्रमको प्रगतिसमेत हेरेकी छैनन् । तर, नयाँ कार्ययोजना बनाउनमा उनले दिएको निर्देशकका कारण मातहतका सहसचिव धमाधम काममा लागेका छन् ।

यस्तै ऊर्जा मन्त्रालयलेसमेत मन्त्रीको लागि नयाँ कार्ययोजना बनाइरहेको छ । ऊर्जा मन्त्रालयमा पनि बस्नेतले दोहोरिए पनि उनको एक वर्षे कार्यकालेको समीक्षा भएको छैन । तर, नयाँ कार्ययोजना भने धमाधम बनिरहेको छ ।

मन्त्री दोहोरिएका बाहेकका अन्य मन्त्रालयले भने मन्त्रीलाई बिफ्रिङ गर्ने, मातहतका निकायको जानकारी दिने र मन्त्रालयको गतिविधिको बारेमा जानकारी दिइरहेको छ । साथै मन्त्रालयहरुले नयाँ कार्ययोजना समेत बनाइरहेका छन् ।

नयाँ मन्त्रीलाई भेटघाट र बधाई दिन आउनेको मन्त्रालयहरुमा दिनभर भीड हुन्छ । कार्यकर्तादेखि सम्बन्धित मातहतका कार्मचारी र राजनीतिक व्यक्तित्वहरुको भेटमा व्यस्त रहेको मन्त्रीहरुले अब कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशनसेमत दिएका छन् । मन्त्रीकै निर्देशनअनुसार चालु आर्थिक वर्षको बजेटले दिएका कार्यक्रम, दैनिक प्रशासनिक कार्य र पुँजीगत खर्चका लागि तय भएका योजनासहितको विवरण राखेर नयाँ कार्ययोजना तय भइरहेको सम्बन्धित मन्त्रालयको भनाइ छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले पछिल्लो गतिविधिका रुपमा ऊर्जा क्षेत्रको रोडम्याप तयार पारेर मन्त्रिपरिषद पठाएको बताए । त्यो बाहेक मन्त्री दोहोरिएकोले पहिलेकै कार्यक्रम निरन्तर भएकोले त्यसको समीक्षा नभएको उनी बताउँछन् ।
नयाँ कार्यक्रम आवश्यकताअनुसार राखेर जाने र कार्यप्रगतिको मूल्यांकन पनि हुने सिंहले बताए ।

अर्थ मन्त्रालय पछिल्लो अर्थतन्त्रको अवस्थाप्रति सबैभन्दा बढी चिन्तित हुनुपर्ने निकाय हो । अर्थतन्त्रको वास्तविक अवस्था बुझेर जहा समस्या र कमजोरी छन् त्यहीँ सुधार गरेर जाने गरी रणनीति बनाउन अर्थमन्त्री लागिपरेका छन् । अर्थमन्त्रालयका कर्मचारीले अर्थतन्त्रको सुधारका लागि आवश्यक कार्ययोजना आन्तरिक रुपमा बनाइरेका छन् ।

यो बाहेक निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न निर्देशन दिइसकेको अर्थमन्त्रीका सञ्चार संयोजक दयानिधि भट्टले बताए । उनका अनुसार सत्तारुढ दलहरुकै अर्थ विभाग हेर्ने पदाधिकारीको टीमले साझा न्यूनतम कार्यक्रम बनाउँदै छ । यसमा पूर्वअर्थमन्त्री विष्णु पौडेल र जनार्दशन शर्मासहित एमाले नेता विष्णु रिमाल, रास्वपाका महासचिव मुकुल ढकालको कार्यदलले काम गरिरहेको छ । सो कार्यदलको प्रतिवेदनपछि अर्थतन्त्र सुधारको योजनाका विषयमा काम गर्न सहज हुने अर्थ मन्त्रीका सञ्चार संयोजक भट्टले बताए ।


क्लिकमान्डु