सीआईबीले पक्राउ गरेपछि बैंकका कर्मचारीहरुको आत्मबल कमजोर भएको छः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए ।

बैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको उनको भनाइ छ । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए ।

बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीतिसमेत जोडिएको उनको आंशका छ । उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताए ।

उनले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए । सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको उनले बताए । कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने अधिकारीले बताए ।

‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री,अर्थमन्त्री र सचिवहरुसहित बसेर छलफल गरिरहेका छौं । यो अराजकतालाई रोक्न सकेनौं भने सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छैन’ अधिकारीले भने, ‘यसले एक किसिमबाट ठूलो बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहहरु देखिएका छन् । बैंकिङ उद्योगलाई धरासायी बनाउन पाइयो भने अरु खालका राजनीति गाँसिएको देख्छु । उद्देश्य परिपूर्ति गर्ने उद्देश्यले बैंकिङ क्षेत्र र नियमन निकायलाई समेत कमजोर बनाउने गरी धाराप्रवाह रुपमा आक्रमण भइरहेको अनुभुति भइरहेको छ ।’

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकरहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर आतंकित हुनुपर्ने अवस्था नभएको बताए ।

सीआईबीले राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए ।

राष्ट्र बैंकले बैंकमा भएको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताउँदै अधिकारीले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए ।

‘उहाँहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । नेपाल प्रहरीसँग पनि छलफल गरौं । कस्तो किसिमले पक्राउ गरियो भन्दा राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । प्रहरीले यस्तो छानविन गर्दा त्यहाँ पुगेका हौं भन्नुभयो । तर यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ’, उनले भने, ‘छानबिन नगरी यस्तो नगरिदिन भनेपछि सबै छानबिन गरेर पक्राउ गरिएको भन्नुभयो । तर बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानबिनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ ।’

बैंकरहरु दोषी ठहर नभएर बाहिर आउने र दोषी भए कानूनअनुसार सजाय भोग्नुपर्ने उनले बताए ।

‘बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नु कर्तव्य हो । यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ,’ उनले भने, ‘ बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो । स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ । थप आंतकित कोही कसैलाई पार्नु हुँदैन ।’

केही बैंकर पक्राउ परेभन्दैमा अरु बैंकर आंतकित हुन नहुने गभर्नरले बताए । बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने उनको धारणा छ ।

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए ।

अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताए ।

केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै उनले लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताए ।

पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उनले बताए । बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताउँदै उनले बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गरे । बैंकहरुको खराब कर्जा बढ्नुमा समग्र बजारको अवस्था,अर्थतन्त्रमा शिथिलता,रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको उनले बताए ।

यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको उनले बताए ।

गभर्नर अधिकारीले यसो भने

नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी प्रणाली रहेको छ । क्यापिटल इक्विटीलाई सुरक्षितको रुप हेर्न सकिन्छ । कोर पुँजी ८ प्रतिशत रहेकाले छ भने केही बैंकहरुलाई यसको दबाब रहेको महशुस गरेका छौं । लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति छ ।

बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता छ । ६ खर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ । बैंकहरुको अर्को महत्वपूर्ण सूचक एनपीए कर्जाको गुणस्तर हो । जुन कर्जाको गुणस्तर खस्केको छ । बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढ््नु कारण समग्र बजारको अवस्था,अर्थतन्त्रमा सिथिलता,रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षेमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ ।

अराजक अभिव्यक्तिहरु र असम्भव आश्वषणहरु बजारमा फैल्याएर ऋण नतिर्दा पनि हुन्छ । मैले मात्रै दिँदा अरुले नतिरे पनि हुने अवस्था आयो भन्ने जस्ता मानसिकताको कारणले ऋण उठेको छैन । जुन गलत छ । त्यसले प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर गरेको छ । यसरी बैंकहरुको कर्जा गुणस्तर कमजोर हुने अवस्था देखिएको छ । बैंकहरु सबल र सुरक्षित छन् । बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पतीको रुपमा छ । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तराष्ट्रिय स्तरकै छ ।

अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो पाउँछौं । तर आन्तरिक परिस्थितिले गर्दा कँही अफ्ठ्राहरु देख्छौं । बैंकिङ क्षेत्रको सवलतालाई हेरेर विदेशी बैंक र फाइनान्सहरुले नियमित रुपमा फाइनान्स गरिरहेका छन् । राम्रोसँग ऋण दिएरहेका छन् । हाम्रो बैंकिङ प्रणालीमा समस्या भए ऋण दिँदै दिँदैनन् । उनीहरुले अहिले पनि हाम्रा वित्तीय संस्थाहरुलाई ऋण दिइरहेकाले पनि नेपालका बैंकहरु र प्रणाली सवल छन् भन्न सकिन्छ ।’


क्लिकमान्डु