सहकारीमा समस्या आउँनुमा नियामक निकायको भूमिका शंकास्पद छः मीनराज कडेल



भक्तपुर । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले ‘बागमती प्रदेश साकोस समिट’ सुरु गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

‘बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जन भएको छ । यसलाई समाधान गर्नको लागि सबैको हातेमालो आवश्यक छ’ उनले भने, ‘अहिले सहकारीमा नियामक निकायको भूमिका पनि शंकास्पद छ । सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्यायो ।’

उनले सहकारीले २२ प्रतिशतसम्म ब्याज दिएर सदस्यबाट ठूलो बचत लिएका संस्थाहरु नै समस्यामा परेको बताए । कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनुपर्ने सुझाव दिए ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्याहरूको समाधानमा यस्ता किसिमका समिटले समाधान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न, दीगो सहकारी अभियान बनाउन, स्वनियमन र सुशानसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघले नेतृत्व गर्ने उनको भनाई छ । सहकरीले वित्तीय साक्षरता, रोजगारी सृजना गर्न, समावेशिता विकास र संगठन निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा उनले वर्तमान सहकारीको समस्या सामाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्र्नु पर्ने धारणा उनको छ । सहकारी सामुहिकताको विषय भए पनि सामुहिकतामा गरिएको काम किन असफल भइरहेको छ सो विषयको समीक्षा गर्नु पर्नेम उनको जोड छ ।

सामुहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टिकाटिप्पणी हुनु राम्रो विषय नभएको उनको भनाइ छ । ‘सहकारीले के कस्तो योगदान गरेको छ, त्यसको यर्थात विवरण नहुँदा पनि सहकारीमा समस्या भएको छ,’ उनले भने, ‘यो विषयमा पनि अभियानले भूमिका खेल्नुपर्छ, वास्तविकता बाहिर ल्याउन सके अभियानको महत्व अझ बढ््नेछ र राज्यले समेत यसको महत्व थाहा पाउँछ ।’


क्लिकमान्डु