नेपालमा महँगा मोबाइलको प्रयोग बढ्दो, नेपालीलाई मोबाइल बेच्न चीन र भारतबीच प्रतिस्पर्धा



पछिल्लो समय नेपालीले प्रयोग गर्ने मोबाइलमा महँगोको हिस्सा बढ्दै गएको छ । आयातको तथ्यांकले पनि महँगा मोबाइलको प्रयोग बढेकाले विगतका तुलनामा आयातको संख्या कम हुँदासमेत मूल्य बढीका देखिन्छन् ।

काठमाडौं । नेपालीहरु सौखिन हुँदै गएका र आर्थिक क्षमता बढेका कारण पछिल्लो दुई वर्षदेखि नेपालमा महँगा मोबाइलको प्रयोग बढ्न थालेको छ । नेपालीले बोक्ने मोबाइल सस्ता (बारफोन)को तुलनामा नयाँ प्रविधि जडित महँगा (स्मार्ट)फोन हुन थालेका छन् ।

पछिल्लो दुइ वर्षमा भित्रिएको मोबाइलको तथ्यांक केलाउँदा नेपालमा आयात भएका मोबाइल विगतका ३ वर्षको तुलनामा आधा संख्यामा छन् तर भन्सार मूल्य भने निकै बढी छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा ११ लाख २६ हजार मोबाइल आयात हुँदा १७ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा १० लाख मोबाइल भित्रदाँ १४ अर्ब ७६ करोड रुपैयाँ भन्सार मूल्यका थिए ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा २६ लाख ९६ हजार वटा मोबाइल आउँदा जम्मा त्यसको भन्सार मूल्य २ अर्ब २२ करोड रुपैयाँ मात्रै थियो । यस्तो तथ्यांक अनुसार पछिल्लो समय संख्यामा कम मोबाइल भित्रिए पनि धेरै पैसा बाहिरिरहेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा २५ लाख ८५ हजार वटा मोबाइल आयात हुँदा १ अर्ब २१ करोड रुपैयाँ मात्र भन्सार मूल्यका थिए । आर्थिक वर्ष २०७६/७७ मा १८ लाख ८२ हजार मोबाइल आउँदा यसको भन्सार मूल्य २ अर्ब ९ करोड रुपैयाँ मात्रै रहेको तथ्यांक छ ।

मोबाइल आयात व्यवसायी संघका अध्यक्ष दीपक मल्होत्राले पछिल्लो समय नेपालमा एआई फिचरका मोबाइल आउन थालेको बताए । ‘नयाँ नयाँ प्रविधिका यस्ता मोबाइल गत वर्ष आयात हुने स्मार्ट फोनभन्दा पक्कै महँगो हुने नै भयो,’ उनले भने ‘दुई वर्ष अगाडिको तुलनामा अहिले मोबाइलको सख्ंया कम देखिएको भए पनि नेपालीको पर्चेजिङ पावर बढेको, धेरै फिचर भएका मोबाइल खोज्नेका कारण महँगोप्रतिको रुची बढेको देखिएको हो ।’

उनले पहिलाको तुलनामा अहिले २० देखि ३० हजार मूल्यका फोन बढी बिक्री हुने गरेको बताए ।

‘विगतका वर्षहरुमा सस्ता वारफोनको हिस्सा बढी हुने गरेको थियो भने अहिले २० देखि ३० हजार रुपैयाँका स्मार्ट फोन सबैभन्न्दा बढी बिक्री हुन्छन् । नेपालीले रुचाउँने मोबाइल पनि आयात पनि यही वर्गका सबैभन्दा बढी छ’ उनले भने ।

नेपाली प्रयोगकर्ताले पछिल्लो समय नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्ने गरेका छन् । बजारमा भित्रिएका मोबाइल पहिले राम्रो क्यामेरा भएको भन्ने गरिएको छ भने अहिले एआई प्रविधि जडित भनेर आउन थालिसकेको छ ।

मल्होत्राका अनुसार पछिल्लो दुई वर्षमा महँगो मोबाइल बढी भित्रिएको देखिनुमा एप्पलका मोबाइल चोरी नियन्त्रण हुनु पनि हो । आइफोन चोरी नियन्त्रण नहुँदा गत वर्षसम्म अधिक मात्रामा अवैध रुपमा आउने मोबाइल अहिले करिब रोएिको छ । वैध बाटोबाट मात्रै मोबाइल आउँदा त्यसको वास्तवकि मूल्य पनि प्रष्ट आउँछ ।

हाल वैधानिक बाटोबाटै एप्पलका मोबाइल आउने भएकोले पनि संख्यामा कम आयात भए पनि आयत मूल्य भने धेरै हुने गरेको हो । सरकारले अघिल्लो वर्ष महँगो मोबाइलमा लगाएको प्रतिबन्धले पनि चोरी नियन्त्रण बढेको बुझाइ मोबाइल व्यवसायीको छ।

खुला रुपमा ल्याउँदा विगतका वर्षहरुको भन्दा कम मोबाइल आएको देखिए पनि भन्सार राजस्वका हिसाबले भने धेरै मूल्यको आउन थालेका छन् । यो वर्षको माघसम्ममा भित्रिएको ११ लाख मोबाइलको औषत मूल्य १५ हजार रुपैयाँ छ । दुई वर्ष अगाडि २६ लाख मोबाइल भित्रदाँ त्यसको औषत मूल्यमा भने एक हजार रुपैयाँको हाराहारीमा मात्रै हुने गरेको देखिएको छ ।

१७ अर्बको स्मार्टफोट भित्रियो

पछिल्लो ७ महिनामा ११ लाख २६ हजार वटा स्मार्टफोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिना (साउन-माघ)सम्ममा नेपाल भित्रिएका यस्ता मोबाइल गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ लाख २० हजार बढी हो । गत वर्ष सोही अवधिमा १० लाख ५ हजार वटा मोबाइल नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ११ लाखभन्दा बढी मोबाइल १७ अर्ब ३८ करोड भन्सार मूल्यका छन् । यी मोबाइल आयात हुँदा सरकारले ३ अर्ब २३ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत वर्ष साउनदेखि माघसम्ममा भित्रिएको स्मार्ट फोनको भन्सार मूल्य १४ अर्ब ७६ करोड रुपैयाँ थियो । यी मोबाइलबाट राज्यले २ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको पनि तथ्यांकले देखाउँछ ।

नेपालीलाई मोबाइल बेच्न चीन र भारतबीच प्रतिस्पर्धा

नेपाल भित्रिएका यी मोबाइलमा सबैन्द बढी चीनबाट आएका छन् । चीनबाट पछिल्लो ७ महिनामा ८ लाख १४ हजार वटा मोबाइल भित्रिएको छ । गत वर्ष २०७९/८० को पहिलो ७ महिनामा चीनबाट ७ लाख १० हजारवटा मोबाइल नेपाल भित्रिएको थियो ।

चीनबाट आएका मोबाइलको चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार भन्सार मूल्य ११ अर्ब रुपैयाँ छ । गत वर्ष यस्तो मूल्य ९ अर्ब ८३ करोड थियो ।

भारतबाटसमेत चालु आवको पहिलो सात महिनामा ३ लाख ८ हजार मोबाइल आएको छ । यस्तो मोबाइलको भन्सार मूल्य ५ अर्ब २४ करोड रुपैयाँ छ । भारतबाट गत वर्ष २०७९/८० मा २ लाख ८२ हजार वटा मोबाइल आएको थियो । चालु आवको माघसम्ममा यसको भन्सार मूल्य ४ अर्ब १३ करोड रुपैयाँ रहेको तथ्यांक छ ।

नेपालमा आउने मोबाइलको सबैभन्दा ठूलो हिस्सा चिनियाँ छ । त्यसपछि भारत रहेको छ । भारतले चिनियाँ मोबाइलसँग प्रतिस्पर्धा गर्दै आगडि बढिरहेको छ । नेपालीलाई मोबाइल बेच्न यी दुई मुलुकका उत्पादन र ब्राण्डबीच प्रतिस्पर्धा चलिरहेको छ।


क्लिकमान्डु