१८ जना प्रहरी सम्पर्कविहीन



काठमाडौं । प्रहरी सहायक निरीक्षकसहित १८ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिँदै सूचना प्रकाशन गरेको छ ।

एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि कार्यालयले सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो ।

केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ ।


क्लिकमान्डु