डर, त्रास देखाएर पैसा ५० लाख माग्ने दुई जना पक्राउ



काठमाडौं । प्रहरीले डर, त्रास तथा धम्की दिइ ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ वर्षीय विश्वजित बटला भनिने हृदयराज बोगटी तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ वर्षीय रमेश भनिने नरहरि ढुङगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो’ उनले भने ।

पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मङ्गलबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र निजहरुका साथबाट प्रहरीले मोटरसाइकल (सु.प.प्र.–०१००९ प ६६१० एक थान, बिभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।


क्लिकमान्डु