प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै अम्बे स्टील



काठमाडौं । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले फागुन २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कार्य अगाडी बढाउनको लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

सेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराइटर नियुक्त गर्ने प्रस्ताव रहेको छ भने सेयरको सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

सभामा सञ्चालकहरुको पारीश्रमिक र भत्ता सम्बन्धमा, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा, प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) संशोधन सम्बन्धि प्रस्ताब उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा, कम्पनी ऐन, २०६३ को दफा ९३ अन्तर्गतका कारोबारहरु छलफल तथा पारीत गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/ २०८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्ने सम्बन्धमा, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८०/२०८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमीक निर्धारण गर्ने सम्बन्धमा, संचालक समितिको गठन गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यो कम्पनीका लगानीकर्ता हरी न्यौपाने हुन् । कम्पनीले लुम्बिनी प्रदेशको बाँकेमा रहेको जय अम्बे स्टील्सको ९ अर्ब ७५ करोड रुपैयाँ थप लगानी गरेर क्षमता बृद्धि गर्ने भएको छ । वार्षिक ४० हजार मेट्रिक टन टिएमटीलगायतको उत्पादन गर्दै आएको कम्पनीले क्षमता थप गर्दै इन्डक्सन फर्नेको प्रयोग गर्ने तयारी गरेको छ ।

कम्पनीले क्षमता बढाएर टिएमटीसँगै जिआई वायर, बाइन्डिङ वायर, गेबियन बक्स, एमएस वायरलगायतका अन्य उत्पादनहरु पनि गर्ने भएको हो । अम्बे ग्रुपका हरि न्यौपाने सञ्चालक रहेको यो उद्योग २०७५ मा स्थापना भएको जय अम्बे स्टील्स बाँकेको जानकारी गाउँपालिका वडा नम्बर ५ मा रहेको छ । कम्पनीले हाल रिहिटिङ फर्नेसको प्रयोग गरि आफ्ना उत्पादनहरु गर्दै आएको छ ।

उद्योगले वार्षिक सञ्चालन नाफा मात्रै १ अर्ब ६६ करोड ५६ लाख रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरेको छ । उद्योगले आफ्नो उत्पादनबाट ५३ अर्ब ७० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य लिएको छ। उद्योगको वार्षिक खर्च ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर हुने अनुमान छ।

उद्योगले आफ्नो क्षमता बढाउँदै यसअघि विदेशबाट आयात गर्ने एमएस ब्लेड पनि स्वदेशमा नै उत्पादन गर्न लागेको हो । कम्पनीले क्षमता अभिवृद्धिका लागि गराएको वतावरणिय प्रभाव मूल्याकंन प्रतिवेदनकाअनुसार कम्पनीले आफ्ना विभिन्न उत्पादनहरुमा बृद्धि गराउन लागेको छ ।

कम्पनीले आफ्नो उत्पादन टिएमटी रडलाई थप ३ लाख ५० हजार मेट्रिक टनले बढाउने बताएको छ । त्यस्तै, एमएस बिलेट १ लाख, टोकरी २४ हजार, बाइन्डिङ वायर १२ हजार, गेबियन बक्स २४ हजार, एमएस वायर ४० हजार, एमएस च्यानल, एंगललगायत १ लाख मेट्रिक टनले थप उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु