त्रिभुवन विमानस्थल बन्दको हल्ला: आन्तरिक उडानमा असर नपर्ने, अन्तर्राष्ट्रियलाई पोखरा वा भैरहवा विकल्प



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा भइरहेको भौतिक पूर्वाधार निर्माणका क्रममा विमानस्थल ५ दिनसम्म बन्द हुनसक्ने भएको छ ।

विमानस्थल बन्द हुनसक्ने भएकोले सोही अनुसारको तयारी गर्न आन्तरिक वायुसेवा कम्पनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचित गराएको छ ।

प्राधिकरणले सबै आन्तरिक उडानका वायुसेवा कम्पनीलाई बोलाएरै विमानस्थलमा ट्याक्सी वे विस्तार, आधुनिक टर्मिनल भवन निर्माणसहितका पूर्वाधार बनाउने क्रममा आगामी चैत १९-असार १६ (अप्रिल १–जुन ३० सम्म) बेलुकी ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल नै बन्द गरेर काम सम्पन्न गर्नुपर्ने भन्दै प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले आन्तरिक वायुसेवालाई सूचना जारी गरेको छ । अन्तर्राष्ट्रिय वायुसेवालाई भने यसको जानकारी गराएको त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यात्रुको उडान प्रभावित हुने गरी विमानस्थल बन्द हुँदैन । आन्तरिक उडानका कुनै पनि वायुसेवाको उडान प्रभावित नहुने र विमानस्थल हल्ला गरिएजस्तो पूर्णरुपमा ठप्प नहुने उनले बताए ।

भौतिक पूर्वाधारको काम गर्दा ४–५ दिन आंशिक रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने र त्यसका लागि तयारी अवस्थामा रहन सम्बन्धित वायुसेवालाई जानकारी मात्रै गराइएको उनले बताए ।

‘आन्तरिक वायुसेवाले हालको धावनमार्गको आधाभाग मात्रै सञ्चालन भएको अवस्थामा पनि उडान गर्न सक्ने भएकोले प्रभाव नै पर्दैन । त्यसमा पनि रातीको समयमा मात्रै बन्द गरिने हो’, झाले भने, ‘राति ११ बजेदेखि विहान ७ बजेसम्म बन्द भयो भने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई असर पर्ने हो । उक्त समयमा उडान गर्ने वायुसेवालाई रिसेड्युल गर्न भनिसकेका छौं ।’

आकस्मिक अवस्थामा पोखरा वा भैरहवा विमानस्थल विकल्पको रुपमा प्रयोग गर्न आग्रह गरिएको झाले जानकारी दिए ।
ट्याक्सी वे विस्तार गर्दा ४ मिटर गहिरो खाल्डो खन्नुपर्ने उनले बताए ।

उक्त खाल्डो खन्दा पानी भेटिएको अवस्थामा सोही दिन काम नसकिने भएकोले पनि विमानस्थल नै बन्द हुनसक्ने भनेर अहिलेदेखि सूचित मात्रै गराएको विमानस्थल कार्यालयको भनाइ छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थल बन्द गर्नुपर्ने वा उडान नहुने अस्थामा उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी) मा सूचना जारी गर्नुपर्छ । यसपछि उडान बन्द गर्नुअघि पाइलटहरूका लागि जारी गरिने सूचना नोटाम (नोटिस टु एयरमिन) निकाल्नुपर्छ । हालसम्म यो सूचना जारी भइ नसकेकोले अहिले नै विमानस्थल बन्द हुन्छ भनेर अनावश्यक हल्ला मात्रै भएको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एसियाली विकास बैंकले तयार पारेको गुरुयोजना अनुसार, विमानस्थलको उत्तर–पश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन बनाउने काम भइरहेको छ । विमानस्थलको धावनमार्गको दुवैतर्फ समानान्तर ट्याक्सी–वे (जहाज पार्किङ स्थल) निर्माण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र निर्माण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।


क्लिकमान्डु