साढे ३ करोड ठगेका पञ्चरुपा सहकारीका सञ्चालक र सचिवको बयान: पदाधिकारीले काम गरेनन्, कर्जा नउठ्दा समस्या



काठमाडौं । बचतकर्ताको करिब साढे ३ अर्ब रकम ठग्ने पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य र सचिव पक्राउ परेका छन् ।

अहिलेसम्म पक्राउ परेका सहकारीका सञ्चालक समिति सदस्य कालिकोट जिल्ला रास्कोट नगरपालिका–८ का धिरेन्द्र बराल र संस्थाका सचिव अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–७ का पुरन रावल रहेका छन् ।
उनीहरुले सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् । बयान दिने क्रममा संस्थाको सञ्चालक समिति सदस्य धिरेन्द्र बरालले काठमाडौं पेप्सीकोलास्थित पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थामा आबद्ध रहेको जनाएका छन् ।

संस्थाका अध्यक्ष पुस्कल रिसाल, उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल, कोषाध्यक्ष राकेस जाख्वा, सदस्यहरु म धिरेन्द्र बराल, अर्जुन वस्तकोटी, पुष्प बाबु पाण्डे, राज कुमार शाह र मंगल बहादुर तामाङ रहेको उनले बताएका छन् ।

२०७७ सालमा नवपुष्पाञ्जली नारी चेतना बचत तथा ऋण सहकारी संस्था पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थामा मर्ज भएको उनको भनाइ छ । भुवन सापकोटा र शोभा गिरी नवपुष्पाञ्जली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाबाट आई पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाको पदाधिकारी भएको उनले जनाएका छन् ।

बरालका अनुसार सञ्चालक समितिको अभिलेखिकरण सचिव पुरन रावलले गराउनु पर्नेमा हालसम्म गराएका छैनन् । सञ्चालक समितिका सबै पदाधिकारीहरु सहकारीको सेयर सदस्य हुन् । सेयर सदस्य नै सञ्चालक समितिको पदाधिकारी चयन हुन्छन् ।

पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाको सचिव पुरन रावलले कार्यालय प्रमुख र कोषाध्यक्ष राकेश जाख्वाले कर्जा अधिकृत समेतको जिम्मा लिएका थिए । उनीहरुले उपाध्यक्ष भुवन सापकोटासँग समन्वय गरी काम गर्ने गरी सहकारीको सेयर बितरण, ऋण लगानी, ऋण असुली, बचतकर्ता बनाउने, रकम बचत गर्न लगाउने समेतको सम्पूर्ण जिम्मा लिई काम गरी आएको बरालको दाबी छ।

‘मैले पटक पटक सहकारीको सेयर सदस्य संख्या, बचतकर्ता संख्या, कुल पुँजी, बचत रकम, ऋणधन समेतको हिसाब किताब माग गर्दा नदेखाएका हुन् । सेयर सदस्य संख्या, बचतकर्ता संख्या, कुलपुँजी, बचत रकम, ऋणधन समेतको सम्बन्धमा मलाई यकिन जानकारी छैन’ उनले बयानमा भनेका छन् ।

उपाध्यक्ष भुवन सापकोटा, कोषाध्यक्ष राकेश जख्वा र सचिव पुरन रावलले सहकारीको बैंकिङ लगायतको सम्पूर्ण आर्थिक कारोबार गर्ने गरेको उनको भनाइ छ ।

सहकारीको सम्पूर्ण आर्थिक करोबारको जिम्मा उपाध्यक्ष भुवन सापकोटा, सचिव रावल र कोषाध्यक्ष धाख्वाले गर्दै आएका थिए । बचतकर्ताले बचत गरेको रकम फिर्ता नपाएको गुनासो आउन थालेपछि आफूले पटक पटक फिर्ता गर्न माग गरेकोमा फिर्ता नगरेको र सहकारीको हिसाबकिताब समेत नदेखाएको उनको दाबी छ ।

‘सहकारीको बचतकर्ताको बचत लगायतको कुनै पनि रकमबाट म र मेरो आफन्तको नाममा घरजग्गा लगायत कही कतै लगानी प्रयोग गरी आर्थिक लाभ लिएको छैन । संचालक समितिको अन्य पदाधिकारीहरुले बचत कर्ताको रकम प्रयोग गरी व्यक्तिगत लाभ लिए नलिएको सम्बन्धमा मलाई थाहा छैन । सबै बचत कर्ताहरुले बचत गरेको रकमको साँवा व्याज फिर्ता पाउनु पर्छ । सम्पूर्ण जाहेरवालाहरुले सहकारीको खातामा बचत गरेको रकमको साँवा व्याज फिर्ता पाउनु पर्छ’ उनको बयानमा उल्लेख छ ।

उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल र कोषाध्यक्ष राकेश धाख्वाले सहकारीको हिसाब किताब नदेखाएको कारण बचत कर्ताहरुको बचत रकम फिर्ता गर्न नसकिएको उनको दाबी छ ।
‘बचत कर्ताहरुको बचत रकम फिर्ता गर्ने दायित्व सहकारी संस्था संचालक समितिको हुन आउँछ । जसअनुसार सचिवले सञ्चालक समितिको बैठक बोलाई सहकारीको सम्पूर्ण हिसाब किताबको जानकारी गराई, संचालक समिति बसी कुन बचत कर्ताले कति बचत रकम फिर्ता पाउनु पर्ने हो, हिसाब गरी सोही अनुसार बचत कर्ताको बचत रकम फिर्ता गर्न सकिन्छ’ बयानमा उल्लेख छ ।

सचिवलाई पटक पटक सञ्चालक समितिको बैठक बोलाई हिसाब किताब देखाउन अनुरोध गर्दा हालसम्म बैठक नबोलाएका तथा हिसाबकिताब नदेखाएको उनको दाबी छ ।

सहकारीका सचिव पुरन रावलले पनि बयान दिएका छन् । बयानका क्रममा उनले बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने दायित्व आफू लगायत सहकारी संस्था संचालक समितको पदाधिकारीको भएको बताएका छन् । उनका अनुसार संस्थामा ११५ जना सेयर सदस्य छन् । कुल पुँजी १० करोड ५० लाख रहेको संस्थामा जसमा सेयर रकम ९० लाख, संचालकको बचत रकम ६ करोड, अन्य बचत रकम करिब ३ करोड ६० लाख रहेको उनले बयानमा उल्लेख गरेका छन् । उक्त रकम मध्ये सेयर सदस्य तथा बचतकर्ताले गरी बिभिन्न शीर्षकमा करिब ८ करोड रुपैयाँ कर्जा लिएको, जेष्ठ बचत तथा ऋण सहकारी संस्था गोंगबु काठमाडौं, जनमुखी बहुउद्देश्यी सहकारी संस्था चुनदेवी भक्तपुर, राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखा र पेप्सीकोला शाखा, नेपाल बचत तथा ऋण केन्द्रीय संघ चाबहिल शाखा, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, कामना सेवा बिकास बैंक समेतमा सहकारीको नाममा खाता रहेको उनले जनाएका छन् । ति खाताहरुमा कति रकम छ भन्ने आफुलाई थाहा नभएको उनको भनाइ छ ।

अध्यक्ष रिसाल, उपाध्यक्ष सापकोटा, कोषाध्यक्ष धाख्वा, सचिव रावल र सहकारीको मेनेजर सफल उप्रेतीले सहकारीको बैंकिङ लगायतको सम्पूर्ण आर्थिक कारोबार गरेको जनाएका छन् ।
चेक दिँदा चेकमा उल्लेख भएको रकम नपुगेकाले अहिले सहकारी कालोसूचीमा परेको छ । सहकारी कालोसूचीमा परेपछि बचतकर्ता त्रसित भई आधाआधि बचत कर्ताले बचत रकम फिर्ता लगेको, कर्जारकम असुल नभएर सहकारीमा आर्थिक अभाव भएको बयानमा उल्लेख छ । बचत रकम फिर्ता गर्ने अबधि पुगिसकेका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेको सचिवले स्वीकारेका छन् । ‘सहकारीको कर्जा रकम बिस्तारै असुल हुँदैछ, सबै बचतकर्ताहरुको बचत रकमको साँवा व्याज बिस्तारै फिर्ता गर्छौ’ रावलको बयानमा उल्लेख छ ।


क्लिकमान्डु