‘ट्रान्सफ्याटी एसिड’लाई प्रतिबन्ध लगाएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा नेपालको प्रशंसा



काठमाडौं । नेपालले खानामा ‘ट्रान्सफ्याटी एसिड’ लाई प्रतिबन्ध लगाएपछि विश्व स्वास्थ्य संगठनले बधाई दिएको छ । संगठनले बुधबार सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै कानुनमार्फत खाद्य आपूर्तिमा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटी एसिडको स्तरलाई सीमित गरेकोमा नेपाललाई बधाई दिएको हो ।

‘ट्रान्स फ्याटी एसिड उन्मूलन गर्नु भनेको हृदय रोगबाट अकाल मृत्युलाई रोक्नु हो,’ संगठनको दक्षिण पूर्वी क्षेत्रीय निर्देशक साइमा वाजेदले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाल सरकारको यो कदमले सर्वसाधारणलाई ठूलो अकाल मृत्युबाट जोगाउन सहयोग गरेको छ ।’

दक्षिण–पूर्वी एसिया क्षेत्रमा गैरसंक्रामक रोगको रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै संगठनले अन्य उपायहरू सहित राष्ट्रिय खाद्य आपूर्तिबाट ट्रान्स फ्याटी एसिड उन्मूलन गर्न विश्वभरका मुलुकहरुसँग सहकार्य गर्दैआएको जनाएको छ ।

कानुनमार्फत खाद्य आपूर्तिमा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटी एसिडको स्तरलाई सीमित गरेर नेपालले झण्डै ८० प्रतिशत जनतालाई अकाल मृत्युको जोखिमबाट जोगाएको संगठनले जनाएको छ ।

संगठनका अनुसार विश्वव्यापी रूपमा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटी एसिड सेवनका कारण प्रत्येक वर्ष ५ लाख ४० हजार सर्वसाधारणको मृत्यु हुने गरेको उल्लेख गरेको छ । उच्च ट्रान्सफ्याट सेवनले हृदय रोगबाट मृत्युको जोखिमलाई उल्लेखनीय रूपमा बढाउने गरेको छ । ट्रान्स फ्याटले मानव स्वास्थ्यलाई कुनै पनि प्रकारको स्वास्थ्य लाभ गर्दैन ।

डब्लुएचओले दक्षिण पूर्वी एसिया क्षेत्रमा बर्षेनी ९० लाख सर्वसाधारणको गैरसंक्रामक रोगबाट मृत्यु हुने गरेको जनाएको छ । यसमध्ये ६९ प्रतिशत मुटु रोगबाट पीडित भएर सर्वसाधारणले अकालमा मृत्युवरण गर्न बाध्य भएको बिज्ञप्तीमा उल्लेख छ ।

संगठनले सन् २०१८ मा औद्योगिक रुपमा उत्पादित ट्रान्स फ्याटी एसिड उन्मुलन गर्न ६ वटा रणनीति गाइड कार्यान्वयनमा ल्याएको थियो । जसअनुसार सन् २०२२ सम्ममा थाइल्याण्ड, भारत र वंगलादेशले खाद्यान्न आपूर्तिमा ट्रान्स फ्याटी एसिड उन्मुलनको पक्षमा विभिन्न नीति तथा कानून कार्यान्वयनमा ल्याएका थिए । यसै क्रममा श्रीलंकाले २०२३ मा नियमावली जारी गरेको थियो भने नेपालले फेब्रुअरी ८ तारिखमा ट्रान्स फ्याटी एसिडसम्बन्धी कानुन जारी गरेको संगठनले जनाएको छ ।

ट्रान्स फ्याटी एसिड प्रतिवन्ध हुनु संगठनको उद्देश्यहरुमध्ये एक भएको संगठनले जनाएको छ । यसले गर्दा हृदय रोगबाट हुने मृत्यु दरलाई न्यूनीकरण गर्न सहयोग गर्छ ।

ट्रान्स फ्याटी एसिडसम्बन्धी नेपालले ल्याएको कानुनले आगामी सन् २०२५ सम्ममा अकाल मृत्युको दरलाई घटाउनुका साथै आगामी सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्युदरलाई एक तिहाईमा झारेर दिगो विकासका लक्ष्यहरु भेट्टाउन सहयोग गर्ने संगठनको विश्वास छ ।


क्लिकमान्डु