चरम समस्यामा नेपाल एयरलाइन्स, तीन महिनादेखि न्यारोबडी थन्किँदा २ अर्ब गुग्यो



काठमाडौं । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज तीन महिनादेखि उडानविहीन छ । इन्जिनमा समस्या भएर काठमाडौं विमानस्थलमै दुई महिना थन्किएको १५८ सिट क्षमताको ९एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज इजरायल गएको १ महिना भैसकेको छ ।

एयरबसको ए३२०–२०० सिरिजको यो जहाज पछिल्लो एक महिनादेखि इजरायलमै छ । इन्जिन परिवर्तन गर्न गएको जहाज उतै थन्कियो तर छिटो गर्न निगम व्यवस्थापन अक्षम रह्यो । इजरायलको एरो स्पेस इन्ड्रस्टिजमा गएर बसेको यो जहाज अझै कहिले फर्कने टुंगो छैन ।

निगमको यो जहाज नउड्दा यसले दैनिक कमाउने औषत १ करोड ६ लाख रुपैयाँको आम्दानी गुमेको छ । निगमकै एक तथ्यांकअनुसार यसको आम्दानी औषतमा मासिक ६६ करोड रुपैयाँ हुन्थ्यो ।

मासिक ६६ करोडका दरले गुमेको निगमको आम्दानी तीन महिनामा २ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ । वायुसेवा निगमकै व्यापारिक योजनाअनुसार यसको न्यारोवडी जहाजको मासिक आम्दानी ७७ करोड रुपैयाँ हुने उल्लेख छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा वायुसेवा निगमले न्यारोबडीबाट मात्रै निगमले ९ अर्ब २४ करोड रुपैयाँ आम्दानी अनुमान गरेको छ । यसमध्ये एउटा जहाजले कमाउने आम्दानी करिब साढे ४ अर्ब रुपैयाँ हुन्छ । यो तथ्यांकअनुसार निगमले मासिक आम्दानी ७७ करोड रुपैयाँ कमाउन सक्छ । यही अनुमानित आम्दानी हेर्ने हो भने निगमले एउटा न्यारोबडी उडाउन नसक्दा तीन महिनामा २ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गुमेको देखिन्छ ।

यो वायुसेवाले कमाएर उडान गर्न नपाउनु एउटा समस्या हो भने निगमको अन्तर्राष्ट्रिय उडानको तालिकासमेत कटौती हुँदै गएको छ । न्यारोबडी जहाज लुम्बिनी नभएका कारण निगमको दैनिक २ वटा हुने दिल्ली उडान एउटामा मात्रै सीमित भएको छ।

निगमका अन्य अन्तर्राष्ट्रिय उडानका गन्तव्य, मलेसिया, दोहा, दुबई, बैंककसहितका गन्तव्यको उडान तालिकासमेत प्रभावित भएको छ । यो जहाजले दैनिक ३ वटा उडान गर्ने गरेको थियो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडले एक महिना अगाडि इजरायल लगिएको यो जहाजको इन्जिन परिवर्तन गरेर आउनुपर्ने थियो ।

‘जनवरी ११ मा इन्जिन चेन्ज गर्न गएको यो जहाज छिट्टै फर्कनुपर्ने भए पनि प्राविधिक कारणले ढिलाइ भएको हो,’ उनले भने, ‘जहाज कहिले फर्कन्छ भन्ने विषयमा इन्जिन निर्माता कम्पनीले जानकारी नदिएकोले निगमको उडान तालिकासमेत प्रभावित भइरहेको छ ।’

इन्जिन परिवर्तन गरेर तुरुन्तै काठमाडौं आउने गरी उक्त जहाज गएको थियो । निगमले इन्जिन मर्मतको ठेक्का इजरायलको एरो स्पेसलाई दिएको छ । सोही कारण निगमले सोही कम्पनीको इन्जिन भाडामा लिएर जहाजमा भएको चाहिँ मर्मत गर्न दिएको थियो ।

६ महिनाभन्दा बढी समय उडाए पछि पुनः भाडाको इन्जिन पनि मर्मत गर्नुपर्ने भएका कारण निगमले एरो स्पेसबाट ल्याएको इन्जिन मर्मत गर्न उतै गयो । निगमको इन्जिन भने एरोस्पेसमै बनिरहेको छ र अहिले राखिरहे(भाडा) को इन्जिन फेरेर फर्कनु पर्ने थियो ।

निगमले एरोस्पेसँग गरेको सहमतिअनुसार भाडाको इन्जिन लिने र उसैले मर्मत गरिदिने भन्ने थियो । उक्त सहमति अनुसार एक साताभित्रै मर्मत गरेर दिनुपर्ने इन्जिनको विषयलाई निगम व्यवस्थापनले कार्यान्व्यन गराउन नसक्दा जहाज लामो समयसम्म उड्न नसकेको हो ।

अपेक्षाअनुसार निगमका जहाजले कमाउन नसक्दा ऋणदाता कम्पनी नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई किस्ता तिर्न सकेको छैन । निगमले दुई कोषसँग लिएको ३४ अर्बको ऋण बढेर ४७ अर्ब रुपैयाँ पुगिसकेको छ । नियमित किस्ता तिर्न नसक्दा ऋणतादा दुबै कोष निगमसँग असन्तुष्ट छ । दुबै कोष निगमको जहाज लिलाम गरेरै भए पनि ऋण असुल गर्नुपर्ने निष्कर्षमा पुगिसकेका छन् । तर, सरकार जमानी बसेर दिएको ऋण भएकोले सरकारकै निर्णय बिना ऋणदाता दुबै कोषले एकलौटी काम गर्न सक्दैनन् ।

निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीले काम गर्न नसकेको, प्रतिवद्धता पूरा नगरेको र मन्त्री निर्देशन अनुसार काम नभएको भन्दै पर्यटन मन्त्री सुदन किराँती असन्तुष्ट छन् । निगम नेतृत्वसँग असन्तुष्ट रहेका मन्त्री राईले निगमकै सदस्य विक्रम राईलाई उपाध्यक्ष नियुक्त गरेका छन् ।

राईलाई कार्यकारी उपाध्यक्ष बनाउने र अधिकारीलाई अध्यक्षको मात्रै जिम्मेवारी दिने गरी मन्त्रीले उपाध्यक्ष नियुक्ति गराएका हुन् । राईलाई कार्यकारी उपाध्यक्ष बनाउने विषयले अधिकारीको पद भने धरापमा पर्न गएको छ ।


राजु बास्कोटा