ईभीमा आक्रामक बन्दै टेस्लाको प्रतिस्पर्धी विनफास्ट, भारतमा प्रवेश



काठमाडौं । एउटा सानो नाफा नकमाउने विद्युतीय गाडी निर्माता कम्पनी अहिले विश्वकै तेस्रो बढी भ्याल्यु भएको गाडी निर्माता कम्पनी बनेको छ ।

गत वर्ष टेस्ला र टोयटापछि यो कम्पनीले स्थान हासिल गरेको छ, जहाँ जेनेरल मोटर्स र फोर्ड मोटरजस्ता विरासत भएका कम्पनीहरु पछि छुटेका छन् । यो कम्पनीको सेयर अमेरिकी सेयर एक्सचेन्ज नासड्याकमा सूचीकृत हुन साथै ७ सय प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

र अहिले यो कम्पनीले आफूलाई विस्तार गर्दै भारतीय बजारदखि अन्य ठूला बजारहरुमा पनि उपस्थिति जनाएको छ ।

यो कम्पनी हो, विनफास्ट अटो । सन् २०१७ मा सुरु भएको यो कम्पनीले भर्खरै सन् २०२१ बाट मात्र विद्युतीय गाडी बनाउन थालेको हो । कम्पनीको पछाडि भने भियतनामको सबैभन्दा ठूलो व्यापारिक घराना विनग्रुप रहेको छ ।

आकारमा सानो भए पनि विनफास्टले टेस्लालाई आफ्नो प्रतिस्पर्धी मानेर अघि बढिरहेको छ । तीव्र गतिमा विस्तार भइरहेको यो कम्पनीले एलन मस्कको स्वामित्वमा रहेको टेस्लाको बजार हिस्सा ५० प्रतिशतभन्दा धेरै रहेको अमेरिकी बजारमा पनि आफ्नो हस्तक्षेप गर्ने महत्त्वकांक्षी योजना राखेको छ ।

हाल उत्पादन कारखाना भियतनामकै हाई पोंगमा रहेको कम्पनीले गत जुलाई २८ मा आफ्नो पहिलो अमेरिकी कारखाना खोल्ने घोषणा गरेको थियो । उत्तर क्यारोलाइनामा उद्योग सञ्चालन गर्ने जनाएको कम्पनीकाअनुसार वार्षिक रुपमा त्यहाँबाट १ लाख ५० हजार गाडीहरु उत्पादन हुनेछन् ।

त्यसै गरी कम्पनीले आगामी फेब्रुअरी २५ मा भारतको टुथुकुडीमा २ बिलियन अमेरिकी डलर लगानीको विद्युतीय गाडीहरुको एकीकृत सुविधा दिने ठाउँको सुरुवात गर्ने समारोहको आयोजना गरेको छ ।

विनफास्टले सन् २०२३ मा ३४ हजार ८५५ वटा विद्युतीय गाडीहरु बेचेको थियो । सन् २०२१ मा सुरु भएको यो विद्युतीय गाडी निर्माता कम्पनीले हालसम्म ४२ हजार २९१ विद्युतीय गाडीहरु बिक्री गरेको छ ।

विनफास्टले आफ्नो रणनीतिक चालका रुपमा भारतीय बजारमा प्रवेश गरेको छ । विद्युतीय गाडीको प्रयोग कम तर त्यसतर्फ बजार रुपान्तरण हुँदै गरेको भारतीय बजारमा प्रवेश गर्नुले कम्पनीलाई सहज हुने बताइएको छ ।

भारतीय बजारमा प्रवेश गरेको कम्पनीले दक्षिण भारतको तमिलनाडुका उद्योग खोल्नुका साथै भारतमा देशैभरमा डिलरसिप नेटवर्कको पनि सुरुवात गर्न चासो देखाइरहेको छ ।

भारतमा उपभोक्ताहरुमाझमा बढ्दै गएको ईभीको प्रयोग र त्यसप्रतिको चासोका कारण विनफास्टले भारतीय बजारमा राम्रोसँग आफ्नो उपस्थिति स्थापित गर्ने अवसर छ ।

तामिलनाडुमा आफ्नो उत्पादन कारखाना भएसँगै कम्पनीले दक्षिण एसियाली बजारलाई पनि आफ्नो बजारकै रुपमा विस्तार हुन सक्ने अवस्था छ । कम्पनीले निर्यात गरेर दक्षिण एसियाली देशमा पनि गाडी बिक्री गर्ने तयारी थालेको छ ।

विनफास्ट र टेस्लाबीच तुलना गरिरहनका लागि दुवै ब्राण्ड बराबर ब्राण्ड भ्याल्यु भएका ब्राण्ड होइनन् । तर, यो कम्पनीका गाडीहरु टेस्लाका गाडीहरुको तुलनामा सस्तो विकल्प रहेको देखिएका छन् ।

भारतीय बजारमा यसको उपस्थितिसँगै यसले सकरात्मक चर्चा पनि कमाएको छ । विश्लेषकहरुकाअनुसार यो कम्पनीले टेस्लाले जस्तो एक एक ग्राहक नभई वितरण रणनीतिमार्फत विभिन्न बजारमा गाडी बेच्ने गरेको छ । भारतमा पनि यसले त्यस्तै रणनीतिबाट काम गर्ने बताइएको छ ।

कम्पनीले भारतमा रहेका आफ्ना कारखानाबाट उत्पादन सुरु गर्दा पहिले रहेकै दुई वा तीन विद्युतीय एसयुभीको उत्पादनबाट सुरु गर्ने बताइएको छ । कम्पनीको पहिलो मोडल भिएफ ई ३४ थियो, जुन एउटा कम्प्याक्ट एसयुभि क्रसओभर हो । त्यस्तै कम्पनीले भिएफ इ ३६, भिएफ ६ र भिएफ ७ जस्ता मोडलहरु पनि निर्माण गरेको छ, जुन भारतमा पनि उत्पादन गरिने बताइएको छ ।

विश्वकै ठूलो अर्थतन्त्रका रुपमा विकास भइरहेको भारतमा विनफास्टले यस्तो अवस्थामा प्रवेश गरेको छ, जतिबेला यहाँको ईभीको उद्योग निकै सानो छ । सन् २०२३ मा कुल यात्रुबहाक गाडीहरुमध्येमा २.३ प्रतिशत मात्रै ईभी बिक्री भएका छन् ।

तर भारतीय बजार पनि विस्तारै ईभीतर्फ जाँदै गरेको देखिएको छ । अहिले भारतीय बजारमा टाटा मोटर्सले विद्युतीय गाडीको बजारको ८० प्रतिशत हिस्सा ओगटेको छ भने चिनियाँ एमजी मोटर र भारतकै महिन्द्रा एण्ड महिन्द्रा र अन्य कम्पनी रहेका छन् । सन् २०३०मा सय बिलियनको बजार हुने अनुमान गरिएको भारतीय ईभी बजारमा विनफास्टले आफ्नो उपस्थितिलाई स्थापित गर्दै जान सकेमा बजारको ठूलो हिस्सा लिन सक्ने छ ।

विनफास्ट भारतमा अपरेट हुने विद्युतीय मात्र गाडी उत्पादन गर्ने पहिलो कम्पनी हो । यसले गर्दा पनि कम्पनीलाई अवसर छ । भारतमा टेस्लाजस्ता कम्पनीहरुको प्रवेशको हल्ला चलिरहँदा विनफास्टले भारतीय बजारमा ईभीमा आफ्नो दबाब सिर्जना गर्न सक्ने ठूलो ठाउँ छ ।


क्लिकमान्डु