क्रिकेटमा नेपालले क्यानडालाई हरायो



काठमाडौं । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ ।

क्यानडाविरुद्धको शनिबार भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका तीन खेलाडीले अद्र्धशतकीय पारी खेलेका थिए ।

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए । उनले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे । यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाएका थिए । उनले दुई छक्का र सात चौका हानेका थिए । यसैगरी अनिलकुमार साहले तीन छक्का र सात चौकासहित ५० रनको योगदान दिएका थिए । भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाएका थिए ।

बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानाडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्का हाने । यस्तै नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाउन सफल भएका थिए ।

बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिन सफल भएका थिए । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानाडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।


क्लिकमान्डु