समस्याग्रस्त चिनियाँ अर्थतन्त्रलाई लुनार नयाँ वर्षले सुधार्ला ?



एजेन्सी । २०२४ को सुरुवात भएको दुई महिनामात्रै भएको छ । तर, चीनको अर्थतन्त्रको अवस्था भने निरन्तर नाजुक बन्दै गएको छ ।

गत बिहीबार सार्वजनिक गरिएका तथ्यांकअनुसार चीनमा जनवरी महिनामा गत वर्षको सोही अवधिको तुलनामा मूल्यमा ०.८ प्रतिशतको कमी आएको छ ।

चीनको अर्थतन्त्र पछिल्लो समय निरन्तर संकुचनमा पर्दै गएको छ । वस्तु तथा सेवाहरुको मूल्यवृद्धि ऋणात्मक भइदिँदा चीन पछिल्लो १५ वर्षकै सबैभन्दा ठूलो आर्थिक संकुचनमा परेको छ ।

गत जुलाईबाट नै चीनमा वस्तुहरुको मूल्य स्थिर रहने वा झन् घट्दै जाने अवस्था देखिएको छ । सरकारले चीनमा लागु गरेको शून्य कोभिड नीतिलाई हटाएको एक वर्ष भए पनि उपभोक्ताहरुले खर्च गर्ने कुरामा भने विशेष सतर्कता अपनाएको देखिएको छ । दैनिक उपभोग्य वस्तुदेखि सम्पत्तिलगायतका सम्पूर्ण वस्तुहरुको उपभोग घटेको छ ।

चीनको अर्थतन्त्रको वृद्धिलाई विगतबाट नै गति दिइरहेको त्यहाँको उपभोग्य क्षमता नै स्थिर तथा विगतको तुलनामा घट्दा यसले समस्या सिर्जना गरेको छ । चीनको कुल ग्राहस्थ्र्य उत्पादनलाई वृद्धि गराउने मुख्य पक्ष त्यहाँको ठूलो बजार र उपभोग्य क्षमता रहेको थियो ।

चीनमा अहिले आम्दानीको वृद्धि पनि निकै सुस्त भएको छ । उच्च बेरोजगारीले केही कमदारहरुको पारिश्रमिकको दरलाई पनि झन् झन् कम बनाउँदै लगेको छ।

केही अर्थशास्त्रीहरु चीनमा लगातारको कम मागले विश्वभर असर पार्न सक्ने बताउँदै आएका छन् । चीन आफ्नो अर्थतन्त्रलाई सुधार्नका लागि अन्य देशबाट हुने मागमा आश्रित हुनुपर्ने सम्भावना रहेकाले यसले समग्र विश्वलाई नै असर पार्ने अर्थशास्त्रीहरुको बुझाइ छ ।

चिनियाँ नीति निर्माताहरुले विशेष गरि विद्युतीय गाडी र सोलार प्यानटलजस्ता हरित प्रविधिका उत्पादनहरुहरु हुने औद्योगिक उत्पादनलाई अन्य देशमा बिक्री गर्नतर्फ जोड दिएर अर्थतन्त्रलाई केही राहत दिन खोजेका छन् ।

चिनियाँ बैंकहरुले घरजग्गाको कारोबारका लागि दिने ऋणलाई कम गरेर उत्पादन मुलुक क्षेत्रमा दिने कर्जालाई वृद्धि गराइरहेका छन् । निर्यातमा जोड दिइरहँदा यसले विश्वभरमा नै व्यापारको शुल्कलाई असर गर्न सक्छ ।

यसका केही संकेतहरु पनि देखिएका छन् । बेलायतले अहिले नै चिनियाँ स्काभेटरहरु कम मूल्यमा बिक्री भएर स्थानीय उत्पादनलाई असर गरिरहेको छ कि भन्ने बारेमा अनुसन्धान थालेका छन् । सँगै युरोपेली संघले पनि चिनियाँ विद्युतीय गाडीहरुमाथि सहुलियत बिरोधी अनुसन्धान सुरु गरेको छ, जसले चीनमा भने त्रास सिर्जना गरेको छ ।

हङकङस्थित सम्पत्ति प्रबन्धक कम्पनी पिनप्वाइन्टका प्रमुख अर्थशास्त्री झिवेई झांगले भनेका छन्, ‘उपभोक्ताहरुमाझ अपस्फीतिको अपेक्षाको जोखिमबाट बच्न चीनले छिटो र आक्रामक रुपमा कदम चाल्नु आवश्यक छ ।’

चीनको केन्द्रिय तथ्यांक विभागले भने उपभोक्ता मूल्यमा हरेक वर्ष भइरहेको मूल्यको गिरावटलाई आशिंक रुपमा चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को छुट्टिले प्रभाव पार्ने गरेको छ । किनभने यो दिन परम्परागत रुपमा नै चीनमा बढी खर्च हुन्छ । गत वर्ष सन् २०२३ मा यो जनवरी महिनामा परेको थियो ।

यस वर्ष भने फेब्रुअरी १० बाट चिनियाँ नयाँ वर्ष सुरु भएको छ ।

विश्लेषकहरुको अहिलेको ध्यान के चीनको नयाँ वर्षमा ‘ड्रागन’ले सुस्ताइरहेको चिनियाँ अर्थतन्त्रलाई उकास्न न्यानो पन प्रदान गर्न सक्छ कि सक्दैन भन्ने रहेको छ।

विशेष गरि चिनियाँ अर्थतन्त्रमा अहिले खाद्य मूल्यहरु निरन्तर घटिरहेका छन् । जनवरीमा यसमा ५.९ प्रतिशतको कमि आएको थियो । खाद्य मूल्यहरुमा कम्तिमा क्षणिक भए पनि सुधार हुने अपेक्षा गरिएको छ किनभने चाडपर्वको समयमा चीनमा मानिसहरु जम्मा हुने र भोज गर्ने गर्छन् । खाद्य मूल्यमा पनि सबैभन्दा धेरै मूल्य घटेको बस्तु सुँगुरको मासु रहेको छ, जसमा १७ प्रतिशतले मूल्य ह्रास भएको छ ।

चीनमा सुँगरको मासुको माग महिनौंदेखि सुस्त रहेको छ । चिनियाँ नयाँ वर्षमा विगतमा सुँगुरको मासुको बिक्री बढ्ने गरेको थियो । तर, अहिले निरन्तरको मूल्य ह्रासका कारण के हुन्छ भन्ने सक्ने अवस्था छैन । यो निरन्तर घट्दै गएको छ ।

खाद्य उत्पादनको उपभोग उच्च हुने समयमा पनि चीनमा यीनै वस्तुहरुको मूल्यमा निकै कमी आएको छ । बेइजिङको चिनमिन बजारका सुँगुरको मासु बिक्रेता वुऐज्हेनकाअनुसार नयाँ वर्षको नजिक हुँदा पनि मूल्य बढाउन सक्ने अवस्था छैन । विगत दुई दशकबाट सुँगुरको मासु बिक्रेता रहेकी उनी भन्छिन्, ‘नयाँ वर्ष भए पनि अहिले मूल्य बढाउन सक्ने अवस्था छैन । माग नै भएकाले मूल्य मात्रै बढाएर माग बढ्ने अवस्था पनि त हुँदैन ।’

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा उपभोग कम हुनुले विश्वलाई नै महत्त्वपूर्ण सन्देश पठाइरहेको अर्थशास्त्रीहरुले बताएका छन् । चीनमा मानिसहरुको तलब कम हुँदा घरपरिवारमा असर पर्नु र त्यसले उपभोक्ता मूल्यमा ह्रास आउनुलाई त प्रमाणि गरेको छ । तर, यसले दीर्घकालिन असर कस्तो गर्छ भन्ने तर्फ भने ध्यान दिनुपर्ने बताइन्छ ।

चीनले आफ्नो देशभित्र नै उपभोग कम भएको खण्डमा निर्यातमा जोड गर्ने र अन्य देशमा भइरहेका स्थानीय उत्पादनभन्दा कम मूल्यमा वस्तुहरु उपलब्ध गराउन सक्ने भएकाले चिनियाँ अर्थतन्त्रको प्रभाव विश्वभरमा नै हुने अर्थशास्त्रीहरुले बताएका छन् ।

नयाँ वर्षको अवसरमा चिनियाँ अर्थतन्त्रमा केही राहत हुने सम्भावना त छ । किनकी विगतमा पनि चिनियाँ नयाँ वर्षमा मानिसहरुले धेरै खर्च गर्ने गरेका थिए । चीनमा नयाँ वर्षको समयमा प्रायः उद्योग तथा कार्यालयहरु १० दिनका लागि बन्द हुन्छन् । हेनरिच फाउन्डेसनकाअनुसार चिनियाँ नयाँ वर्षमा अर्बौंको खर्च हुने गर्छ । सन् २०१६ मा चीनमा नयाँ वर्षको समयमा खुद्रा बिक्रेता तथा रेस्टुरेन्टहरुले १ खर्ब १० अर्ब रुपैयाँ संकलन गरेको चीनको वाणिज्य मन्त्रालयले जनाएको थियो ।

चिनियाँ नयाँ वर्षमा माग बढी हुने भएकाले यस वर्ष पनि चीनको समस्याग्रस्त अर्थतन्त्रलाई केही राहत हुने देखिएको छ । तर, क्षणिक सुधार भए पनि चीनको अर्थतन्त्र निरन्तर तनावमा छ । यसका कारणहरु पनि दीर्घकालिन रहेका छन् ।
विगतमा चीनमा देखिएका मन्दीको अवस्थामा जस्तो यसपटक बेइजिङले ठूला ठूला प्रात्साहकका प्याकेजहरुका साथ कदम चालेको छैन ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २००० को सुरुमा चीनमा भएको तीव्र वृद्धिमा नभएर उच्च गुणस्तरीय आर्थिक वृद्धिमा ध्यान दिने बताएका छन् ।

चिनियाँ अर्थतन्त्रले अबको दिनमा कस्तो मोड लिन्छ ? यसका लागि सबैको ध्यान दुई कुरामा अडिएका छन् । चीनको वार्षिक संसदीय बैठक, जुन मार्च ५ मा सुरु हुन्छ । सन् २०२४ का लागि चीनले आर्थिक वृद्धि लक्ष्य ५ प्रतिशत हुने अपेक्षा राखेको छ ।

तर, त्यो लक्ष्य पूरा नभएको खण्डमा भने पुनः चिनियाँ अर्थतन्त्रलाई असाधारण असर पर्ने छ । चिनियाँ मापदण्डअनुसार उनीहरुका लागि यी पक्षहरु सामान्य देखिएका छन् । तर, विश्वकै ठूलो अर्थतन्त्र रहेको चीनमा यस्तो अवस्था सिर्जना हुँदा यसलाई सामान्य लिन नसकिने अर्थशास्त्रीहरु बताउँछन् ।


क्लिकमान्डु