आन्तरिक बजार हस्तक्षेप गर्न ४ वटा एटीआर भाडामा लिने निगमको तयारी



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निमगले आन्तरिक उडानको बजार हस्ताक्षेप गर्न ४ वटा एटीआर ७२ जहाज भाडामा लिने तयारी गरेको छ ।

७२ सिट क्षमताको जहाज ल्याएर निगमले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने योजना अगाडि सारेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्लिकमान्डुलाई जानकारी दिए ।

‘प्रशस्त सम्भावना रहेको र जहाज उडाएर नाफा पनि गर्न सक्ने गन्तव्यमा जाँदा बजारमा राम्रो सन्देश जान्छ’ उनले भने।

अधिकारीका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा र आन्तरिकमा ४ वटा जहाज भाडामा लिने तयारी गरेको छ । यसका लागि अन्तर्राष्ट्रिय उडानको लागि एयरवसको ए३२०–२०० सिरिजको न्यारोबडी जहाज लिन निगम सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ । समितिले प्रतिवेदन तयार पारिसकेकोले अब बोर्डबाटै निर्णय हुनमात्रै बाँकी रहेको छ ।

निजी क्षेत्रसँगको प्रतिस्पर्धा, नाफामूलक गन्तव्यमा सेवा दिने र आम नेपालीको निगमप्रतिको सकारात्मक बुझाइलाई थप प्रभावकारी बनाउन आक्रामक बजार विस्तारको रणनीतिअनुसार आन्तरिक उडानको जहाज भाडामा लिन खोजिएको निगमको भनाइ छ ।

आन्तरिक उडानको लागि एटीआर जहाज भाडामा लिने विषयमा निगमकै उपप्रवन्ध निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा एक समिति पनि बनेको छ । उक्त समितिले दिएको प्रतिवेदनका आधारमा निगमले एटीआर जहाज भाडामा ल्याउने विषयमा निर्णय गर्ने पनि उल्लेख छ ।

वायुसेवा निगमका कार्यसमिति सदस्य किशोरकुमार प्रधानकाअनुसार निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज अभावकै कारणले उडान विस्तार गर्न पाएको छैन । जहाज बढाउँदै उडान गन्तव्य पनि विस्तार गर्ने रणनीतिअनुसार भाडामै भए पनि जहाज ल्याएर सेवा सुरु गर्दै गर्ने पनि प्रधानले बताए । प्रधानले भने ‘निगमले अब अन्तर्राष्ट्रिय र आन्तरिक उडान दुबैका लागि भाडामा जहाज लिएर उडान गर्ने भएको छ ।’ बजार बनेपछि र नाफा गर्न थालेपछि ती गन्तव्यमा नयाँ जहाज नै किनेर उडान गर्न सरकारलाई दबाब पर्ने बुझाइ पनि निगमका अधिकारीको छ ।

निगमले आन्तरिक उडानमा तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने प्रक्रियालाईसमेत अगाडि बढाइरहेको छ । जहाज अभावले आन्तरिक गन्तव्यमा कमजोर बनेको निगम जहाज बढाउँदै बजार विस्तारको रणनीतिमा छ । निगमले ट्वीनअटर खरिद गर्न मागेको प्रस्तावमाथि मूल्यांकन भइरहेको छ ।

निगमकाअनुसार तीनवटा कम्पनीको आवेदनमाथि प्राविधिक प्रस्तावमाथि मूल्यांकन भइरहेको छ । निगमले मागको आवेदनमा ट्वीअटर बिक्री गर्न भारतको हिस्दूस्थान एरोनोटिकल, क्यानडाको डे ह्याभिल्याण्ड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्ड्रस्ट्रिडले प्रस्ताव पेस गरेका छन् । यी तीनवटै कम्पनीको प्रस्ताव मूल्यांकन गरेर उपयुक्त कम्पनीका विषयमा निर्णय गर्ने पनि निगमको भनाइ छ ।


क्लिकमान्डु