छिमेकीले रिसाउँदै कसाः भन्थे, शान्तरत्नले त्यसैलाई ब्राण्ड बनाए
पूर्णिमाको दिन बनाइने बउलको माग उच्च, एउटैको मूल्य २० हजार
काठमाडौं । नेवारी समुदायमा रिसाएर कसैले कसाः भन्यो भने तपाईंले कसैलाई डिस्टर्ब गरिरहनुभएको छ वा ऊ तपाईंको कामले रिसाइरहेको छ भन्ने बुझ्न पर्छ । कसाः अर्थात रिसाएर गरिएको सम्बोधनात्मक शब्द ।
काठमाडौंको बौद्ध घर भएका शान्तरत्न शाक्यलाई पनि अक्सर छिमेकीले कसाः भन्थे । सुरुमा उनलाई ननिको लाग्यो । बाउ/बाजेदेखि नै कसाः भन्दै आएका छिमेकीले उनलाई पनि उही नामले सम्बोधन गरेका थिए । उनकै शब्दमा भन्ने हो भने उनी आफ्नो वास्तविक नाम भन्दा बढी कसा: बाट परिचित थिए ।
किन त ?
जान्न हामी २० वर्ष पहिलेको पाटनका गल्लीहरु उनीसँगै चहार्नुपर्छ । जहाँ उनले १२ वर्षको उमेरदेखि काँसका भाँडामा हतौडा हान्न थाले ।
शान्तरत्नको परिवार ललिपुरको पाटनमा बस्थ्यो । पुर्ख्यौली घरमा उनका बुबा र बाजेले काँसको भाँडा बनाउने काम गर्थे । दिनभर उनको घरबाट आउने टाकटुक आवजसँग अभ्यस्त थिए छिमेकी । तर रातको समयमा पनि उनको घरबाट उस्तै आवाज आउन थालेपछि मस्त निद्रामा रहेका छिमेकीको निन्द्रा बिथोलियो ।
‘कसाः कति कुटेको ? दिउँसो मात्रै कुट न्’ रिसाएको लवजमा उनीहरु बिहानै सुझाव दिन आइपुग्थे । उनी हाँसेर टारिदिन्थे ।
शान्तरत्न कसाःको अर्थ दुईवटा हुने बताउँछन् । एक रिसाएर सम्बोधन गरिने शब्द र अर्को काँसको काम गर्ने मानिस । उनी दुवै थिए ।
कामले भन्दा बढी रिसले कसाः भन्छन् भन्ने लाग्थ्यो शान्तरत्नलाई । उनी काँसको काम त गर्थे नै तर रातभर अरुको निद्रा बिथोलेर दु:ख पनि दिन्थे । त्यसैले उनी गाउँभरीका लागि कसाः थिए ।
‘सुरुमा त रिस उठ्थ्यो, मैले मेरो काम गर्दा किन कसा: भन्नु भनेर ?’
कसा: नामलाई नै ब्राण्डिङ गरिरहेका शान्तरत्न ४० वर्ष अघि गाउँभरीकाले रिसाउँदै बोलाएको सम्झन्छन् ।
शान्तरत्नका बाउ/बाजेदेखि बस्दै आएको थलोमा परिवारलाई नै छरछिमेकीले कसा:भन्थे ।
वर्ष बित्यो बाउ/बाजेले पाएको उही नाम आज ब्राण्ड भनेर दर्जनौं देश विचरण गरिरहेको छ । दैनिक सयौंको संख्यामा बिरामीको उपचार गरिरहेको छ भने नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुको रुपमा आफूलाई उभ्याइरहेको छ ।
कसाःको उदय
कसाः अर्थात हिमालयन सिङ्गिङ बउल ।
झंकार सहितका धुनहरु आइरहने हुनाले यसलाई गाइने कचौरा पनि भन्ने गरिन्छ ।
शान्तरत्न १८ हजार वर्ष अघि चीनबाट यस प्रकारको कचौरा बनाउन थालिएको किम्बदन्ती रहेको बताउँछन् । नेपालमा भने धेरै पछिमात्रै यसको विकास भएको उनको भनाइ छ ।
चीनमा मात्रै निर्माण हुने यो कचौरा नेपालमा शाक्यहरुले सुरु गरेको मान्छन् उनी । शान्तरत्न नेपालमा प्राचीन कालदेखि नै शाक्यहरुले नै कसाःको काम गर्ने हुँदा यसको उदय पनि शाक्यहरुबाटै भएको मान्छन् ।
विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुरका शाक्यहरुले काँसका मूर्ति, भाँडा बनाउने गर्थे ।
विसं २०१६ साल तिरको कुरा हो, पश्चिमा देशहरुबाट नेपाल घुम्न आउने पर्यटकको संख्या एकाएक बढ्न थाल्यो । घुम्न आउनेसहित धार्मिक र आध्यात्मिक पर्यटकहरु काठमाडौंमा बाक्लिन थाले । त्यतिबेलासम्म काँसका भाँडाकुँडाहरु नेपाली चुल्होमा प्रसस्तै भेटिन्थ्यो । पश्चिमाहरु प्लास्टिक र सेरामिकका भाँडामा अध्यस्त भइसकेका थिए । नेपाली काँसका भाँडाहरुले उनीहरुलाई लोभ्याउँथ्यो ।
बुद्ध धर्मावलम्बीहरुले ध्यान गर्नका लागि काँसका भाडा र यसका ध्वनी प्रयोग गर्थे । घुम्न आएका पर्यटक ध्वनीका लागि कचौरा साथै लिएर फर्कन्थे ।
यसले काँसको माग बढाएको शान्तरत्न बताउँछन् । पर्यटकले चासोका साथ किन्न थालेपछि अध्यात्मलाई सहयोग पुग्ने खालका ध्वनी उत्पादन गर्ने कचौरा बनाउने लहर चल्यो । शान्तरत्नको परिवार यस प्रकारको कचौरा बनाउन त्यसपछि अग्रसर बनेको सम्झन्छन् उनी ।
उनी १२ वर्षको हुँदा बुबा र हजुरबुबाले काँसका विभिन्न प्रकारका कचौरासहित पूर्णिमामा मात्रै बनाउने विशेष प्रकारको कचौरा पनि निर्माण सुरु गरे । यसमा प्रयोग गरिने धातुका कारण समुदाय भरी शाक्यको परिवारले बनाएको सिङ्गिङ बउल विशेष चर्चामा रहन्थ्यो । उनका बुबाले कचौराको ध्वानीबाट बिरामीहरु निको पार्ने गरेको सम्झन्छन् । तर यतिवेलासम्म फाट्टफुट्ट बिदेशी उपभोक्ता बाहेक नेवारी समुदायमा मात्रै सीमित थियो ।
कम उमेरदेखि नै तामाको भाडा बनाउन थाले पनि शाक्यले भने बुबाको देहान्तपछि मात्रै पारिवारिक व्यवसाय सम्हाले । आफूले बनाएका सामान बिदेशीले चासोका साथ किनेको देखेर लोभिएका थिए उनी ।
त्यसपछि कसाः नै बन्यो ब्राण्ड
आफूले व्यवसाय सम्हालेपछि १५ लाख रुपैयाँ लगानी थप गरेर परिवारले गर्दै आएको व्यवसायलाई शान्तरत्नले २०३७ सालबाट व्यावसायिक रुप दिए ।
नाम हिमालयन सिङ्गिङ बउल राखे पनि लोगो भने उही ‘कसाः’ शब्द नै राखे ।
‘कसाः शब्दले नै चिनिन थालेपछि मैले यसैलाई ब्राण्ड बनाउने सोचेर ब्राण्डिङ गरे,’ उनी सम्झन्छन् । सुरुमा अप्रिय लाग्ने उही कसाः शब्द अब शान्तरत्नलाई प्रिय लाग्न थालिसकेको थियो ।
उनी भन्छन्, ‘पुस्तौँदेखि कसाः बनेर काम गर्दै आएका जिजुबाको कामलाई विश्वभर किन नफैलाउने ? यो त नितान्त मेरो परिवारको ब्राण्ड हो भन्ने भएपछि यसमा लागे ।’
सुरुमा परम्परागत शैलीकै भाँडा बनाएका उनले नेपालमा आध्यात्मिक पर्यटक बढ्दै गएको देखेर अध्यात्मसँग सम्बन्धित कचौरा निर्माण गर्न थालेका थिए । ‘हजुरबुबाले पूर्णचन्द्रमामा बनाउने विशेष खालको कचौरा बनाएको थाह थियो त्यो सीप म मा पनि थियो,’ उनी सम्झन्छन्,’ सुरुका वर्षमा समान्य बउल निमार्माण गरे पनि पछि पूर्णचन्द्रमामा बनाउने काम थालें ।’
अध्यात्मिक उत्थानको लागि र उपचार दुवैका लागि महत्त्वपूर्ण मानिने बउललाई उनले त्यसपछि भने अर्न्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्न थालेको बताउँछन् ।
केही पर्यटक नेपाल आएको बेला बउल खोज्दै घरसम्म आइपुग्थे । पर्यटकको चहलपहल बढ्न थालेपछि उनले २०४६ सालबाट भने सिङ्गिङ बउल अमेरिका र बेलायतमा निर्यात सुरु गरे ।
उनले ८ प्रकारका बउल बनाएर बिदेश निर्यात गर्थे । जसमा फुलमून बउलको माग उच्च थियो ।
पूर्णिमाको रातमा मात्रै बनाइने फुलमून बउल
सिङ्गिङ बउल धेरै प्रकारका हुन्छन् । यसमा फुलमून बउल भने विशेष मानिन्छ । काँसमा सुन, चाँदी, तामा, फलाम, टिन (राङ), जस्ता (जिंक), लिड, पारो गरी अष्ट धातुको प्रयोग गरेर हातले बनाइने एक विशेष खालको कचौरा हो यो । जसलाई पूर्णिमाको रातमा विशेष पूजापछि बनाइने गरिने उनी बताउँछन् ।
फुलमून बउल बनाउन नेपालका धातु प्रयोग नगरि भियतनामबाट ल्याउँने गरेको उनी । ‘नेपालमा गुणस्तरीय धातु पाँइदैन,’ उनले भने, ‘त्यसैले हामीले भियतनामबाट धातु आयात गरे बनाउँछौँ ।’
फुलमून बाहेकका बउलहरुका लागि भने भियतनाम र नेपालमै उत्पादन भएका धातु प्रयोग गर्दै आएको उनी बताउँछन् ।
अष्ट धातुको प्रयोग गरेर पूर्णचन्द्रको दिन बनाइले बाउल शितलताको प्रतिक पनि मानिने शाक्य बताउँछन् । पूर्णचन्द्रको प्रकाश बउलमा पर्ने गरेर निर्माण गरेपछि सो बउलमा पानी भरे रातभर चन्द्रमाको प्रकाशमा राखिन्छ ।
महिनाको एक रातमा मात्रै बनाइने हुँदा यसलाई उपभोक्ताहरु बिशेष मान्छन् ।
एउटैको मूल्य २० हजार
चन्द्रमालाई शान्ति र शीतलताको प्रतीक मानिने हुँदा यस प्रकारको सिङ्गिङ बउल बनाउँदा चन्द्रमाको प्रकाश सजिलै पर्नुपर्छ । यसले ध्वनी साधना गर्दा वा ध्वनी सुन्दा मानिसको शरीरमा हिलिङ पावर बढ्न जाने विश्वास गरिने उनी बताउँछन् ।
शाक्य यसरी बनाइने बउलबाट प्रतिध्वनित हुने आवाज र झंकारले माइग्रेन,नशा सम्बन्धी रोग,अनिन्द्रा (इन्सोमेनिया) जस्ता रोग सँग लड्ने प्रतिरोधात्मक क्षमतालाई वृद्धि हुने बताउँछन् । साउण्ड हिलिङ वा साउण्ड थेरापीको रुपमा गरिने यो एक प्रकारको उपचार विधि हो ।
उपचार विधिमध्ये सङ्गीत चिकित्सा पनि पछिल्लो समय विस्तार भइरहेको छ । सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएकाले सङ्गीत सुनाएर शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने विश्वास गरिन्छ ।
अमेरिका र बेलायत लगायतका देशहरुमा यसको माग उच्च रहेको छ । चीन, जापानमा पनि यसको माग उस्तै देखेपछि उनले यी देशहरुमा उत्पादन निर्यात गरिरहेका छन् ।
नेपालमा उति चर्चामा नरहे पनि विदेशमा माग बढ्दै जाँदा शाक्य उत्पादन बढाउन लागि परेका छन् । २०४६ सालपछि बउलको माग अत्याधिक बढ्यो । दुई जनाले बनाउन सम्भव नदेखेपछि उनले ३० जनाको समूह बनाएर उत्पादन थाले । त्यसताका उनले एक रातमा २० वटासम्म फुलमून बउल निर्माण गर्थे ।
‘पूर्णचन्द्रको दिनमात्रै बनाइने हुनाले एक दिनमा २० वटा बउल मात्र निर्माण गर्छौं, अर्को बनाउन फेरि अर्को पूर्णचन्द्र नै पर्खनु पर्छ’ उनी भन्छन् ।
शान्तरत्न यस प्रकारको कचौरा पूर्णरुपमा हातबाट निर्माण गरिने हुँदा तुलनात्मक रुपमा अन्य सिङ्गिङ बउल भन्दा महँगो पर्ने बताउँछन् । उनले यस प्रकारको फुलमून बउल एउटाको १२ हजार देखि २० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । अन्य सामान्य बउल भने ३ हजार रुपैयाँदेखि सुरु हुन्छ ।
डुब्लिकेटको मार
दुई वर्ष अगाडि कसाः ब्राण्डले डुब्लिकेटको मार खेप्नु पर्यो । बजारमा सिङ्गिङ वउल कसाःकै नामबाट छ्याप्छ्यप्ती पाउन थाल्यो । त्यसमा पूर्णचन्द्रमा मात्रै बनाइने फुलमून बउल धेरै थियो । शान्तरत्न अचम्ममा परे । आँफूले महिनाको २० वटाभन्दा बढी बनाउन नसकेको फुलमून बउल बजारमा यतिधेरै कसले बनायो ?
‘सिङ्गिङ बउल हेर्दा उस्तै देखिए पनि यसको झंकारले यसको गुणस्तर मापन गर्छ,’ उनी भन्छन्, ‘बजारमा डुप्लिकेट बउलका कारण गुणस्तर खस्केको प्रतिकृया आउन थालेपछि डुप्लिकेट सिङ्गिङ बउल बिक्री हुने गरेको थाह पाएँ ।’
उनलाई ब्राण्ड खस्केला भन्ने पिर थियो । डुप्लिकेटबाट उत्पादित ध्वनीले उपभोक्ताको अपेक्षा पूरा गर्न सक्दैन थियो भने स्वास्थ्यका हिसाबमा पनि लाभदायक थिएन । उनी ध्वनिमा परिवर्तन भएपछि नयाँ ग्राहकले ध्वनिको पहिचान गर्न नसक्दा ठगिएको गुनासो बढ्दै गएको बताउँछन् ।
उनले त्यसबेला पत्रकार सम्मेलन नै गरेर कसाः ब्राण्डको ट्रेडमार्क आफ्नो भएको र नझुक्किन उपभोक्तामा जानकारी पनि गराएका थिए ।
कसाःको व्यवसाय ट्रेडमार्क चोरीले खस्कन सक्ने उनी बताउँछन् । ‘अहिले कसाः ब्राण्ड लेखेकै बउल बजारमा धेरै पाइन्छन् यसले हाम्रो गुणस्तरलाई खस्काइरहेको छ’ उनले भने ।
झट्ट हेर्दा उस्तै देखिए पनि कसाः ब्रान्डको फुलमून बउल जहाँतहीँ पाइँदैन । बौद्धमा यसको पसल छ, जहाँ उपभोक्ताले सजिलै हातले बनाइएको सिङ्गिङबउल खरिद गर्न सक्छन् ।
नेपाली र बिदेशी बजारमा माग बढ्न थालेपछि यतिवेला शाक्य दुई स्थानमा कारखाना खोलेर एक एकैपटक ४० वटासम्म सिङ्गिङ बउल र १ सयवटा अन्य प्रकारका बउल उत्पादन गर्दै आएका छन् । १५ लाखबाट सुरु गरेको उनको व्यवसायले ५० लाख लगानी पुर्याइसकेको छ ।
कुल उत्पादनको ८० प्रतिशत हिस्सा उनले बेलायत, अमेरिका, चीन, जापान लगायत ३० देशमा बिक्री गर्दै आएका छन् ।
हिमालयन सिङ्गिङ बउल कम्पनीले मात्रै वार्षिक १ करोड रुपैयाँ बराबरको उत्पादन यी देशमा निर्यात गर्दै आएको उनी बताउँछन्।
सान्तरत्न नेपालमा सिङ्गिङ बउल बनाउने दर्जन बढी कम्पनी भए पनि फुलमून बउल आफूले मात्रै बनाउँदै आएको दाबी गर्छन् । कसाः लोगो अंकित यो बउलको कपी पनि बजारमा पाइन थालेका छन् । यसले बजारमा बउल प्रतिको विश्वास धरासायी बनाएकोमा चिन्तत छन्, उनी ।
३० देशमा तालिम र बिक्री केन्द्र
अमेरिका, अस्ट्रेलिया, चीन, भारत, बेलायत, स्पेनलगायत ३० वटा देशमा सिङ्गिङ बउल बिक्री गर्दै आएका pgn] आँफै गएर त्यहाँ साउण्ड हिलिङको तालिम दिने गरेका छन् । त्यहाँको माग बुझ्छन् । त्यसपछि उनी नेपालमा उत्पादित बउल निर्यात गर्छन्।
फुलमून बउलको माग तुलनात्मक रुपमा धेरै रहे पनि शान्तरत्न माग पूरा गर्न नसकेको बताउँछन् । ‘अरु सिङ्गिङ बउल हरेक दिन निर्माण हुने हुँदा हरेक दिन हजारौं संख्यामा बनाउन सकिन्छ । तर फुलमून सिङ्गिङ बउल उत्पादन निश्चित दिनमा मात्रै हुने हुनाले सीमित हुन्छ र बजारको माग धान्न सकिँदैन’ उनले भने ।
नेपालमा शान्तरत्नले दैनिक हिलिङ कक्षाहरु पनि सञ्चालन गर्दै आएका छन् । उनले बौद्धमा रहेको हिमालयन सिङ्गिङ बउल सेन्टर मार्फत प्रशिक्षण सँगै हिलिङ थेरापी कक्षाहरु सञ्चालन गर्दै आएका छन् । पाटन र फर्पिङमा कारखाना सञ्चालन गर्दै आएका उनको कार्यलय भने बौद्धमा रहेको छ ।
फोटो/भिडियो: रवि धिताल/ क्लिकमान्डु