खुद ब्याज आम्दानी २ अर्ब ८९ करोडले बढ्दा पनि लक्ष्मी सनराइजको नाफा झन्डै २ करोडले घट्यो



काठमाडौं । ब्याज आम्दानी बढे पनि लक्ष्मी सनराइज बैंकको नाफा भने बढ्न सकेन । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्मको बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार लक्ष्मी सनराइजले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तो नाफा गत वर्ष सोही अवधिको तुलनामा भने १ करोड ७९ लाख रुपैयाँले कम हो । यो नाफा गत वर्षको तुलनामा १.६६ प्रतिशतले घटेको देखिएको छ ।

तत्कालीन लक्ष्मी र सनराइज बैंक मर्ज भएपछि गत वर्षको अन्तिमदेखि एकीकृत कारोबार गरेका थिए । तत्कालीन सनराइज बैंकको ठूलो कर्जा बिग्रिएका कारण मर्जपछि नाफामा असर परेको हो ।

०७९ पुसको तुलनामा ०८० पुसमा बैंकको ब्याज आम्दानी २ अर्ब ८९ करोड रुपैयाँले बढे पनि तत्कालीन सनराइजको बिग्रिएको कर्जाका कारण राष्ट्र बैंकले संभावित जोखिम व्यवस्था कोषमा मोटो रकम राख्न लगाउँदा बैंकको नाफा पनि ऋणात्मक हुन पुगेको हो । बैंकले यो चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जबकी, गत वर्षको पुसमा यस्तो ब्याज आम्दानी २ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ मात्रै थियो ।

यो बैंकको इम्पेरिमेन्टल (नियामकीय शर्त पालना) गर्दाको खर्च उल्लेख्य मात्रामा बढेको छ । गत वर्षको पुस मसान्तमा नियामकीय पालनाको लागि बैंकले ५७ करोड ३० लाख छुट्याएको थियो भने यो वर्षको पुसमा ७६ करोड रुपैयाँले बढेर १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

ठूलो कर्जा बिग्रिएको बैंकको खराब कर्जाको बढ्दो अनुपातले पुष्टि गर्छ । ०७९ पुसमा १.५६ प्रतिशत रहेको खराब कर्जा ०८० पुसमा ४.६७ प्रतिशत पुगेको छ ।

मर्जर प्राप्ति तथा हकप्रद सेयर लिलामीको प्रिमियममा कर लगाउने सरकारको निर्णयलाई गत मंसिर अन्तिममा सर्वोच्च अदालतले अनुमोदन गरेपछि लक्ष्मी सनराइज बैंकले २६ करोड रुपैयाँ कर तिरेको थियो । यसले पनि बैंकको नाफामा असर गरेको हो ।

यो बैंको अवधिमा बैंकको रिटेनअर्निङ ८१ करोड १८ लाख रुपैयाँले ऋणात्मक छ । गत वर्षको यही अवधिमा १ अर्ब ७२ करोड ८३ लाख रुपैयाँले धनात्मक थियो ।

बैंकको फि एण्ड कमिसन पनि घटेको छ । गत वर्षको पुससम्ममा ४४ करोड ७० लाख रुपैयाँ फि एण्ड कमिसनबाट कमाएको बैंकले यो वर्षको पुस मसान्तमा जम्मा २१ करोड ८३ लाख रुपैयाँ मात्रै कमाएको छ ।

यो बैंकले यस वर्ष ट्रेडिङ (खासगरी सेयर किनबेचबाट हुने आम्दानी) मार्फत् गरेको आम्दानी पनि घटेको छ । बैंकले ट्रेडिङबाट गत वर्षको पुससम्ममा ९ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष पुससम्ममा जम्मा ४ करोड ७२ लाख मात्रै कमाएको छ । केही वर्षयता देखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेच गर्न निरुत्साहित गर्दै आएको छ । राष्ट्र बैंकले बैंकहरुलाई कारोबारी हुनका लागि कडाइ गर्दै लगानीकर्ताको रुपमा दीर्घकालीन लगानी गर्न प्रोत्साहन गर्दै आएको छ ।

चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको लक्ष्मी सनराइजको जगेडा कोषमा १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

२०८० पुस मसान्तसम्ममा ३ खर्ब १० अर्ब ५९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४७ अर्ब ६९ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १४ पैसा रहेको छ । यसको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

बैंकको आधार दरपनि झण्डै डेढ प्रतिशत विन्दुले घटेको छ । २०७९ पुसमा ११.३७ प्रतिशत रहेको आधार दर यो पुसमा ९.९९ प्रतिशतमा झरेको छ ।

आधारदरसँगै बैंकको लागत पनि घटेको छ । एक वर्षको अवधिमा बैंकको लागत ०.७ प्रतिशत विन्दुले घटेको छ । आधार दर र कस्ट अफ फण्ड घट्नु भनेको बैंकबाट ऋण लिनेलाई ब्याजदर सस्तो पर्नु हो ।

२०७९ पुसमा ८.९१ प्रतिशत रहेको लागत २०८० पुसमा घटेर ७.६१ प्रतिशतमा झरेको छ ।

बैंकसँग पर्याप्त तरलता हुँदाहुँदैपनि लगानीगर्न सकेको छैन । गत वर्षको पुसमा ८५.४८ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात यो पुसमा ७८.३२ प्रतिशत रहेको छ । बैंकलाई पुँजीकोष अनुपातमा परेको दबाबका कारण पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी गर्न नसकेको देखिन्छ ।

बै‌कले ऋणीसँग लिने र निक्षेपकर्तालाई दिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) केही बढाएको छ । जसका कारण बैंकको ब्याज आम्दानी बढी देखिएको हो । २०७९ पुसमा ४.३१ प्रतिशत रहेको स्प्रेडदर २०८० पुसमा बढाएर ४.४० प्रतिशत पुर्याएको छ ।


क्लिकमान्डु