राजाविरुद्ध फेसबुकमा लेखेको भन्दै एक जनालाई ५० वर्षको जेल सजाय



काठमाडौं । राजसंस्थाको अपमान हुने गरि टिप्पणी गरेको भन्दै थाइल्यान्डमा एक जनालाई ५० वर्षको जेल सजाय सुनाइएको छ ।

३० वर्षीय मङ्कोन तिराकोटलाई तीन वर्षअघि फेसबुकमा राजसंस्थाको अपमान हुने गरि पोस्ट गरेको एक सामग्रीका लागि दोषी ठहर गर्दै अदालतले २८ वर्षको सजाय सुनाएको थियो । तर त्यसमाथि बिहीबार पुनरावेदन अदालतले २२ वर्ष थप गर्दै ५० वर्ष पुर्‍याएको हो ।

थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय भएको बीबीसीले जनाएको छ ।

थाईल्यान्डमा ‘लिज मेजेस्टी’ कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउँदै कडा सजायको व्यवस्था गरेको छ । जसको अहिले चर्को आलोचना हुँदै आएको छ ।

थाईल्यान्डमा १० वर्षमा पहिलो पटक गत वर्ष निर्वाचित सरकार गठन भएपछि कतिपयले उक्त कानुन संशोधन हुने अनुमान गरेका थिए तर उक्त कानुनले निरन्तरता पाइरहेको छ ।

चियाङराई प्रान्तका तिराकोट अनलाइन माध्यमबाट कपडा व्यापार गर्थे । उनीमाथि किन त्यति कठोर सजाय सुनाइयो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

तर न्यायाधीशले फेसबुकमा धेरै प्रतिक्रिया लेखिएकोतिर सङ्केत गरेका छन् । थाई अदालतले प्रत्येक पोस्टका लागि थप सजाय दिने अभ्यास गर्दै आएका छन् । न्याधीशले सहयोगी व्यवहारका कारण उनको सजाय कम गरिदिएको उल्लेख गरेका छन् ।

वाचिरालोङ्कोर्न राजा बनेपछि सन् २०१९ मा केही समयका लागि लीज म्याजस्टी कानुन निलम्बित भएको थियो । तर पछि त्यो बिउँत्याइएको थियो ।

तीन वर्षअघि राजसंस्थामा आमूल सुधार हुनुपर्ने मागसहित विद्यार्थीहरूको आन्दोलन चर्किएपछि उक्त कानुन व्यापक रूपमा प्रयोग हुन थालेको छ ।

राजसंस्थाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेका अभियानकर्ता तथा वकिल आनोन नाम्पाले पाएको जेल सजाय पनि बुधवार चार वर्षले बढाइएको छ । थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको आरोप नाम्पामाथि छ ।

सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको सरकारविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनका क्रममा देशमा सुधार गर्नुपर्ने क्षेत्रहरूमध्ये राजतन्त्र पनि पर्ने बताएपछि आनोन नाम्पा चर्चित भएका थिए ।

राजतन्त्रलाई बदनाम गर्ने किसिमका पोस्ट सामाजिक सञ्जालमा गरेका कारण मात्रै थाईल्यान्डमा मानिसहरूलाई ३० देखि ४० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

यस्तो अभियोगमा आफूलाई प्रतिरक्षा गर्न निकै कठिन हुन्छ । यसबारे सुनुवाइ पनि गोप्य कोठाहरूमा हुन्छन् र प्रतिवादीहरू कठोर सजाय कम हुने आशामा दोषी ठहर हुने ठूलो दबावमा हुन्छन् ।

यसै महिनाको अन्त्यतिर संवैधानिक अदालतले उक्त कानुनमा संशोधन गर्नुपर्ने माग गर्दै आएको ‘मूभ फर्वड दल’ विघटन गर्ने या नगर्ने भन्ने मुद्दामा निर्णय सुनाउन लागेको छ । उक्त दलले गत निर्वाचनमा सर्वाधिक सीट जितेको थियो ।

थाईल्यान्डका राजा राजनीतिभन्दा माथि छन् र अन्य संवैधानिक राजतन्त्र जस्तै जनताले आलङ्कारिक भूमिकाका रूपमा हेर्छन् ।

यद्यपि थाईल्यान्डको राजपरिवार विश्वमै सर्वाधिक धनीमध्येमा पर्छ र व्यवहारमा राजाले धेरै शक्तिको अभ्यास गर्न सक्छन् ।

राजा महा वाचिरालोङ्कोर्नले सेनाको सबैन्दा महत्त्वपूर्ण एकाइलाई व्यक्तिगत रूपमा आदेश दिन सक्छन् ।

त्यहाँको दरबारको आर्थिक स्रोत वा गतिविधि पनि पारदर्शी नभएको बताइन्छ ।


क्लिकमान्डु