काम गर्न सक्ने सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले धानेको परिङाल गाउँ



बझाङ । फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो ।

उनी शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै थिइन् । गत भदौको उनको पीडा सुनेर एकछिन माहोल नै चिसियो । सबै जना आश्चर्यचकित भावमा देखिए । ‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो । लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,’ उनले भनिन् ।

उनी दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका-१ परिङालमा रहेको आफ्नै घरमा बस्छिन् । नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन् । छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहेका छन् । उनीहरूले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाइन् ।

यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ । ‘आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,’ छिमेकी चन्द्रा गिरीले भनिन्, ‘परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ । भगवान्को आराधना गरिरहन्छौँ । चिन्ता बैङलोरकै हुन्छ ।’ परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उनले बताइन् ।

उनका अनुसार परिङालमा ८० परिवार छन् । झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ । काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन् । ‘प्राकृतिक विपद्बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,’ उनले भनिन्, ‘कतिपयले भारतमा सङ्घर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके । कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् ।’

चन्द्राका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर सङ्घर्ष गरिरहेका छन् । “घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्न सक्ने मान्छे कोही छैन,” उनले भनिन् । उनका अनुसार उहिले कोही पनि भारत जाँदैन थिए । ‘गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो । अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो । त्यसपछि गाउँ नै चौपट भयो,’ उनले भनिन् । चन्द्राको घरमा नौ जना सदस्य छन् । गाउँमा भने अहिले चार जना मात्रै छन् । ‘छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो । नत्र मेरो उमेरका महिला/पुरुष कोही गाउँमा बस्दैनन् । सबै बैङलोरमा गएर कमाउँछन्,’ उनले भनिन् ।

परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन् । आफूले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उनले सुनाइन् । ‘भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,” उनले भनिन्, “सबै कमाउने उतै छन् । उनीहरूले कमाएको पनि खानलाई बराबर हुन्छ ।’

पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ । सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको लक्ष्मीले बताइन् । उनले भनिन्, ‘अहिले गाउँ पूरै रित्तिन लागि सक्यो । गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन् । यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो,’ उनले भनिन् ।

गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन् । अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताइन् । ‘हरेक दसैँमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ । कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,’ उनले भनिन् ।

विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो । आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ । दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो ।

आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो । गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरू बैङ्लोर जानुको विकल्प नभएको भन्दै परदेशिए ।

स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ । गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ । ‘बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन् । वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो । भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,’ उनले भने ।

भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ । ‘जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,’ फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भनिन्, ‘बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस् । हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ ।’

रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उनले बताए । छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्छन् । उनी भन्छन्, ‘सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो । कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ ।’

प्रभावित बासिन्दालाई विभिन्न सङ्घसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उनले बताए । उनले भने, ‘सरकारले घोषणा गरेको ५० हजारका दरले प्रशासनमा आइसकेको भन्ने छ । त्यसका लागि सम्पूर्ण कागजात तयारी गर्दै छौँ ।’ रकम आएपछि सबै परिवारलाई वितरण गर्ने उनले बताए।


क्लिकमान्डु