यी हुन् कृषि सामग्री कम्पनीमा प्रवन्ध सञ्चालकका लागि प्रतिस्पर्धामा उत्रिएका ९ जना



काठमाडौं । रासायनिक मल आपूर्ति गर्ने र बिक्री बितरण गर्ने सरकारी स्वामित्वको संस्थान कृषि सामग्री कम्पनीमा रिक्त रहेको प्रवन्ध सञ्चालकका लागि ९ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

कृषि साम्रगी कम्पनी लिमिटेडको प्रवन्ध सञ्चालक नियुक्तिका लागि सिफारिश गर्न गठित समितिका संयोजक राजेश्वर ज्ञवालीकाअनुसार कम्पनीमा रिक्त रहेको प्रवन्ध सञ्चालकका लागि ९ जनाले आवेदन दिएका छन् ।

समितिका अनुसार सुनसरी खनारका राजेन्द्रबहादुर कार्की, झापा दमकका चन्द्रप्रसाद चम्लागाई, वाग्लुङका डोलिन्द्रप्रसाद शर्मा, लालवन्दी सर्लाहीका पुण्यप्रसाद उपाध्याय, कास्की माछापुच्छ्रेका बिष्णुप्रसाद पोखरेल, तनहुँ ब्यासका भोजराज अधिकारीले आवेदन दिएका छन् ।

यस्तै गोरखा सिरानचोकका रामचन्द्र ढकाल, सप्तरी तिलाठी कोइलाडीका शैलेन्द्रकुमार सुमन र पर्वत कुश्माका हरिवंश आचार्यले प्रवन्ध सञ्चालकका लागि आवेदन दिएका छन् ।

कम्पनीका तत्कालीन प्रवन्ध सञ्चालक नेत्र भण्डारी १ अर्ब ५० करोड रुपैयाँको रसायनिक मल प्रकरणमा मुछिएपछि २०७९ फागुन २९ गतेदेखि उक्त पद रिक्त थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल प्रकरणमा भण्डारीसहित मल आपूर्ति कम्पनी र सर्वेयरविरुद्ध विगो र सजायको माग दावी गर्दै तत्कालीन समयमा विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।

विशेष अदालतले मल प्रकरणमा कर्मचारीलाई सफाइ दिएर सर्वेयर र आपूर्तिकर्ता कम्पनीलाई मात्रै दोषी करार गरेको थियो । विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोग अहिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

भण्डारीको स्थानमा कम्पनीको सञ्चालक समितिले तत्कालीन खरिद विभाग प्रमुख राजेन्द्र कार्कीलाई २०७८ देखि २०७९ सम्मको लागि कामु प्रवन्ध सञ्चालकको जिम्मेबारी दिएको थियो ।

विशेष अदालतबाट मल घोटाला प्रकरणमा भण्डारी सफाइ पाए लगत्तै २०७९ पुस ११ गतेदेखि फागुनसम्म प्रवन्ध सञ्चालकको जिम्मेवारी पाएका थिए ।

उनले अवकाश प्राप्त गरेपछि उनको स्थानमा कामु प्रवन्ध सञ्चालकको जिम्मेवारी खरिद प्रमुख बिष्णु पोखरेललाई दिइएको छ । अहिलेसम्म कामुको भरमै उक्त कम्पनी चल्दै आएको छ ।

प्रवन्ध सञ्चालकको लागि पोखरेल र कार्कीले पनि आवेदन दिएका छन् । कृषि सामग्री कम्पनीको इतिहासमै कार्कीको कार्यकालमा मलको अभाव सिर्जना भएको थिएन् । कार्कीले मलको शिपमेन्ट ५७ दिनलाई झारेर ४० दिनमा पुर्याएका थिए । यस्तै रसायनिक मलको डेलिभरी म्याद १०७ दिनलाई झारेर २९ देखि ४२ दिनमा पुर्याइएको थियो ।

सरकारद्वारा सरकारलाई (जीटुजी) अन्तर्गत पहिले भारतीय कम्पनीले बोर्डरसम्म मात्रै मल डेलिभरी दिदैं आएको थियो । बोर्डरबाट कृषि सामग्रीको गोदामसम्म उक्त मल भित्र्याउन पुनः अर्को टेण्डर आह्वान गरी ढुवानी गर्दा छुट्टै करोडौं रुपैयाँ खर्च हुने प्रक्रियालाई नियन्त्रण गर्दै कार्कीले भारतीय कम्पनीले मल दिंदा कृषि सामग्रीको गोदामसम्म नै डेलिभरी दिने व्यवस्था गरेका थिए ।

यसले गर्दा ढुवानीमा खर्च हुँदै आएको अतिरिक्त खर्च बचत भएको थियो । यसका साथै मल डेलिभरी गर्दा पहिले मलको नोक्सानी खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने व्यवस्था थियो । कार्कीले त्यसलाई सुधार गरी मल डेलिभरी हुँदा हुने नोक्सानी खर्च पनि आयातकर्ता कम्पनीले व्यहोर्नुपर्ने व्यवस्था गर्न लगाएका थिए ।

कामु प्रवन्ध सञ्चालक पोखरेल कार्यरत रहेको अवधीमा पछिल्लो समयमा मल आपूर्ति गर्न आईपीएल(इण्डियन पोटास लिमिटेड) ले ६० हजार टन युरिया, ५५ हजार टन डीएपीलगायतको ६ वटा टेण्डर हात पारेको थियो । तर एउटै पनि टेण्डरको मल दिन सकेन ।

कम्पनीले गत् पुस ३ गते रिक्त रहेको प्रवन्ध सञ्चालकका लागि आवेदन खुलाएको थियो । कृषि सामग्री कम्पनीले सूचना जारि गर्दै प्रवन्ध सञ्चालक नियुक्त गर्न आवेदन खुलाएको थियो ।

मन्त्रिपरिषद्को सिफारिशमा प्रवन्ध सञ्चालक नियुक्त गर्ने व्यवस्था कृषि सामग्री कम्पनी लिमिटेडको कर्मचारी प्रशासन विनियमावलीमा उल्लेख छ । प्रवन्ध सञ्चालकको पदावधि ३ बर्षको लागि तोकिएको छ ।

कम्पनीले कारोबार गर्ने बिषयसँग सम्बन्धित विषयमा कम्तिमा स्नातकको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा वा कम्पनी व्यवस्थापन सम्बन्धी काममा कम्तिमा १० बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

यस्तै अर्थ, वित्त, व्यवस्थापन, लेखा, तथ्यांक, वाणिज्य, व्यापार प्रशासन वा कानून बिषयमा कम्तिमा स्नाकोपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।


क्लिकमान्डु