प्राधिकरणको निर्देशन बिपरित पुनर्बिमा कम्पनीको लगानी: ८३% निक्षेपमा, ४ क्षेत्रमा शून्य



काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशनबिपरित पुनर्बिमा कम्पनीले एकै क्षेत्रमा ठूलो संख्यामा लगानी गरेका छन् । लगानी व्यवस्थापन गर्नका लागि प्राधिकरणले विविधिकरण गर्न निर्देशन दिए पनि पूर्नबीमा कम्पनीले एकै क्षेत्रमा ८३ प्रतिशत रकम लगानी गरेका हुन् ।

यी कम्पनीले चालु आर्थिक वर्षको मंसिर महिनासम्म ३० अर्ब ३९ करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन् । पुनर्बिमा कम्पनीहरुले २५ अर्ब २५ करोड ३३ लाख रुपैयाँ बैंकको निक्षेपमा लगानी गरेका हुन् ।

निक्षेपमा मात्रै लगानी गर्न पाउने व्यवस्थाले प्रतिफलमा संकुचन आएको गुनासो गर्दै आएका कम्पनीले प्राधिकरणले क्षेत्र बढाउँदा पनि अन्य क्षेत्रमा लगानी गर्न अनिच्छुक देखिएका हुन् ।

बीमा कम्पनीहरुको माग बमोजिम नै नेपाल बीमा प्राधिकरणले पुनर्बिमकको एकीकृत निर्देशिन–२०७९ जारी गरेको थियो । जसमा पुर्नबीमा कम्पनीले कुल लगानी ११ क्षेत्रमा विविधीकरण गर्नुपर्ने ब्यवस्था छ । प्राधिरणले क्षेत्र अनुसार ५ प्रतिशत देखि ३० प्रतिशतसम्म लगानी गर्ने बाटो खुलाएको हो । तर पुनर्बिमा कम्पनी अन्य क्षेत्रमा लगानी बढाउनुको साटो निक्षेपमै केन्द्रित देखिएका हुन् ।

नेपालमा हिमालयन रि–इन्स्योरेन्स र नेपाल पुनर्बिमा गरेर दुई वटामात्रै कम्पनी रहेका छन् । लगानीका लागि अर्बौं रकम जुटाउन सक्ने यी कम्पनीहरुले प्राधिकरणले दिएको सुविधालाई नकार्दै निर्देशन बिपरित गएर निक्षेपमा मात्रै लगानी बढाएका हुन् ।

प्राधिरकणका अनुसार पुनर्बिमा कम्पनीले वाणिज्य बैंकमा मात्रै २३ अर्ब २२ करोड ६२ लाख रुपैयाँ लगानी गर्दा विकास बैंकमा भने २ अर्ब २ करोड ७१ लाख रुपैयाँ निक्षेपमा लगानी गरेका छन् । निक्षेपमा पनि (ग) वर्गका बैंक तथा वित्तीय क्षेत्रको मुद्दती निक्षेपमा ५ प्रतिशत रकम लगानी गर्ने व्यवस्था भएपनि कम्पनीको लगानी शुन्य नै छ । पूनबीर्मा कम्पनीले वाणिज्य बैंक र केही विकास बैंकको मात्र मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।

यो बाहेक सरकार तथा नेपाल राष्ट्र बैंकको बचतपत्र तथा ऋणपत्र, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर,राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख, र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्रधिकार सर्यर,बण्डमा, सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चरमा , कृषि उत्पादन तथा वितरण लगायतको ८ क्षेत्रमा र नागरिक लगानी कोषमा, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा,सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको शेयरमा लगानी विविधीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

यी कम्पनी मध्ये ४ क्षेत्रमा पूर्नबीमा कम्पनीले शून्य लगानी गरेका छन् । लगानी निर्देशन २०७९ बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त (ग) वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ प्रतिशत, घरजग्गामा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा २० प्रतिशत र कृषि तथा वितरण, पर्यटन, जलविद्युत, उर्जा,शिक्षा/स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । व्यवस्था बमोजिम पूर्नबीमा कम्पनीले यी चार क्षेत्रमा गर्नुपर्ने लगानी समेत निक्षेपमै गरेका हुन् ।

उत्पादकत्व क्षेत्रमा बीमा कम्पनीको लगानी बढाउने प्राधिकरणको योजना निर्देशन उल्लंघनले सफल हुने देखिँदैन ।

निर्देशनले प्राधिकरणको सीमाभन्दा बाहिर गएर लगानी गर्ने तथा नगर्ने कम्पनीलाई ३० दिनभित्र लगानीलाई सीमामा ल्याउनुपर्ने व्यवस्था गरेको छ । निर्देशनले लगानीलाई सीमामा नल्याउने कम्पनीलाई कस्तो कारबाही हुन्छ भन्ने समेटेको छैन । यद्यपी प्राधिकरणले भने ३० दिनको समयभित्र लगानीलाई सीमामा कायम गर्न मौखिक निर्देशन दिँदै आएको छ।

बीमा प्राधिकरणका कानुन शाखा प्रमुख साम्बाराज लामिछाने लगानी सीमामा ल्याउन दुवै कम्पनीलाई मौखिक जानकारी गराएको बताउँछन् ।

‘दुई कम्पनीलाई नै हामीले निक्षेपको लगानी घटाउँदै बाँकी ४ वटा कम्पनीमा लगानी गर भनेर मौखिक निर्देशन गराइसकेका छौँ,’ उनले भने । मौखिक निर्देशन पालाना नगरेको खण्डमा भने के कारबाही हुन्छ भन्ने जवाफ प्राधिकरणसँगै छैन । प्रमुख लामिछाने कारबाहीको व्यवस्था नभएपछि मौखिक रुपमा नै कम्पनीलाई लगानी विविधिकरण गर्दै सीमा कायम गर्न आग्रह गर्दै आएको बताउँछन् ।

अन्य बीमा कम्पनीको पनि अवस्था उस्तै

लगानी विविधीकरण गर्नुपर्ने माग राख्ने जीवन, निर्जीवन, लघु बीमा र पुनर्बिमा कम्पनीहरुले लगानी प्राधिकरणले दिएको क्षेत्रमा गरेका छैनन् । निक्षेपमा मात्रै लगानी गर्दा प्रतिफल पर्याप्त नहुने तथा उत्पादनमुलक क्षेत्रमा लगानी नगएको गुनासो गर्ने कम्पनीहरु प्राधिकरणले लगानीको बाटो खोलिदिएको एक वर्ष भइसक्दा समेत लगानी विविधीकरणमा अग्रसर नदेखिएका हुन्।

सरकारले ११ वटा क्षेत्रमा बीमाकम्पनीले लगानी गर्न सक्ने व्यवस्था गरेको छ। जसमा जीवन बीमा कम्पनीले घरजग्गा बाहेकका क्षेत्रमा लगानी विविधीकरण गरेका छन् भने, निर्जीवन, पुनर्बिमा र लघुबीमाका कम्पनीहरु हालसम्म निक्षेपभन्दा बाहिर निस्कन सकेका छैनन् ।

जीवन बीमा कम्पनीसँग मात्रै पनि हाल लगानीका लागि ६ खर्ब माथिको रकम छ । सबैभन्दा धेरै रकम जीवन बीमामा हुने गर्छ । त्यसपछि क्रमश निर्जीवन, पुनर्बिमा र लघुबीमा कम्पनीसँग रहन्छ । लगानीका दृष्टिकोणले बलियो मान्ने बीमा कम्पनीहरुले झण्डै ८ खर्बमाथिको रकम प्राधिकरणले तोकेको क्षेत्रमा लगानी गर्न सक्छन् । तर अधिकांश कम्पनीले निक्षेपमा मात्रै लगानी बढाउँदा उत्पादनमूलक क्षेत्रहरुमा लगानी हुन सकेको छैन ।

जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा ६ खर्ब १२ अर्ब रुपैयाँ लगानी गरेको छन् । जसमा वाणिज्य बैंकको निक्षेपको हिस्सा नै ६८ प्रतिशत छ । निर्जीवन बीमा कम्पनीले ६० अर्ब ५ करोड रुपैयाँ लगानी गर्दा ६९ प्रतिशत वाणिज्य बैंकको निक्षेपमा लगानी गरेको छन् । यस्तै कुल लगानीको पुनर्बिमा कम्पनीले ८३ प्रतिशत, लघु निर्जीवन बीमा कम्पनीले ९९ प्रतिशत, लघु जीवन बीमा कम्पनीले शतप्रतिशत लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।


क्लिकमान्डु