निगमले सराह्नीय काम गरेको छ : मन्त्री रिजाल



काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमले विपत परेको बेलामा पनि उत्कृष्ठ काम गरेको बताएका छन् ।

नेपाल आयल निगमको ५४ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। कोभिडको समयमा निगमले मानवीय संवेदनालाई ध्यान दिदैं घरघरमा खाना पकाउने ग्यास पुर्याएर ठूलो काम गरेको बताउंदै उनले पछिल्लो समयमा राष्ट्रिय विपद्जस्ता समस्यामा पनि निगमले सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोगहरु उपलब्ध गराएको बताए ।

मन्त्री रिजालले निगमले पछिल्लो समयमा करिब ५० अर्ब ऋण चुक्ता गरी नाफा आर्जन गर्न सफल भएको भन्दै निगमलाई बधाई दिएका छन्। मन्त्री रिजालले निगम बिस्तारै परम्परागत कामभन्दा समय सुहाउँदो नबप्रवद्र्धनका काम पनि गर्नु पर्ने बताए।

उनले निगमले पछिल्लो समयमा पोखरामा ५ – ५ हजार किलोलिटर को २ इन्धन भण्डार गृह निर्माण गरेको बताए। यस्तै पोखरा र सिमरा विमानस्थलमा हवाई इन्धन डिपो निर्माणको सिलान्यास भएको पनि उनले जानकारी दिए । स्वचालित मूल्य प्रणालीलाई कडाइका साथ लागू गरिएको बताउँदै उनले पेट्रोलियम, ग्यास र ढुवानी व्यवसायीहरुले उठाएका मागहरु छलफलको आधारमा सम्बोधन गर्ने बताए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले नेपालमा हालसम्म पेट्रोलियम र एक्सप्लोशिभ ऐन न हुँदा निगम विनियवलिको भरमा चलेको बताए । निगम ऋण मुक्त भएपनि निगमले व्यवसायीको माग समयमा सम्बोधन न गर्दा पेट्रोलियम, ग्यास र ढुवानी व्यवसायी डुबेको जानकारी दिए। नेपाल पेट्रोलियम डिलर्स एशोसियशन र पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोज दासले सरकारले विभिन्न समयमा सम्झौता गरेर पनि उक्त सम्झौता कार्यान्वयनमा नल्याएको जानकारी दिए ।

नेपाल आयल निगमका निमिक्त कार्यकारी निर्देशक नागेन्द्र साहले आर्थिक बर्ष २०७८/ ७९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च भएको समयमा सोहि अनुपातमा नेपाली बजारमा इन्धनको मूल्य समायोजन नहुँदा निगमले ४८ अर्ब ८५ करोड रुपैयाँ नोक्सानी व्यहोर्न बाध्य भएको जानकारी दिए । साहले त्यो वेला रकम भुक्तानी गर्न नसक्दा इण्डियन आयल कर्पोरेशन(आईओसी) लाई २४ अर्ब रुपैयाँ बक्यौंता तिर्न बाँकी भएको थियो ।

‘समस्या समाधानका लागि तत्कालिन समयमा हामीले राष्ट्रिय बाणिज्य बैंकबाट ३ अर्ब र नेपाल सरकारबाट ७ अर्ब रुपैयाँ ऋण लिएका थियौं,’ साहले भने, ‘त्यो सम्पूर्ण ऋण चुक्ता गर्नुका साथै आईओसीको वक्यौंता भुक्तानी गरेर आर्थिक बर्ष २०७९/ ८० मा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा गर्न सफल भएका छौं । अघिल्लो आर्थिक वर्षमा निगमले ४९ अरब घाटा व्यहोरेको थियो।


कर्मचारी संघ संगठनका प्रतिनिधिहरूले कानूनमा व्यवस्था भए पनि आफूहरूले संस्था नाफामा गए पनि बोनश न पाएको गुनासो गरेका थिए।


क्लिकमान्डु