नेपालको लगानी सम्मेलनमा भारतका लगानीकर्तालाई अर्थमन्त्रीको निम्तो



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले भारतका लगानीकर्तालाई नेपालमा वैशाखमा १६ र १७ गते हुने लगानी सम्मेलनको निम्तो दिएका छन् ।

भारतको गुजरातमा सुरु भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट-२०२४ मा भाग लिन पुगेका अर्थमन्त्री महतले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा भारतका लगानीकर्तासँगै अन्य देशका लगानीकर्तालाई पनि आउन निम्तो दिएका हुन् ।

‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदै छ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु’कार्यक्रममा उनले भने ।

अर्थमन्त्री महतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका कामको पनि चर्चा गरे । उनले जी २० को अध्यक्षताका लागि बधाई दिँदै मोदीको प्रशंसा गरे ।

आफूलाई सन् २०१४ मा नेपालको सदनमा मोदीले गरेको सम्बोधन याद भएको बताउँदै महतले भारत र नेपालबीच पछिल्लो पटक १० हजार मेगावाट विद्युत आगामी १० वर्षमा किन्ने गरि भएको सम्झौताको चर्चा गरेका थिए।


क्लिकमान्डु