महालक्ष्मी विकास बैंकद्वारा विद्यालय र सामाजिक संस्थालाई सहयोग



काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरेको छ ।

बैंकको न्युरोड शाखाले हिमालय माध्यमिक विद्यालय न्युरोडलाई एक थान प्रिन्टर प्रदान गरेको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्युरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा महर्जनलाई प्रिन्टर हस्तान्तरण गरे ।

त्यसैगरी गोंगबु शाखाले काठमाडौं महानगरपालिका वडा नं २६ मा रहेको पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामग्री खरिद गर्न बैंकले उक्त सहयोग गरेको जनाएको छ । गोंगबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तीस हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेकी छन् ।

यस्तै बैंकको बसुन्धरा शाखाले टोखा नगरपालिका वडा नं ४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण गरेको छ । श्रीकृष्ण मन्दिरमा नियमित रुपमा २ वटा हलमा भजन कीर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग गरेको जनाएको छ । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका छन् ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक र आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु