डिभिजन वन अधिकृत कोइरालाविरुद्ध १ करोड २५ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कोइरालाले जागिरे अवधिमा जोडेको एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ अवैध ठहरिएपछि अख्तियारले सोमबार कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरण अनुसन्धान गर्दा एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ बढी देखिएको आयोगले जनाएको छ ।

पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, सेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिएको अख्तियारले जनाएको छ ।

सोही अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैंक मौज्दातसमेत गरी जम्मा २ करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैंया ८५ पैसा खर्च तथा लगानी भएको अनुसन्धानमा देखिएको आयोगले जनाएको छ ।

वैध आम्दानीको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैयाँ ८५ पैसा देखिएपछि आयभन्दा बढी रकमको स्रोत नखुलेको आयोगले जनाएको छ ।

स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको र सार्वजनिक पद धारण गरेका कोइरालाले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको अख्तियारले कोइरालाविरुद्ध एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रूपैँया पचपन्न पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गर्दै मुद्दा दायर गरेको हो ।


क्लिकमान्डु