त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ सूचनामा भनिएको छ ।

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेस गर्न सूचनामा आह्वान गरिएको छ ।

समितिले गत शुक्रबार सूचना प्रकाशित गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानमा उल्लेख भएको उपकुलपतिका लागि आवश्यक प्रावधानबारे आलोचना भएपछि प्रधानमन्त्रीले त्यसलाई रद्द गर्न निर्देशन दिएका थिए ।

समितिले शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न’ भनेको थियो । जसको बिरोध भएपछि उक्त सूचना रद्द गर्दै आज नयाँ सूचना जारी गरिएको छ ।

आजको सूचनामा यसअघिको प्रावधानलाई हटाएर ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ उल्लेख छ ।


क्लिकमान्डु