क्षेत्रफल घट्दा पनि बढ्यो धानको उत्पादन, कोशीमा फल्यो सबैभन्दा धेरै



काठमाडौं । चालु आर्थिक वर्षमा बर्खे धानवालीको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा यो वर्ष ४.३३ प्रतिशतले धानको उत्पादन बढेको हो । धानको उत्पादन बढ्दा धान उत्पादन हुने क्षेत्रफल भने घटेको छ ।

मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको छ । गत आर्थिक वर्षमा भने ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान फलेको थियो ।

सातै प्रदेशको कृषि मन्त्रालयले जिल्लाबाट संकलन गरेको तथ्यांक र इसिमोडले उपलब्ध गराएको स्याटेलाइट इमेलकोसहयोगमा उत्पादनको तथ्यांक विश्लेषण गरि उत्पादनको अवस्था संघीय मन्त्रालयले सार्वजनिक गरेको हो । तराई मधेशमा लगाइएको धानवालीको क्षेत्रफल र चालु आर्थिक वर्षमा भएको रोपाईको प्रतिशत दरलाई आधार मानेर धानको उत्पादन परिमाण निकालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार धानको उत्पादन वृद्धि भए पनि क्षेत्रफल करिब ८ हजार ८ सय हेक्टर घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले धानवालीको क्षेत्रफल घटेको हो । राष्ट्रिय कृषि गणनाले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकले पनि धानवालीको क्षेत्रफल घटेको देखाएको थियो ।

चालु आबमा १४ दाख ३८ हजार ९ सय ८९ हेक्टरमा धानको रोपाइ भएको थियो । अघिल्लो ४ वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशत कम क्षेत्रफलमा धानवाली रोपाइ भएको थियो ।

उत्पादकत्व बढ्यो

मन्त्रालयले दाबी गरेअनुसार चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४.९७ प्रतिशतले धानको उत्पादकत्व बढेर प्रति हेक्टर ३.९८ मेट्रिक टन पुगेको छ ।

पछिल्लो ४ वर्षको औसत उत्पादकत्वको तुलनामा ६.९२ प्रतिशतले चालु आर्थिक वर्षमा उत्पादकत्व बढेको मन्त्रालयले जनाएको छ ।

सर्वाधिक धान फलाउने प्रदेश बन्यो कोशी

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सातै प्रदेशमध्ये कोशी प्रदेशमा सर्वाधिक धान फलेको छ । कोशीमा ३ लाख २४ हजार ४ सय १ हेक्टरमा धानको रोपाई भएको थियो । यो प्रदेशमा १४ लाख ३५ हजार ५ सय ७८ मेट्रिक टन धान फलेको छ । यो प्रदेशमा धानको उत्पादकत्वसमेत बढेको छ । कोशीमा प्रति हेक्टर ४.४५ मेट्रिक टन धान फलेको छ ।

उत्पादन र उत्पादकत्वको आधारमा कोशीपछि लुम्बिनी प्रदेशमा उत्पादन बढेको छ । लुम्बिनीमा ३ लाख २ हजार ३ सय ८६ हेक्टरमा रोपाई भएको थियो । जसबाट १३ लाख १० हजार ८ सय २९ मेट्रिक टन धान फलेको थियो ।

अन्नको भण्डार मानिने मधेश प्रदेशमा भने उत्पादन र उत्पादकत्व दुवै घटेको छ । मधेशमा ३ लाख ८३ हजार १ सय ८३ हेक्टरमा धान रोपाई भएको थियो । जसबाट १३ लाख ३७ हजार ६ सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ । मधेशमा प्रति हेक्टर ३.४९ मेट्रिक टन धान फलेको छ ।

धान रोपाई हुने समयमा तराई मधेशमा पर्याप्त परिमाणमा अकाशे पानी नपरेको, निक्कै ढिलो गरि रोपाई भएको र रोपाई भइसक्दा पनि अकाशे पानीको अभाव हुँदा अन्य प्रदेशको तुलनामा मधेशमा धानमा कमी आएको हो ।

बागमतीमा १ लाख २८ हजार ९ सय ३ हेक्टरमा रोपाई हुँदा ५ लाख ४ हजार ३ सय ४४ मेट्रिक टन धान फलेको थियो । यस्तै सुदुरपश्चिममा १ लाख ५६ हजार २ सय ८९ हेक्टरबाट ५ लाख ९९ हजार १ सय २४, गण्डकीमा १ लाख १ हजार ९ सय २३ हेक्टरबाट ३ लाख ९१ हजार ६ सय २४ र कर्णालीको ४१ हजार ९ सय ४ हेक्टरबाट १ लाख ४५ हजार ६३ मेट्रिक टन धान फलेको छ ।


क्लिकमान्डु