टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाईडीले कसरी ओगटिरहेको छ विद्युतीय गाडीको बजार ?



एजेन्सी । सन् २०२३ को तेस्रो तैमासमा विश्वकै ठूलो विद्युतीय गाडी निर्माता कम्पनीका रुपमा रहेको टेस्लालाई चिनियाँ कम्पनी बिवाईडीले उछिन्दै सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्यो ।

सन् २०२३ को अन्तिम त्रैमासमा बिवाईडीले टेस्लाले बिक्री गरेकोभन्दा धेरै विद्युतीय गाडीहरु बिक्री गर्दै पहिलो स्थान हासिल गरेको हो । टेस्लाले २०२३ को अन्तिम त्रैमासमा ४ लाख ७४ हजार ५ सय गाडीहरु बिक्री गर्दा बिवाईडीले भने ५ लाख २६ हजार गाडीहरुको बिक्री गरेको छ ।

२०२३ को अन्तिम त्रैमासमा टेस्लाकोभन्दा धेरै गाडी बिक्री गरेको बिवाईडीले गाडी उत्पादनमा पनि टेस्लालाई उछिनेको छ । बिवाईडीले सन् २०२३ मा ३० लाख न्यु इनर्जि भेहिकल (नव उर्जाका गाडीहरु) उत्पादन गरेको छ ।

टेस्लाले सन् २०२३ मा १८ लाख ४० हजार गाडीहरु उत्पादन गरेको बताएको छ । बिवाईडीका कुल ३० लाख गाडीहरुमध्येमा १६ लाख ब्याट्रीसहितका यात्रुबहाक गाडीहरु रहेका छन् भने १४ लाख हाइब्रिड गाडीहरु रहेका छन् ।

टेस्ला ब्याट्रीसहितका गाडी उत्पादनमा भने अझैं पनि शीर्ष स्थानमा नै रहेको छ । तर, पछिल्लो अवस्था हेर्दा बिवाईडीले टेस्लालाई हरेक रुपमा जित्दै गएको छ र विद्युतीय गाडीहरुको बजारमा एउटा ठूलो हिस्सा ओगटिरहेको छ ।

काउन्टर पोइन्ट रिसर्चकाअनुसार विश्वभरको ईभी बजारमा बिवाईडीको बजार हिस्सा निरन्तर बढ्दै गएको छ भने विश्वकै ठूलो इभी निर्माता कम्पनी टेस्लाको भने केही ह्रास आउँदो अवस्थामा देखिएको छ ।

सन् २०२१ को चौथो त्रैमासमा बिवाईडीको बजार हिस्सा ९ प्रतिशत थियो र टेस्लाको १९ प्रतिशत थियो । २०२२ को पहिलो त्रैमासमा बिवाईडीको बजार हिस्सा १० प्रतिशत र टेस्लाको २१ प्रतिशत पुगेको थियो । २०२२ को चौथो त्रैमाससम्म आईपुग्दा बिवाईडीले इभी बजारको १५ प्रतिशत हिस्सा ओगटेको थियो भने टेस्लाले १७ प्रतिशत । २०२३ को पहिलो त्रैमासमा टेस्लाको बजार हिस्सामा बृद्धि भएर २२ प्रतिशत पुग्दा बिवाईडी १४ प्रतिशत बजार हिस्सासहित रहेको थियो ।

तर, सन् २०२३ को तेस्रो त्रैमासमा भने टेस्ला र बिवाईडीको बजार हिस्सा बराबर देखिएको छ । दुवैले १७ प्रतिशत इभीको बजार हिस्सा ओगटेका छन् । टेस्लाको बजार हिस्सा २०२३ को पहिलो त्रैमासपछि निरन्तर घट्दो देखिएको छ भने बिवाईडीको बढ्दै गएको छ ।

बिवाईडीले २०२३ को तेस्रो त्रैमासमा ६६ प्रतिशतले आफ्ना गाडीहरुको बिक्रीमा वृद्धि पाएको थियो । मुख्य गरि बिवाईडीका युआन प्लस, डल्फिन र सिगुल मोडलका गाडीहरु धेरै बिक्री भएका छन् जसले बिवाईडीको कुल बिक्रीको ७२ प्रतिशत ओगटेको छ ।

यता टेस्लाको बिक्री भने २०२३ को तेस्रो त्रैमासमा हेर्दा २६ प्रतिशतले मात्रै बढेको छ ।

बिवाईडीले सन् २०२३ भरिमा भने ३० लाख गाडीहरु बिक्री गरेको छ, जसमा विद्युतीय गाडीसँगै हाइब्रिड (विद्युतीय र पेट्रोल दुवैबाट चल्ने) गाडीहरु रहेका छन् । बिवाईडीले सन् २०२३ भरिमा विद्युतीय गाडी भने १६ लाख वटा बेचेको जनाएको छ ।

बिवाईडीको रणनीति

चीनको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी बिवाईडीले आफूलाई विश्वव्यापी रुपमा फैलाइरहँदा प्रचार गर्नका लागि यस्तो भन्ने गरेको छ, ‘तपाईंहरुले सुनेको सबैभन्दा ठूलो कार ब्राण्ड’ ।

चीनको स्थानीय बजारमा सबैभन्दा सफल रुपमा गाडीहरु बिक्री गरिरहेको बिवाईडी कम्पनी (जसको अर्थ बिल्ड योर ड्रिम्स हो)ले अहिले विश्वकै ठूलो गाडी निर्माता टेस्लालाई पछि पारेको छ । बिवाईडीको यो सफलताको पछाडिको कारण भनेको उसले आफूलाई चाहिने आवश्यक सामग्रीहरु आफैं निर्माण गर्ने रणनीति लिएका कारण हो ।

बिवाईडीले अरु कम्पनीहरुसँग विभिन्न उपकरणका लागि निर्भर हुनुको सट्टा आफैंले त्यसको उत्पादन नगरेर खर्चलाई कम गर्ने रणनीति अपनाएको छ । जसले गर्दा ईभीको बजारमा आफ्ना गाडीहरु उत्कृष्ट सुविधासहित पनि समकक्षी प्रतिस्पर्धीको भन्दा कम मूल्यमा दिन सफल भएको छ ।

बिवाईडीको सफलताको प्रमुख कारण यसको बजार हो । बिवाईडीसँग भएको एउटा सकारात्मक पाटो भनेको यसको मूख्य बजार चीनमा रहेको छ । उत्पादनदेखि बिक्रीकै हिसाबले पनि चिनियाँ बजार ठूलो छ । जसकारण बिवाईडीले आफ्ना गाडीहरु सस्तो मूल्यमा बनाएर त्यसलाई ठूलो बजारमा बेच्न सफल भएको छ ।

यहि कारण टेस्लाले पनि आफ्ना गाडीहरु चीनमा बनाएर अन्य देशमा आयात गर्ने गरेको थियो । तर, पछिल्ले पटकको चीन र अमेरिकाबीचको द्वन्द्वदेखि चिनियाँ सरकारको नीतिलगायत गर्दा टेस्लाजस्ता अमेरिकी कम्पनीले आफ्नो उत्पादनलाई अन्य देशमा पनि गर्नुपर्ने बाध्यता आएको छ । तर, बिवाईडी भने चिनियाँ कम्पनी भएका कारण उसले चीनकै बजारमा ठूलो हिस्सा ओगट्न सफल भएको छ ।

चिनियाँ कम्पनी भएका कारण बिवाईडीले सस्तो मूल्यमा गाडीहरुको उत्पादन गर्न सकेको छ । र आफूलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री र गाडीका पार्ट्सहरु पनि आफैंले उत्पादन गर्ने भएकाले बिवाईडीका गाडीहरु सस्तो मूल्यमा उपलब्ध छन् ।

मूल्यलाई टेस्लासँगको तुलना गर्दा उक्त कम्पनीको सबैभन्दा सस्तो गाडी मोडल थ्रिकै मूल्य पनि ४१ हजार अमेरिकी डलर रहेको छ । यता बिवाईडीको सबैभन्दा धेरै बिक्री भएको गाडी युआन प्लसको मूल्य हेर्ने हो भने २० हजार अमेरिकी डलर मात्र रहेको छ । बिवाईडीले सन् २०२३ को अप्रिलमा आफ्नो अर्को गाडी सिगुल पनि ल्याएको थियो, जसको मूल्य ११ हजार अमेरिकी डलर मात्रै रहेको छ ।

सस्तो मूल्यमा प्रतिस्पर्धी कम्पनीहरुकै जस्तो सुविधा र लुक्ससहितका गाडीहरु उत्पादन गरिरहेको बिवाईडी मध्यम वर्गीय र मध्यम आर्थिक आर्जनको स्रोत भएकाहरुका लागि पनि इभी कुदाउने सपना पूरा गर्ने बाटो बनेको छ । जुन कम्पनीले तीव्र फैलावटको प्रमुख कारणका रुपमा पनि रहेको छ ।

चिनियाँ बजारमा मात्रै नभएर अमेरिका, दक्षिण कोरिया र जर्मनीजस्ता देशहरुमा पनि बिवाईडीले आफ्नो राम्रो उपस्थितिका लागि काम गरेको छ ।

पछिल्लो समय जापानमा पनि चीनबाट गाडीहरु निर्यात भइरहेका छन् । गत अक्टोबरमा चीनबाट जापानका लागि निर्यात भएका ३६ लाख गाडीहरुमध्येमा १३ लाख गाडीहरु विद्युतीय रहेका छन् । टोयटा, भल्सवागन र जेनेरल मोटर्सजस्ता कम्पनीहरुले राज गरिरहेको गाडीको बजारमा बिवाईडीको नयाँ कम्पनीले तीव्र हस्तक्षेप गरिरहेको छ ।

बिवाईडीको सफलताको पछाडि अर्को महत्त्वपूर्ण पाटो भनेको चिनियाँ सरकार र वारेन बफेटको सहयोग पनि हो । बफेटको ब्रिकशिर हाथावे बिवाईडीको प्रमुख लगानीकर्ता पनि हो ।

बिवाईडीले आफूलाई शीर्ष बनाउनका लागि गरिरहेको काम र फैलाउटले कम्पनीको फाइदामा पनि वृद्धि भएको देखिन्छ । बिवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा २०० प्रतिशतले आफ्नो नाफा वृद्धि भएर १.५ बिलियन अमेरिकी डलर पुगेको बताएको छ । यता टेस्ला भने आफ्ना गाडीहरुको मूल्य धेरै भएका कारण बिक्रीमा असर परेको भन्दै मूल्य घटाउन बाध्य भएको छ, जसले गर्दा टेस्लाको नाफाको मार्जिनमा पनि कमी आएको छ ।

आफ्नो उत्पादनलाई बृहत्तर बनाउनका लागि टेस्ला अहिले भारतमा २ बिलियन अमेरिकी डलरको लागतमा कारखाना स्थापना गर्नेतर्फ लक्षित भइरहेको छ । बिवाईडीले अहिले युरोप, ल्याटिन अमेरिका र एसियाका विभिन्न भागमा आफ्नो बिक्रीलाई बढाउनका लागि उत्पादन कारखाना खोलिरहेको छ ।

पछिल्लो समय अमेरिकाका सडकमा पनि बिवाईडीका कार र बसहरु देखिन थालेका छन् । विश्व नै कम्बस्टन (पेट्रोलियम इन्जिन)बाट विद्युतीय गाडीहरुतर्फ प्रतिस्थापन भइरहँदा चिनियाँ कम्पनी बिवाईडीले आफूलाई शीर्ष स्थानमा राख्नका लागि आवश्यक गृहकार्य गरेर अहिले त्यहितर्फ काम गरिरहेको छ ।

सन् १९९५ मा स्थापना भएको चीनको सेन्जेनमा रहेको बिवाईडी पछिल्लो समय मध्यम वर्गीयहरुलाई पनि लक्षित गर्दै विद्युतीय गाडीहरु निर्माण गरिरहेको छ ।

बिवाईडी वांग चुन्फुले आफ्ना भतिजासँग मिलेर सुरु गरेको कम्पनी हो । कम्पनी सुरुवातमा मोबाइल फोन, ल्यापटपजस्ता विद्युतीय उपकरणको रिचार्जेवल ब्याट्री उत्पादन गर्ने कम्पनीका रुपमा सुरु भएको थियो, जसले जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई बिस्थापन गर्ने काम गरेको थियो ।

सन् २००२ मा सेयर बजारमा आफ्नो सेयर बेच्न थालेको कम्पनीले सोही बेला संघर्षरत रहेको क्विनचुआन अटोमोबाइल कम्पनीलाई खरिद गरेर गाडी निर्माणमा प्रवेश गरेको थियो ।


क्लिकमान्डु