बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बरको सुझाव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।

गोरखा चेम्बर अफ कमर्सद्वारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रर्वद्धन मेलालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल शुरु गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बुढिगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’

उनले विद्युत निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने बताए । अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

कृषि लगायतका स्थानीय उत्पादनको बजारीकरण तथा प्रर्वद्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाई थियो । नेपालको जडीबुटीलाई प्रर्वद्धन र प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले बताए । मल्लले भने, ‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीनलगायतका देशमा उच्च माग छ ।’

मुलुकको अर्थतन्त्र शिथिल हुँदै गर्दा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए । मुल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्ने मल्लले सुझाव दिए । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको अध्यक्ष मल्लले दाबी गरे ।


क्लिकमान्डु