मधेश प्रदेशमा निक्षेप संकलन १३.२५ प्रतिशत, कर्जा प्रवाह ४.६८% ले बढ्यो



काठमाडौं । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन १३.२५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.६८ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाको आर्थिक गतिविधिहरूको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट उक्त तथ्य फेला पारेको हो ।

असार मसान्तसम्म मधेश प्रदेशबाट संकलन गरेको कुल निक्षेप १३.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड पुगेको छ । अघिल्लो आवमा यस्तो निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई २ खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो ।

मधेश प्रदेशमा प्रवाह गरेको कर्जा ४.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई ४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो ।

असार मसान्तसम्म मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त सहित) को शाखा संख्या १ हजार ७४५ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा सञ्चालित कुल शाखा १ हजार ६०७ रहेको थियो ।

सञ्चालनमा रहेका शाखाहरू मध्ये वाणिज्य बैंकका ५७२, विकास बैंकका ८४, वित्त कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाहरूको १ हजार ५१ शाखाहरू रहेका छन । जिल्लागत आधारमा शाखाहरू सबै भन्दा बढी बारामा २५० र सबै भन्दा कम रौतहटमा १८० रहेका छन् ।

मधेश प्रदेशमा २०८० असार मसान्तसम्ममा एटीएम मेशिनको संख्या ४०२ वटा पुगेको छ । सबैभन्दा बढी पर्सा जिल्लामा ७० वटा र सबैभन्दा कम रौतहट जिल्लामा ३१ वटा रहेका छन् । मधेश प्रदेशमा मोबाइल र इन्टरनेट बैंकिङ चलाउनेको संख्या १३ लाख ९० हजार २ सय ८५ पुगेको छ ।

अध्ययनले मधेश प्रदेशमा सेवारत बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्रोत तथा साधनलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक वृद्धि तथा उत्पादकत्व वृद्धि गर्नुपर्ने चुनौती देखेको छ ।


क्लिकमान्डु