भारतबाट सस्तोमा आउँदा नेपाली चिजको बजार खोसियो, करिब ११ करोडको थन्कियो



काठमाडौं । भारतबाट सस्तो लागत मूल्यको चिज आयात भएका कारण नेपालमा उत्पादन भएको चिज थन्किएको छ ।

भारतबाट विभिन्न ब्राण्डको सस्तो चिज आयात भएका कारण नेपालमा उत्पादन भएको चिजले बजार नपाएको चिज उत्पादक उद्योगीहरुले गुनासो गरेका छन् ।

स्वदेशमा रहेका १९ डेरी उद्योगबाट उत्पादन भएको १० करोड ७८ लाख ३५ हजार मूल्यबराबरको १ लाख ३ हजार किलो चिज थन्किएको छ । यस्तै ४ लाख किलो छुर्पी र १० लाख किलो नौनी गोदाममा थन्किएका छन् ।

पाँचथर रविको रामकुमार राईको डेरीबाट उत्पादन भएको १ लाख २ हजार ७ सय चिज बजार नपाएर गोदाममा थन्किएको छ । यस्तै ईलामको सुर्योदय नगरपालिकास्थित लक्की डेरीको पनि २५ हजार किलो चिज थन्किएको छ।

हिमालयन चिज उत्पादक संघका अध्यक्ष महेन्द्र प्रधानकाअनुसार नेपालमा चिज उत्पादन गर्दा प्रतिकिलोको लागत खर्च नै १ हजार १ सय रुपैयाँ पर्छ । स्वदेशमा उत्पादन भएको चिजको गुणस्तर हेरेर बजार मूल्य १ हजार २ सय देखि १ हजार ३ सयसम्म पर्छ ।

भारतबाट आयात भएको अमुललगायत ब्राण्डको चिज नेपालको बजारमा प्रतिकिलो १ हजार १ सय रुपैयाँमा बिक्री भइरहेका छन् । संघका पदाधिकारीले बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई भेटेर समस्या समाधान गरिदिन आग्रह समेत गरेका छन् ।

यसअघि संघले कृषि सचिव डा. गोविन्द शर्मासँग २०७९ चैत १६ गते छलफल गरे पनि समस्या समाधान नभएको प्रधानले जानकारी दिए । सचिवस्तरबाट समस्या समाधान नभएपछि संघको टोलीले कृषि मन्त्री भुसाललाई भेटेर स्वदेशी चिज उत्पादकको बजार सुनिश्चित गरिदिन आग्रह गरेका छन् ।

प्रधानका अनुसार भारतबाट विभिन्न ब्राण्डका १ किलोदेखि २ सय ग्रामसम्मको प्याकेटमा चिज औपचारिक र अनौपचारिक बाटोमार्फत आयात भइरहेको जानकारी दिए ।

‘सानो एकाई र निक्कै सस्तो मूल्यमा आयात भएकाले नेपाली उत्पादकले उत्पादन गरेको चिज बिक्री नहुँदा गोदाममा थन्किएको हो,’ संघका अध्यक्ष प्रधानले भने,‘यो बिषयमा पटक पटक सरोकारवाला मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयमा एक बर्षदेखि धाए पनि कुनै समस्या समाधान भएको छैन् ।’

स्वदेशी उद्योगीले उत्पादन गरेको चिज बजारमा बिक्री नहुँदा दूध किसानलाई भुक्तानी गर्नसमेत असहज भएको संघले जनाएको छ । उत्पादन लागत मूल्य बढेर उपभोक्ता मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भइरहेको अवस्थामा भारतबाट आएको सस्तो चिजले नेपाली उत्पादनको बजार खोसेका कारण किसानलाई भुक्तानी दिनसमेत अवस्था नभएको बताइएको छ ।

संघले स्वदेशी उद्यमीहरुको संरक्षण गर्नका लागि विदेशी दुग्ध पदार्थहरुको आयातमा पूर्ण रुपमा प्रतिवन्ध लगाउनुपर्ने वा भन्सार शुल्क ५० प्रतिशत बृद्धि गरि स्वदेशी उत्पादनको बजार सुनिश्चित गरिदिनुपर्ने माग अघि सारेको छ ।

दुर्गम क्षेत्रका किसानबाट एउटा चिज उद्योगले दैनिक ३ सय लिटरदेखि २ हजार लिटर खरिद गरि चिज उत्पादन गर्दैआएका छन् । यसरी उत्पादन भएको चिजमा स्थानीय कर, अन्य कर, अनुज्ञा पत्रको लागि पुनः ३–४ ठाउंमा शुल्क बुझाउनुपर्ने बाध्यताले लागत खर्च निक्कै महँगो भएको संघले जनाएको छ ।

चिज उत्पादन गर्दा प्रयोग हुने दूधमा प्रतिकिलोका दरले उचित अनुदानको व्यवस्था संघीय सरकारबाट गरिदिनुपर्ने माग संघले गरेको छ ।

नेपालमा ६० वटा सानो ठूलो चिज डेरीहरु छन् । यसले दैनिक ९० हजार लिटर दूध खपत गर्दै आएको छ । यसरी दूध खरिद गरेवापत चिज डेरीले मासिक रुपमा २२ करोड २७ लाख रुपैयाँ किसानहरुलाई भुक्तानी गर्दैआएको छन् ।

यसमा प्रत्यक्ष रुपमा ३६० जनाले रोजगारी पाएका छन भने ११ हजार २ सय ५० किसान चिज उत्पादनमा सक्रिय छन् ।


क्लिकमान्डु