हाइब्रिड वर्किङः केही दिन घर, केही दिन कार्यालयबाट काम गर्दा के छ चुनौती ?



एजेन्सी । कोरोना महामारीको क्रममा संक्रमण फैलिनबाट रोक्नका लागि विश्वभरका देशहरुका कडा लकडाउन लगाइएको थियो । त्यो बेला कार्याल्यमा गएर काम गर्ने कुरा सम्भव थिएन । त्यसैले, रिमोट रुपमा काम गर्नका लागि वर्क फ्रम होमको व्यवस्था लागु गरिएको थियो ।

अफिसमा नआई घरबाट वा अन्य कुनै ठाउँबाट काम गर्ने व्यवस्था नयाँ थिएन । तर, कोरोना महामारीका क्रममा जति पनि संस्थाहरुले यसलाई अबलम्बन गरे, त्यो भने निक्कै ठूलो मात्रामा थियो । जब अवस्था सुधारिँदैं गयो, तब धेरै जसो संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा नै आएर काम गर्ने अनिवार्य नियम पुनः लागु गरे ।

तर, केही कम्पनीहरु यस्ता पनि छन् जसले हाइब्रिड वर्किङलाई अपनाएका छन् । यी संस्थाहरुले कम्पनीका कर्मचारीहरुलाई कहिले घरबाटै त कहिले कार्यालयमा आएर काम गर्ने छुटसहित व्यवस्था गरेका छन् । रिमोट वर्किङलाई निरन्तरता दिनका लागि यस्तो शैली कामकाजमा अपनाइएको छ ।

हाइब्रिड वर्किङको अर्थ केही दिन अफिसमा आएर काम गर्ने र केही दिन घरबाटै काम गर्ने भन्ने हुन्छ । कति दिन अफिस आएर काम गर्ने र कति दिन अफिस नआई घर वा अन्य ठाउँबाट पनि काम गर्दा हुन्छ भन्ने कुरा भने अफिस वा संस्थाअनुसार फरक फरक रहेको छ ।

भारतको नोयडास्थित एक प्रविधि कम्पनीमा काम गर्ने स्वातीकाअनुसार उनको कार्याल्यमा हाइब्रिड वर्किङ शैली लागु गरिएके छ र उनका सहकर्मीहरुलाई पनि यो व्यवस्था धेरै नै मन परेको छ । उनले भनिन्, ‘कोभिडपछि अवस्था सुधारिदैं जाँदा पनि जुन काम घरबाटै गर्न सकिन्छ, त्यसका लागि अफिस आउन पर्दैन भनियो । त्यसैले म धेरै जसो समय आफ्नै घरबाटै काम गरिरहेकी छु । जब कहिलेकाँही आवश्यकता हुन्छ, तब मात्रै अफिस जान्छ । यस्तो आवश्यकता तब मात्र हुन्छ जब सबै मिलेर कुनै कुरा तयार गर्नुपर्छ ।’

हाइब्रिड वर्किङको मुख्य फाइदा यहि नै हो । एक त कर्मचारीलाई घरबाट नै काम गर्ने सुविधा मिल्छ । अर्कातिर उनीहरु आवश्यकताअनुसार अफिसमा नै आएर मिलजुल गरि काम गर्न सक्दछन् ।

झट्ट हेर्दाखेरि काम गर्ने यो शैली लचिलो र सुविधाजनक त लाग्दछ । तर, कहिलेकाँही यसलाई सही रुपमा लागु गर्न सकिँदैन । विश्वभरका कर्मचारीहरुबारेमा जानकारी राख्ने लीसमैनको सर्वेक्षणकाअनुसार कम उमेरका र कतिपय संस्थामा भर्खरै आवद्ध भएका कर्मचारीहरुलाई धेरै पटक अफिस आउनुपर्ने हुन्छ ।

लण्डनस्थित लीसमेनका संस्थापक तथा सीईओ टिम ओल्डमेन भन्छन्, ‘कर्मचारी जति कम उमेरको हुन्छ र उसले काम गर्न थालेको कार्यकाल जति कम समयको हुन्छ, त्यत्ति नै धेरै सम्भावना उसले आफ्ना वरिष्ठ र पुराना कर्मचारीहरुको भन्दा धेरै दिन अफिस आएर काम गर्नुपर्ने हुन्छ ।’

यस्ता केही उदाहरणहरु भारतमा पनि देखिएका छन् । भारतको दिल्लीस्थित एक मिडिया संस्थामा काम गर्ने अनुज (परिवर्तित नाम) काअनुसार उनको अफिसमा हाइब्रिड शैली अपनाइएको छ । तर, संस्थामा नयाँ भएको र खासगरि अविवाहित कर्मचारीहरुलाई पुराना कर्मचारीहरुको तुलनामा धेरै दिन अफिसमै आएर काम गर्नुपर्ने अवस्था छ ।

‘केही काम यस्ता हुन्छन् जुन घरबाट नै गर्छु भनेर पनि सम्भव हुँद्यैन । यस्तोमा पनि कतिपय कर्मचारी र टिमहरु घरबाट नै काम गरिदिन्छन् भने कतिपयले कार्यालयमा आउनै पर्ने हुन्छ । यसमा पनि असन्तुष्टी पैदा भएको छ’ उनी भन्छन् ।

हाइब्रिड शैलीमा युवा कर्मचारीहरुलाई प्रायः अफिस बोलाइनु र वरिष्ठ तथा पुराना कर्मचारीलाई घरबाट नै धेरै काम गर्ने व्यवस्था गर्दा कैयौं नोक्सानहरु पनि हुने गरेको देखिन्छ । लीसमेनका सीईओ ओल्डमेनकाअनुसार पुराना र वरिष्ठ कर्मचारीलाई नयाँ कर्मचारीको तुलनामा धेरै लचिलोपन दिनु स्वभाविक लागेपछि यस्तो गर्नुले हाइब्रिड शैलीको काम गर्ने व्यवस्थाको सफलतालाई बाधा भने पुर्याउँछ । उनी भन्छन्, ‘यदि वरिष्ठ सहयोगी घरबाट नै धेरै काम गर्छन भने त्यसले कम अनुभव भएका सहयोगी वा सहकर्मिहरुलई गाह्रो हुन्छ । तर, यदि पुराना र अनुभवि कर्मचारीहरु बारबार अफिसमा आउँछन् भने त्यसले नयाँ कर्मचारीहरुलाई सिक्न सहयोग पुर्याउँछ ।’

अमेरिकाकाको ह्यालिफोर्नियाको डिजिटल कम्युनिकेसनसम्बन्धि प्रविधि कम्पनी सिस्कोका उपाध्यक्ष तथा म्यानेजिङ डिरेक्टर जीतु पटेल यो समस्याको हल नहुँदासम्म युवा कर्मचारीहरुको बृद्धि विकास रोकिने खतरा हुने बताउँछन् । उनी यसलाई ‘इन पर्सन डेज’ अर्थात कार्यालयमा कति दिन आउने भन्ने कुरालाई तय गरेर हल गर्न सकिने बताउँछन् ।

यस्तो कुरा तय गरेर सबै जना कार्यालयमा आउने दिनहरु तोकिनुपर्ने उनको तर्क छ । तर, यस्तो कुनै पनि नियम बनाउँदा कर्मचारीलाई आफ्नो संस्थाले आफूमाथि भरोसा नगरेको भन्ने भच्रम पनि पैदा हुन सक्ने डर रहन्छ । उनी भन्छन्, ‘सबैलाई कार्यालयमा बोलाउने नियम बनाउनुको सट्टा हामीले चाहिँ एउटा मोडल तयार गरेका छौं, जसमा हामी विभिन्न टिमहरुलाई उनीहरुले कसरी काम गर्ने आफैं तय गर्न छुट दिएका छौं ।’

एक अन्तराष्ट्रिय औद्योगिक संगठनमा प्ररामर्शकर्ता रहेका डा. आशीष शर्माकाअनुसार कतिपय विषयहरुमा भर्चुअल्ली मिटिङ हुँदा स्पष्टता नहुने भएकाले त्यसका लागि अन्य विकल्प सोच्नुपर्ने हुन्छ । भर्चुअल मिटिङ सुविधाजनत र प्रभावकारी हुने भएतापनि कतिपय मुद्दाहरुमा भने यस्तो शैलीबाट निर्णय गर्न कठिन हुने उनले बताए । उनी भन्छन्, ‘तपाईं जहाँबाट पनि बैठकमा जोडिन पाउने सुविधा त रहन्छ । तर, हाइब्रिड सिस्टममा केही सहकर्मिहरु अफिसमै आएपनि सबै कर्मचारी नआएमा पुरै बैठक भर्चुअल गर्नुपर्ने हुन्छ । यस्तो मिटिङ लामो पनि हुन्छ र कुनै निर्णयमा पुग्न पनि अलिक कठिन हुन्छ ।’

आशिष मात्रै होइन, लीसमेनको सर्वेक्षणले पनि यहि देखाउँछ । लगभग ४० प्रतिशत कर्मचारीहरुलाई हाइब्रिड बैठकमा भाग लिन कठिन लाग्ने गरेको छ । चाहे त्यो बैठकमा उनीहरु भर्चुअल रुपमा घरबाट नै जोडिएका हुन वा कार्यालयबाट नै । पूर्ण रुपमा बैठकलाई कार्यालयमा नगरि कतिपय कर्मचारी भर्चुअल रुपमा जोडिने हुन साथै जटिलताहरु उत्पन्न हुने र त्यसले कुनै पनि विषयको छलफललाई निष्कर्षमा पुर्याउनका लागि कठिनाईहरु उत्पन्न गराउने गरेको पाइएको छ ।

ओल्डमेनकाअनुसार धेरै समय त हाइब्रिड मिटिङका लागि सफ्टवेयरमा समस्या भएको, इन्टरनेटमा समस्या भएको, आफ्नो कार्यालयमा सुविधा नभएको भन्नेजस्ता कुरामा अल्झिनुपर्ने हुन्छ । पछिल्लो पाँच वर्षमा काम गर्ने शैलीमा धेरै कुराहरु परिवर्तन भएपनि अधिकांश संस्था र कार्यालयहरु कोभिडभन्दा अगाडिकै शैलीबाट डिजाइन भएकाले यो समस्या आउने गरेको उनी बताउँछन् ।

कर्मचारीलाई यो सुविधा मन परे वा नपरे पनि यसमा अर्को पनि समस्या भने छ । लीसमेनको सर्वेक्षणकाअनुसार कम समय वा दिन कार्यालयमा जानेहरुले आफ्नो कामकाजी जीवन र व्यक्तिगत जीवन ब्यालेन्स भएको बताएका छन् । तर, ४२ प्रतिशत कर्मचारीकाअनुसार भने हाइब्रिड शैलीमा घरबाटै काम गर्दा उनीहरुलाई आफ्ना सहकर्मिहरुसँगको सामाजिक सम्बन्ध तथा सोसियल कनेक्सन भने टुटेको वा नभएको महसुस भएको छ । ओल्डमेन भन्छन्, ‘ कार्यालयमा आएर काम गर्दा कुनै पनि संस्था वा कम्पनीको सामाजिक कुराहरुलाई बलियो बनाउँछ भन्ने बुझाई छ । यो कुराबाट कर्मचारी र कम्पनी दुवैले पार पाउनुपर्छ ।’ हाइब्रिड वर्किङका लागि प्रमुख कुरा कार्यालयमा नआई पनि काम गर्न सकिन्छ र काम प्रभावकारी हुन्छ भन्ने नै रहेको उनी बताउँछन् ।

तर, यी सबैका बीच पनि हाइब्रिड शैलीको काम गर्ने व्यवस्थाले व्यवस्थापनलाई भने पूर्ण रुपमा सन्तुष्टि नदेखिने देखिन्छ । अमेरिकाको वाशिंगटनमा रहेको सोसाइटि फर ह्युमन रिसोर्स म्यानेजमेन्टका अध्यक्ष तथा सीईओ जनी सी टेलर जुनियरकाअनुसार कम्पनजीको उच्च पदमा रहेका अधिकारीहरुको एउटा बर्गले भने हाइब्रिड वर्किङ शैलीलाई धेरै मन पराउँदैनन । व्यवस्थापनले भने हाइब्रिड शैलीमा हुने समस्यालाई समाधान गर्नुको सट्टा पूर्ण रुपमा कार्यालयमा नै आएर काम गर्ने कुरा बढि रुचाउने गरेका छन् ।

डिजनी र लगानी सम्बन्धि कम्पनी ब्ल्याकरकले अमेरिकामा आफ्ना कर्मचारीलाई हप्तामा चार दिन कार्यालयमा आउने व्यवस्था गरेको छ । त्यस्तै, नाइकीले पनि आगामी वर्षबाट यस्तै नियमलाई लागु गर्ने बताएको छ ।

हाइब्रिड वर्किङका यस्ता समस्याहरुका बीच समाधान भने नभएको होइन । लण्डनस्थित स्टेन्डर्ड चार्ट बैंकमा मुख्य मानव संशाधन अधिकारी रहेका तनुज कपिलाश्रमी यी चुनौतीहरुलाई समाधान गर्न सकिने बताउँछिन् । आफूले काम गरिरहेको क्षेत्रमा धेरै काम कार्यालय नआई हुन नसक्ने भएतापनि आफूले कुन कुन कामहरु घरबाट नै गर्न सकिन्छ भन्ने कुरा हेरेर कार्यालय आउने वा नआउने भन्ने नीति बनाइएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो व्यवस्था भविष्यमा पनि लागु हुनुपर्छ । यसले काम गर्ने संस्कृति खराब हुने चिन्ता गर्नुको सट्टा त्यसबाट आउने समस्याहरुको समाधान खोज्न आवश्यक छ ।’

लीसमेनका संस्थापक तथा सीईओ ओल्डमेन भने जुन व्यवस्था दशकौंमा बनेको छ, त्यसमा परिवर्तन हुन समय लाग्ने बताउँछन् । काम गर्ने परम्परागत शैलीअनुसार कार्यालय जाने कुरा पनि दशकौंमा स्थापित भएको हुनाले त्यसलाई परिवर्तन गर्नका लागि पनि समय लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘महामारीपछि अहिले एक वर्ष मात्रै भएको छ । हाइब्रिड वर्किङले कुनै संस्थाको माहोल, काम गर्ने संसर््कति, कर्मचारीले सिक्ने प्रवृत्ति तथा उनीहरुको करिअरमा कस्तो असर भयो भनेर अध्ययन गर्नुपर्ने हुन्छ, जब यो व्यवस्था दशकौं चलेको हुन्छ ।’

बीबीसी हिन्दीबाट


क्लिकमान्डु