बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन् ।

नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा सोमबार आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताएका हुन् ।

आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको उनले बताए ।

सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको भन्दै उनले घटनाको अन्तर्यमा अरु नै केही भएको तर्क गरे । मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरुको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुलाई अपिल गरे ।

तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमति भएको उनले बताए ।


क्लिकमान्डु