एयरपोर्टमा राज्यको अर्बौं लगानी खेर, ८ कालोपत्रे विमानस्थलमा वर्षमा एउटा पनि पुग्दैन जहाज



बैतडीको पाटन विमानस्थल

काठमाडौं । राज्यले अर्बौं लगानी गरेर विमानस्थल निर्माण गरिरहेको छ । वर्षेनी विमानस्थमा गर्ने लगानी बढेको बढ्यै छ । राज्यले लगानी गरेका विमानस्थलमध्ये ४२ वटाको धावनमार्ग पक्की (कालोपत्रे)भइसकेको छ । तर, धावनमार्ग कालोपत्रे भएका ८ वटा विमानस्थलमा वर्षमा एक पटक पनि जहाज पुगेका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार देशैभर कालोपत्रे भएका विमानस्थलमध्ये ३४ वटामा मात्रै जहाज पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार महिनामा एउटा पनि उडान नभएका विमानस्थलको संख्या १३ वटा छन् । जसमध्ये ९ वटामा वर्षमा एक पटक पनि जहाज पुगेका छैनन् भने ५ वटामा भने औषतमा महिनामा २ देखि ३ वटा मात्रै उडान भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार इलाम, बझाङ, थामखर्क, साँफेबगर र कांगेलडाँडामा महिनामा मुस्किलले ३ वटासम्म उडान भएको छ । यसमध्ये इलाम विमानस्थलमा महिनामा २ वटा पनि उडान हुन सकेको छैन । यो विमानस्थलमा पछिल्लो एक वर्षमा जम्मा २२ वटा उडान भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

कम उडान हुने विमानस्थलमा पछिल्लो एक वर्षमा बझाङमा २८ वटा, थामखर्कमा ३४ वटा, साँफेवगरमा ३८ वटा, रुकुम सल्लेमा ८२ वटा र भोजपुरमा १०७ वटा मात्रै उडान भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । गुल्मीको रेसुङमा नियमित उडान हुन थालेको भए पनि उक्त विमानस्थलको तथ्यांक अद्यावधिक भएको छैन ।

देशैभरका विमानस्थलमध्ये सबैभन्दा बढी उडान गर्नेमा भने काठमाडौं रहेको छ । काठमाडौंको त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको उडानले प्राधिकरणलाई नाफामा लैजान सकेको छ । यो विमानस्थलमा एक वर्षमै १२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । त्रिभुवन विमानस्थबाट भएको आन्तरिक उडान भने ३९ हजारभन्दा बढी छ ।

नेताहरुको दबाबमा बन्ने यस्ता विमानस्थलमा यात्रुको माग नै नआएकोले उडान हुन नसकेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल (शर्मा)ले बताए । ‘यात्रुको डिमाण्ड नै नआएका कारण धावनमार्ग कालोपत्रे भएर पनि उडान हुन नसकेको हो’ उनले भने, ‘यात्रुको माग आउने आउने हो भने वायुसेवा कम्पनीहरूले सातामा एउटा भए पनि उडान गरेर यात्रु सेवा निश्चित छ।’

पछिल्लो समय गुल्मीको रेसुङमा यात्रुको माग बढेपछि अघिल्लो वर्षभन्दा विमानस्थलमा अहिले राम्रोसँग उडान भइरहेको छ ।

नेताहरुले आवश्यकता भन्दा पनि आफ्नो स्वार्थका लागि राज्यको लगानी खन्याउँदाको परिणाम भएको कँडेलको दाबी छ ।

वर्षमा एक पटक पनि हवाई उडान नहुने विमानस्थलको धावनमार्ग कालोपत्र गरेर राख्दा राज्यको लगानी अनुत्पादक क्षेत्रमा खेर गएको छ । एउटा विमानस्थल बनाउनेदेखि नियमित मर्मत र कालोपत्रेसम्ममा एक अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । यस्तो रकम राज्यले आवश्यकता र प्राथमिकता निर्धारण गर्न नसकेका कारण अनुत्पादक क्षेत्रमा खेर गइरहेको छ ।

पोखराको आन्तरिक विमानस्थलमा पनि एक वर्षदेखि उडान ठप्प छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि सबै उडान सोही ठाउँबाट भइरहेको छ ।

नयाँ विमानस्थल सञ्चालन गर्नुपर्ने र अन्तर्राष्ट्रिय उडानमा कुनै वायुसेवाले अहिलेसम्म चासो नै नदेखाएको कारण आन्तरिकका सबै उडान नयाँ विमानस्थलबाटै भइरहेको छ । पोखरामा पुरानो विमानस्थल बन्द भएको एक वर्ष भएको छ ।

पुरानो अन्तरिक विमानस्थल भएको ठाउँमा नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यापारिक भवनसहितको प्राधिकरणको कार्यालय बनाउने घोषणा गरेको छ । तर, उक्त विमानस्थलको सदूपयोग गर्ने स्पष्ट खाका अहिलेसम्म अगाडि बढ्न सकेको छैन।


क्लिकमान्डु