अरुण-३ को काममा अवरोध नगर्न लगानी बोर्डको आग्रह



काठमाडौं । अरुण–३ जलविद्युत आयोजनाको प्रवेशमार्ग र पावर हाउसको सम्पूर्ण कामकारबाही ठप्प पार्ने गरि आन्दोलनको चेतावनी आएको प्रति लगानी बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।

अरुण–३ प्रवेशमार्ग मुआब्जा पीडित स्थानीय संघर्ष समितिले मंसिर २० गते विज्ञप्ति जारी गर्दै आयोजनाको प्रवेश मार्ग छ्यांकुटी–दिदिंग खण्डको मुआब्जा वितरण कार्य सुरु नभएको खण्डमा पुस १२ गतेबाट आयोजनाको प्रवेशमार्ग र पावरहाउसको सम्पूर्ण कामकारबाही ठप्प पार्ने चेतावनी दिएको थियो ।

बोर्डले छुट मुआब्जा तथा क्षतिपूर्तिका लागि रकम संखुवासभा जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिएको जनाएको छ।

समस्या समाधान गर्न मन्त्रिपरिषद्को गत कात्तिक १६ गतेको निर्णयअनुसार विकासकर्ताबाट पछि सरकारले शोधभर्ना गर्ने गरि ५३ करोड रुपैयाँको डिमान्ट ग्यारेन्टी संखुवासभा जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिएको बोर्डको जनाएको छ ।

सो जग्गाको विषयको समस्या अध्ययन गर्न पूर्वसचिव अर्जुनजंग थापाको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको र कार्यदलले तोकिएको कार्यादेश अनुसार काम सुरु गरेको तीन महिनाभित्र कार्य सम्पन्न गरि प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको कार्यालयले जनाएको छ ।

कार्यदलले गत कात्तिक २२ गतेबाट अध्ययनको काम सुरु गरेको छ । अध्ययन सम्पन्न भई प्रतिवेदन पेश नहुँदासम्म सरकारको प्राथमिकता तथा प्रत्यक्ष वैदेशिक लगानीमा रहेको अरुण–३ को काममा नकारात्मक असर पार्ने विषयलाई ध्यानमा राख्दै संघर्ष समितिको नामबाट बन्द हडतान जस्ता काममहरु नगर्न र उल्लेखित कार्यक्रमहरु फिर्ता लिएर परियोजनालाई चल्न दिन कार्यालयले अनुरोध गरेको छ ।


क्लिकमान्डु